सेजन सदस्यकालागि १६ करोडको स्वास्थ्य बीमा

- February 29, 2024 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले संस्थामा आबद्ध सदस्यहरुको स्वास्थ्य बीमा गरेको छ । सेजनले हिमालयन एभरेष्ट इन्स्योरेन्समा १५ करोड ९६ लाख रुपैयाँ बराबरको स्वास्थ्य बीमा गरेको हो । बिहीबार हिमालयन एभरेस्ट इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत विजयबहादुर शाहले सेजनका प्रमुख कार्यकारी अधिकृत (सीईओ) आश्विन पराजुलीलाई बीमा पोलिसी हस्तान्तरण गरेका हुन ।

यद्यपि पोलिसी फागुन ४ गतेदेखि नै कार्यान्वयनमा आइसकेको छ । स्वास्थ्य बीमाको अवधि एक वर्षको हुने छ । पोलिसी हस्तान्तरण कार्यक्रममा सेजन अध्यक्ष सुजन ओलीले सदस्यहरूको क्षमता अभिवृद्धि बाहेक सुरक्षाको लागि समेत संस्था गम्भीर रहेको बताए ।

त्यसैक्रममा स्वास्थ्य बीमा कार्यक्रम लागू गरिएको उनले बताए । अध्यक्ष ओलीले भने,‘हामीले आफ्ना सबै सदस्यको क्षमता अभिवृद्धि लगायत काम गर्दै आएका छौं, जुन सधै कायमै रहन्छ । उनले अगाडी भने, ‘सदस्यको स्वास्थ्य संवेदनशीलतालाई मध्यनजर गर्दै अहिले हामीले आफ्नो कोषबाट सबै सदस्यको बिमा गरेका छौं ।’

सदस्यको हितमा काम गर्नु संस्था र आफ्नो दायित्व भएको अध्यक्ष ओलीले बताए । सम्झौता कार्यक्रममा इन्स्योरेन्सका सीईओ शाहले सेजनका सदस्यलाई आफ्नो संस्थामार्फत बिमा गर्न पाउनु निकै खुसीको विषय भएको बताए । उनले सबै नेपाली बिमामा जोडिन आवश्यक रहेको समेत बताए ।

बीमाको महत्वबारे अझै नागरिकलाई बुझाउन नसकिएको शाहको भनाइ छ । बीमा गर्दाका फाइदा बुझाउन नसक्दा क्षति न्यूनीकरण नभएको उनको भनाइ छ । आर्थिक क्षेत्रमा कलम चलाउने आर्थिक पत्रकारको छाता संगठनको हैसियतले सेजनले बीमा गर्दाका फाइदा सर्वसाधारणलाई बुझाउन भूमिका खेल्नुपर्ने उनको आग्रह थियो ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!