लोकतान्त्रिकजस्तो ‘हिरा’ !

- February 14, 2024 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

राजन कार्की- 
पञ्चायतले जनताको मन छुन सकेन, बहुदलले देशको भार थेग्न सकेन, लोकतन्त्र ल्याइयो, लोकतन्त्रले न जनता, न देश, न त लोकतान्त्रिक पद्धति नै सञ्चालन गर्न सक्यो । लोकतान्त्रिकजस्तो हिरामा नालीमा जस्तो स्याउँ स्याउँ भ्रष्टाचारी किरा पो सलबलाउन थाल्यो । आत्तिएका आमनागरिक आक्रोशसहित सडकमा निस्किन थालेका छन् । भयग्रस्त बनेका असक्षम, अकर्मण्य र असफल नेताहरु सत्यलाई भ्रमित पारेर विषयान्तर गर्दै आफ्नो कमजोरी लुकाउने असफल प्रयास गर्न थालेको देखिएको छ ।

जनयुद्ध र जनआन्दोलनलाई एक बनाएर गरिएको सडकसंघर्षका सामु पूर्वराजा नतमस्तक भएर झुके । आफ्नै देशका जनताका सामु झुक्दा राजा सानो भएनन् । तर त्यही राजाले दिएको अवसरको दुरुपयोग गर्दै तिनले संविधानसभाको यात्रा तय गरे, संविधानसभाको माध्यमबाट अवैधानिक रुपमा राजतन्त्रको अन्त गरिदिए ।

राजतन्त्र किनारा लगाएर संघीय गणतान्त्रिक लोकतन्त्रमा पुगेको ढ्वाङ फुक्नेहरुले बिगत १७ वर्षमा कुनै उपलब्धि हासिल गर्न सकेनन् । अहिले पनि उनीहरु जनताको आँखामा छारो र मानसिकतामा भ्रम फिजाएर आफूलाई अब्बल साबित गर्ने दुस्साहस गरिरहेकै छन् । जनताले बुझेका छन्– जनतामाथि अन्याय भयो, देशमाथि घात भयो । यी नेताहरु राजनीति गर्दैनन्, अपराध गरिरहेका छन् । समाजसेवाजस्तो, समाज बदल्ने विधिजस्तो लोकतान्त्रिक पद्धतिलाई बदनाम गरिरहेका छन् । जनताले अब यति धेरै भार बोक्न सक्ने अवस्था छैन भन्दै जनता विद्रोह गर्दै सडकमा उत्रन थालेका छन् ।

हिरा अर्थात सिन्थेटिक डाइमण्ड थियो लोकतान्त्रिक पद्धति । यो पद्धति हिराजस्तै पारदर्शी हो । कोइलाको कालोमा शुद्धतम बस्तुको नाम हिरा हो । हिरा जति शुद्ध हुन्छ, त्यति नै कडा पनि हुन्छ । अशुद्ध हिरा अन्य रङ्का हुन्छ, शुद्ध हिरा जुनसुकै रङका भए पनि सफा हुन्छ । लोकतन्त्र यस्तै शुद्ध हिरा व्यवस्था हो ।

तर नेपालमा थरिथरिका नेताले हिरा व्यवस्थालाई अशुद्ध बनाइदिए । नेतृत्व स्वार्थ र अपराधमा लहसिएर अनधिकृत लाभ लिन थालेकाले लोकतन्त्र अशुद्ध र बेरङको हुनपुगेको हो । प्रष्ट शब्दमा भन्नुपर्दा देशले खोजेको हिरा व्यवस्था, हिरा नेता, देशले पायो किरा नेता । जता हेरे पनि लापरवाही र जवाफदेही बिहीनता । सस्तो बेसाह पेटलागी मर भनेको नेपालको लोकतन्त्र बन्नपुगेको छ ।

०६३ सालको परिवर्तनपछि दर्जनौं सरकार बने, आज पनि सत्ता राजनीतिक पार्टीको भागबण्डामा चलिरहेको छ । कांग्रेस लालसलाम भन्छ, माओवादी जयन नेपाल भन्न लजाउँदैन । सिद्धान्तहीनताको पराकाष्ठा नाघेको अवस्था छ । जहाँ सिद्धान्त, नीति, निष्ठा र जवाफदेही हुन्न, त्यहाँ हुने भ्रष्टाचार र नैतिकहीनता नै हो । नेपालको लोकतन्त्र नेताको नैतिकहीनताले नाली बन्नपुगेको छ । नालीमा जन्मने र देखिने दुर्गन्धित र घीनलाग्दो परिदृश्य नै हो ।

सुरुका दिनमा यिनै नेता भन्थे, अब यो लोकतन्त्र, यो शासन ५० वर्ष कसैले हल्लाउन सक्दैन । तर १७ वर्षमै देखियो, कांग्रेस सर्वहाराजस्तो, सर्वहारा सामन्तजस्तो, लोकतन्त्र माफियातन्त्रजस्तो, कानुन व्यवस्था मुख, कान, आँखा नभएकोजस्तो । न्यायव्यवस्था सडकमा पानी पोखिएजसरी पोखिएको छ ।

लोकतन्त्र झूठको राजनीतिक खेती हुनपुग्यो ।

२०६३ सालको जनआन्दोलनमा सडकमा घरघरबाट सलहजसरी निस्केका आमनागरिकले विश्वास गरेका थिए– यी नेताहरु इटलीका ग्यारीबाल्डीजस्ता हुन् ।

समयले प्रमाणित ग¥यो, यिनीहरु त लेण्डुपजस्ता, नामुद भ्रष्टाचारीजस्ता । यिनले गरेको क्रान्ति न ग्यारीवाल्डीले गरेजस्तो रेडसर्ट क्रान्ति थियो, न आत्मसम्मान बचाउने, जगाउने क्रान्ति । यी त गिलोजति हलुवा हो भन्दै हसुर्ने प्राणी पो प्रमाणित हुनपुगे ।
त्यसै जनताले भनिरहेका छैनन्– यिनमा भ्रष्मासुरु प्रवृत्ति हावी भयो । अस्तित्व संकटमा परिसक्यो ।

शोषणका विरुद्ध लड्ने ग्यारीबाल्डी, शोषणमा रमाउने ठूला पार्टीका ठूला नेताहरु । यिनले सोझा जनतालाई लोभ चटाएर चुनाव जितेका हुन्, एकजना नागरिकको मन जितेका छैनन् ।
राजनीतिक रुपमा पोष्टमार्टम गर्नसक्ने देशविदेशका श्लिेषक भनिरहेका छन्– लोकतन्त्र निरंकूश शासन हुनपुग्यो ।

एमनेष्टीजस्ता संस्था भन्छन्– नेपालमा भ्रष्टाचार बढ्यो । हो । परिवारवाद, लेनदेन र व्यभिचारको पोखरीमा आहाल बस्ने नेता र तिनको व्यवहार देखेपछि भन्ने नै भए नेपाल भ्रष्टाचारी मुलुक हो । नेताहरु भाषणमा ठिङ्ग उभिएको देखिनु सुशासन होइन । नेपालमा सुशासन छैन, कानुन व्यवस्थाको जग हल्लिसकेको छ ।
राष्ट्र हल्लाउने खालका अन्याय भइरहेका छन्, भ्रष्टाचारका अनेक काण्डहरु घटेका छन् ।

भ्रष्टाचारी र हत्यारालाई राष्ट्रपति माफी दिन्छन्, महिनादिन नबित्तै त्यो हत्यारा फेरि हत्या अभियोगमा पक्राउ पर्छ । ३३ किलो, ३८ टन सुन तस्करी हुन्छ, वाइडबडीदेखि बालुवाटारका सरकारी जग्गा हिनामिना हुन्छन्, क्यान्टोनमेन्टदेखि बुढीगण्डकीसम्म भ्रष्टाचारका सिलसिला देखिन्छ, उद्योगको नाममा उद्यमी लुटमा संलग्न हुन्छन् । जताततै सिण्डिकेटमा लेनदेन भइरहेको देखिन्छ । कसैमाथि कारवाही नै हुन्न । लोकतन्त्र लूटतन्त्र बनिसक्यो ।

सरकारी महालेखा परीक्षको रिपोर्ट भन्छ– भ्रष्टाचार यो यो क्षेत्रमा बढ्यो, सरकार कार्यान्वयन नै गर्दैन । हरेक भ्रष्टाचार र कमिशनको कुरा उठ्यो कि प्रधानमन्त्रीले फाइल तान्ने, छानबिन समिति बनाउने र उन्मुक्ति दिने निरन्तरता जारी छ । न्यायाधीश नियुक्तीमा भागबण्डाका घटना सार्वजनिक भइरहेकै थिए, सर्वोच्च अदालतले एनसेल प्रकरणमा ५९ अर्व छुट दिएपछि, खरिदबिक्रीमा पनि जालझेल भयो, छानबिन समिति बन्यो, हातलाग्यो शून्य ।
विवादमा प्रधानमन्त्री छन्, सत्तासाझेदार नेतृत्व छ, प्रतिपक्षी नेताहरु पनि छन्, संवैधानिक निकायका प्रमुखहरु चोखा देखिदैनन् । तर लोकविधिमा केही पनि चलेको छैन, कोही पनि चलेका छैनन् । लोकतन्त्रको झ्याली पिटेर लोकतन्त्रमा नेतृत्व बर्ग लाखेनाच देखाइरहेका छन् ।

जुन संसद, सरकारले देशको सिमानाका विषयमा गम्भीरता देखाउँदैन, उसका लागि कुनै मामिला पनि गम्भीर हुँदैनन् । ७७ स्थानमा सीमा अतिक्रमण भएका छन्, लिम्पियाधुरा, लिपुलेक र कालापानी भारतको हो भनेर नक्सा नै जारी भइसकेको अवस्था छ । नेपाल सरकार नेपालको नक्सा सार्वजनिक गरेर नक्सा च्यापेर बसेको छ । नेपाली भूभागमा भारतको शासन चलिसक्यो, नेतृत्व बर्ग कानमा तेल हालेर, आँखामा भोगटेको चस्मा लगाएर बसेको छ । यस्ता नेताले लोकतन्त्र चलाउने, यो त सपनामात्र हो ।

वार्ताबाट, कुटनीतिक प्रयासबाट, राष्ट्रसंघ वा मित्रहरु गुहारेर अस्तित्व रक्षा गर्नुपर्छ भन्ने थाहा छ, कुनै पार्टी वा नेतामा आँट नै छैन । यी ढाडमा हाड नभएका थलथले प्राणी हुन्, थलथलेको काम थुप्रिनु हो । देशलाई भूराजनीतिको भूमरीमा हालेर थुप्रिने लोकतान्त्रिक राजनीतिले देश संकटमा छ ।

भाषणमा समृद्ध नेपाल र सुखी नेपालीको नारा नारामात्र हो, सपनामात्र हो, पुरा गर्ने इच्छाशक्ति रत्तिभर पनि छैन संसद र सरकारमा बस्ने नेताहरुमा । गैरजिम्मेवारीले सीमा नाघिसक्यो ।

अफ्रिकामा क्यामोलिन भन्ने प्राणी पाइन्छ, यस्तै प्राणी हो छेपारो जो नेपालमा हुन्छ । यो प्राणीले यति छिटो आफ्नो रङ बदल्छ कि यो उसको विशेषता हो । पार्टीहरु शासन सुशासनको झ्याली पिट्छन् र कुशासनका पक्षमा यति छिटो लाग्छन् कि पत्तै हुँदैन । यसकारण कुनै नेता वा पार्टीप्रति जनविश्वास, जनभर देखिदैन । कार्यकर्ताले लोभलाभमा फसेर नेताका पछि लाग्नु, पार्टी जिन्दावाद भन्नु अलग विषय हो ।

जब सत्तारुढ दल र त्यो दलको नेतृत्वको सरकार नै अपराध मन पराउँछ, कमिशन खान्छ र कमिशनमा रुमल्लिरहेको छ, तस्कर र माफिया, आर्थिक अपराधी र भ्रष्टाचारीहरुको चल्तीफिर्ती बढ्ने नै भयो । नेताहरु वी आर किङ भन्ने शैलीमा बोल्छन् । लाग्छ, सिंहदरवारको करिडरमा मात्र माफिया छन्, तस्कर र कमिशनखोरहरुको बोलवाला छ । नीति तिनीहरु नै बनाउँछन्, निर्णय तिनीहरु नै गराउँछन् । अनि कसरी लोकतन्त्र लोकजीवन बन्छ ?

देशको बिधि निर्माण गर्ने संसदमा, सरकारमा, नीतिनिर्माणमा जब अपराधीतत्व लागेका हुन्छन्, सरकारमा अपराधकर्म कसरी फस्टाइरहेको छ, बुझ्नका लागि लामो महाभारत पढ्नै पर्दैन । दैनिकी भ्रष्टाचार भइरहेछ । कमिशन र अपराधिकरणका कारण देश निसास्सिन थालेको छ । मुलुकलाई स्वस्थ राख्ने तत्व भनेकै सुशासन हो । जब कमिशनको स्लो प्वाइजनले प्रभाव बढाउँदै लान्छ, निश्चित रुपमा संविधान दुर्घटनामा पर्दै जान्छ र संवैधानिक निकायहरु कार्यपालिकाको निरंकँशताको कालो छायाँमा पर्दैजान्छन् ।

देशमा सकस बढ्यो । लोकतन्त्रजस्तो हिरा पद्धति बदनाम छ नेपालमा ।

लोकतान्त्रिकजस्तो हिरा, नालीमा भेटिनेजस्तो किरैकिरा । कति दुर्भाग्यशाली छन् नेपाली ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!