एनआईसी र प्रभु बैंकको सञ्चालक जोगाउदै राष्ट्र बैंक

- February 28, 2024 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । यतिखेर नेपालका दुईवटा वाणिज्य बैंकहरूमाथि बचतकर्ता र लगानीकर्ताले गम्भीर आशंका गरिरहेका छन् । बैंकका सञ्चालक र बैकका उच्च पदस्थ कर्मचारीको अबैधकृयाकालापपछि बचतकर्ताको रकम कतै हराउने त कतै चाहेको बेला नपाउने भएपछि ति बैंक विरुद्ध अहिले चर्को आबाज उठेको छ ।

बचतकर्ताहरुलाई कम व्याज दिने ऋणीलाई अत्याधिक व्याज असुली गर्दै भित्रभित्रै अबैध मिलिमतोमा २/३ महिनामै धितो लिलाम गरेर खाई ऋणीलाई सडकमा पु¥याउने कार्य गरेपछि सो बैकका विरुद्धमा चर्को आवाज उठेको बताइएको छ । यसरी सो बैंैकमाथी कारबाहीको आवाज उठेपछि नेपाल राष्ट्र बैंक भने कारबाही गर्नुको साटो झन बचतकर्ता र ऋणीले भ्रामक प्रचार गरेको भन्दै सञ्चालक र कर्मचारीको बचाउमा उत्रिएपछि अहिले चौतर्फी शंकाको रुपमा हेरिएको छ ।

एनआईसी एसिया बैंकका बचतकर्ताहरू आफ्नो रकम डुब्ला कि भनी बचत झिक्न लाइन बसिरहेका छन् । प्रभु बैंकका सिनियर डेपुटी सीईओसहित पाँच जनालाई चाहिँ केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले कर्जा घोटाला अभियोगमा पक्राउ गरिसकेको छ ।

देशका ठूला भनिएका यी दुई बैंकको अवस्था बुझ्न यतिखेर वासलात पल्टाउनै नपर्ने भएको छ । वाणिज्य स्तरका बैंकरहरूको छाता संस्था नेपाल बैंकर्स संघ (एनबीए) ले पनि यी दुई बैंकमा भएको गडबढीलाई ढाकछोप गर्न आफ्नो छवि धुमिल बनाउने चेष्टा गरेको छ ।

धुमिल यसकारण कि कर्जा दुरुपयोग गरेको प्रमाणसहित सीबीआईले अनुसन्धान तहकिकातका लागि बैंकरलाई नियन्त्रणमा लिँदा बैंकर्स संघले ठ्याक्कै व्यापारीहरूको बाटो समातेको छ । अझ एक तह तल झरेर ल इन्फोर्समेन्ट एजेन्सी प्रहरीले कुरै नबुझेको र बैंकरलाई आतंकित बनाएको भनेको छ ।

साविक सेञ्चुरी कमर्शियल बैंकका तत्कालीन दुई प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज न्यौपाने र तुलसीराम गौतम, प्रभु बैंककै ४ कर्मचारी सहित ११ जनालाई सीआईबी टोलीले मंगलबार पक्राउ गरेको थियो । २ अर्ब रुपैयाँभन्दा बढी कर्जा घोटालामा संलग्न भनिएका मनोज न्यौपाने हाल प्रभु बैंकका वरिष्ठ डेपुटी सीईओ हुन् ।

सोही कर्जा घोटालामा संलग्न भनिएका प्रभुकै चार कर्मचारी पनि पक्राउ परेपछि बैंकरहरू तिल्मिलाउँदै बुधबार बिहानै आकस्मिक बैठक गर्न भेला हुँदै थिए । बचतकर्ताले सुरक्षित गर्न बैंकमा राखेको रकम नियमरकानून मिचेर निश्चित व्यवसायिक घराना या व्यक्तिका कम्पनीलाई ऋण दिने, साँवाब्याज नै नउठेपछि पुनर्तालिकीकरण र खराब कर्जा ९एनपीएल०मा गणना गरी उम्कने सुविधामा बैंकरहरू रमाइरहेका थिए ।

गत आर्थिक वर्ष २०७९/८० को भन्दा चालू आर्थिक वर्ष २०८०/८१ को पहिलो ६ महिनामा वाणिज्य बैंकहरूको खराब कर्जा औषतमा १ प्रतिशतले बढ्दा नै बैंकहरूको स्वास्थ्य राम्रो छैन भन्ने देखिएको थियो । पुस मसान्तसम्म कूल २० वाणिज्य बैंकको औषत खराब कर्जा ३.२३ प्रतिशत पुगेको थियो ।

२० मध्ये ११ बैंकको खराब कर्जा त औषतभन्दा पनि बढी थियो । कर्जा घोटाला भएको सेञ्जुरी कमर्शियल बैंकलाई गाभेको प्रभु बैंकको खराब कर्जा पुस मसान्तसम्म ४।९० प्रतिशत पुगेको थियो, जुन बचतकर्ता र शेयरधनीका लागि अत्याउने खालको थियो ।

खराब कर्जा बढी रहेकै कारण लगानीकर्तामा विश्वास नहुँदा प्रभु बैंकको शेयरमूल्य यो सामग्री तयार पार्दासम्म १४५ रुपैयाँमा झरिसकेको छ । अर्कातिर केही महिना अघिसम्म देशभरमै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको र नम्बर १ बैंकका रूपमा दाबी गर्ने गरेको एनआईसी एसिया बैंकको हालत उस्तै छ ।

पूँजीकोष कायम गराउन वासेल मापदण्डको रिपोर्टिङमै छेडखानी गरेको आरोप खेपेको यो बैंकलाई विवादास्पद मेडिकल कलेज सञ्चालक दुर्गा प्रसाईंले हराभरा खेलाइदिएका छन् । निश्चित व्यापारिक घरानालाई मिलेमतोमा अर्बौं रुपैयाँ कर्जा दिएको र त्यो कर्जा उठ्ने कुनै सम्भावना नभएको भन्दै बचत झिक्न प्रसाईंले सर्वसाधारणलाई उरालेपछि यतिखेर बैंकलाई निक्षेप टिकाउनै मुस्किल परिरहेको छ ।

प्रसाईं स्वयम् विवादित व्यक्ति भएकाले उनले बोलेको विषयबारे धेरै चर्चा गरिरहनुपरेन । तर नेपाल राष्ट्र बैंककै गभर्नर महाप्रसाद अधिकारीले नै एनआईसी एसिया बैंकबाट पछिल्लो समय २७ अर्ब रुपैयाँ झिकिएको जानकारी दिइसकेका छन् । कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ९५–१०० गरेको भए एनआईसी एसिया बैंकमा केन्द्रीय बैंकले नै हस्तक्षेप गर्नुपर्ने अवस्था निम्तिइ सक्ने गभर्नर बताइरहेका थिए ।

चालू आर्थिक वर्षको ६ महिनामा एनआईसीको निष्क्रिय कर्जा ० दशमलव ६१ बाट बढेर १ दशमलव १९ प्रतिशत पुगेको छ । पुस मसान्तसम्म बैंकले ३ अर्ब ४८ करोड रुपैयाँ निक्षेप खराब कर्जामा बदलिएको छ । गत आर्थिक वर्षको पहिलो ६ महिनामा ३ अर्ब २७ करोड रुपैयाँभन्दा बढी नाफा कमाएको एनआईसीले यो वर्षको पहिलो ६ महिनामा खुद नाफा ४१. ८४ प्रतिशतले खुम्च्याउँदै १ अर्ब ९० करोड रुपैयाँ हाराहारीमा सीमित पारेको छ ।

पछिल्लो महिनामा त बचतकर्ताले रकम झिकेर खाता नै बन्द गर्न थालेकाले एनआईसी बैंकको भविष्य के हुने हो भन्ने पत्तो छैन । ऋण असुली न्यायाधीकरणमा ऋणी विरुद्ध ८३ वटा मुद्दा हालेको बैंकको शेयरमूल्य यो समाचार तयार पार्दै गर्दा ४१५ रुपैयाँमा झरेको छ । पछिल्लो ५२ हप्तामा यो बैंकको प्रतिकित्ता शेयरमूल्य ८५२ रुपैयाँसम्म पुगेको थियो ।

व्यापारीको बाटोमा बैंकर

आम नागरिकको बचत संकलन र परिचालन गर्ने बैंकरहरूले पछिल्लोपटक यी दुई बैंकहरूको कमजोरीलाई ढाकछोप गर्न व्यापारी प्रवृत्ति देखाएका छन् । बदमासी गर्ने, राज्यका नीतिहरूमा भ्वाङ पार्दै सार्वजनिक सम्पत्ति दोहन गर्ने र ठगी तथा राजस्व छलीमा माहिर व्यापारीमाथि कारबाही प्रकृया अघि बढाउँदा छाता संस्थाहरूले उल्टै धम्कीको भाषा प्रयोग गर्छन् ।

‘हजारौंलाई रोजगारी दिएको, कर तिरेको, समाजमा योगदान गरेको।।।निजी क्षेत्रलाई आतंकित बनाएर राज्यले व्यवसायिक वातावरण धुमिल बनाएको’ सदाबहार भाष्य व्यापारीले प्रयोग गर्छन् । हालसम्म आफ्नो छवि त्यत्ति धुमिल नबनाएको नेपाल बैंकर्स संघले यो पटक अर्बौं रुपैयाँ कर्जा घोटाला र कानून परिपालना नगरेका बैंकरमाथि कारबाहीको डण्डा चलाउँदा व्यापारीकै भाखा गाएको छ ।

प्रहरी र सरकारको आलोचना गर्दै सम्पन्न बैंकर्स संघको भेलाले सीबीआईलाई नै बैंक चलाउने विधि सिकाउनेजस्तो हास्यास्पद निर्णय गरेको छ । कर्जा दुरुपयोग प्रकरणमा पक्राउ परेकाहरूलाई उन्मुक्ति दिन सीबीआईलाई बैंकिङ पढाउने निर्णयले बैंकर्स संघलाई नै थप कमजोर बनाउने निश्चित छ । बरु, त्यस्ता घोटालामा संलग्न भएको प्रमाण भेटिए जो कोहीलाई कारबाही गर्न सघाउन तयार भएको भए बैंकर्स संघको गरिमा थप बढ्थ्यो ।

बचतकर्ता जोगाउने कि बैंकका हाकिम ?

बैंकिङ क्षेत्र नियमनको सवाल केन्द्रीय बैंक, सीबीआई या सम्बन्धित बैंकसँगमात्र जोडिएको छैन । बरु यो त ती लाखौं बचतकर्ताको निक्षेप सुरक्षणसँग जोडिएको छ, जसले बैंक डुबिहालेमा बढीमा पाँच लाख रुपैयाँसम्म मात्र पाउनेछन्, त्यो पनि अनेक धपेडी गरेपछि मात्रै !

तर बैंकरहरूले बचतकर्ताको यो संवेदना बुझ्न गम्भीर लापरवाही गरेका छन् । आज बसेको बैंकर्स संघको भेलाले आफू जुन वर्गमा निर्भर यो र जसप्रति इमान्दार हुनुपर्ने हो, त्यो चटक्कै भुल्न खोजेको देखिन्छ । बैंकमा भएको निक्षेप धुलोमाटोमा दपेटिएका, कारखानाभित्र श्रममा घोटिएका, व्यापारमा अनेक हण्डर खाएका, जागिरमा जीवनमा लपेटिँदै जेनतेन बचत गरेकाहरूको हो भन्ने यथार्थ बैंकरहरूले भुलेको जस्तो देखिएको छ ।

वाणिज्य बैंकरहरूले आफूलाई सुकिलोमुकिलो बनेर ६/७ अंकको तलब खुवाउने आधार बनाइदिएका बचतकर्ता वर्गप्रति होइन, तिनै बचतकर्ताले बैंकमा राखेको रकम कमसल धितोमा ऋण प्रवाह गरी निष्क्रिय बनाएका भनिएका आफूजस्तै जागिरे बैंकर वर्गप्रति झुकाव राखेको छ । यो झुकाव कायम राखिराखे आगामी दिनमा नेपालको पेशागत क्षेत्रमा बैंकरहरू सबैभन्दा बदनाम हुनेछन् ।

उदारीकरणपछि सबैभन्दा व्यवस्थित ढंगले विकास भएको भनिएको बैंकिङ क्षेत्रमाथि एक होइन, अनेक प्रश्न खडा हुँदैछ । बैंकहरू डुब्दा अन्ततः त्यसले देशको वित्तीय र मौद्रिक क्षेत्रलाई नै तहसनहस बनाउन सक्छ । आज शंकास्पद बैंकरमाथि अनुसन्धान तहकीकात हुँदै गर्दा औंलो ठड्याएका बैंकरहरू भोलि प्रतिशोधकै कारण नियामकको तारोमा परे आम बचतकर्ताले सामान्य सहानुभूतिसम्म राख्ने छैनन् भन्दै आर्थिक न्युजले समाचार लेखेको छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!