सांसदहरु व्यक्तिगत स्वार्थमै रमाउने, देशचाँहि कसले बनाउने ?

- February 5, 2024 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

-अनुसा थापा
निजी कायालयमा काम गर्ने कर्मचारीलाई समस्या समस्यै छ । पाँच मीनेट मात्र ढिलो भयो भने साहु रिसाउँछन् । तलब पनि काटिन्छ । त्यही ठाउँमा सरकारी कर्मचारी र जनप्रतिनिधिलाई कति आनन्द छ । जनताबाट चुनिएर आएका सांसदले १४ महिनामा के गरे ?
मासिक लाखौं रुपैयाँ तलबभत्ता बुझे तर प्रगति शून्य ? सांसदहरुलाई तलबभत्ता लिन लाज पनि नलाग्दो रहेछ । निर्वाचित भएर आएको वर्षदिन कटिसक्दासमेत एउटा मात्र विधेयक पारित भएको छ । त्यो हो, मीटरब्याजविरुद्धको विधेयक । सांसदको नाममा राज्यको ढुकुटी दोहन गर्ने काम मात्र भएको छ ।
उपचार खर्च, सरकारी गाडी, घरभाडा सबै सरकारले दिँदै आएको छ । यता, उनीहरुको देशविदेश सयरको खर्चसमेत राज्यले उठाउनुपरेको छ । सांसदहरु व्यक्तिगत स्वार्थ पूर्तिमै दौडिएका छन्, जनताको काम त्यसै । यो अवधिमा कोही सांसद बचतकर्तालाई बिल्लीबाठ बनाएको सहकारीको साधारण सभामा देखिए ।
उनीहरु त्यहाँ विशेष अतिथि बनेका थिए । कुनै सांसद एवं मन्त्रीचाँहि ट्याक्सीको कार्यक्रममा अतिथि बनेको पनि देखियो । सिण्डिकेटधारी यातायात व्यवसायी जसले एकाधिकार जमाएर सर्वसाधारणलाई दुःख दिइरहेका छन्, बाटो कब्जा गरेका छन्, तिनकै कार्यक्रममा मन्त्री अतिथि बनेर पुगेका थिए ।
सेवा दिने नाममा संघसंस्था खोल्ने, जनताको पैसा खाइदिने, ठग्ने, राज्यलाई राजस्व छल्ने, सिण्डिकेट लगाउनेको कार्यक्रममा जानुहुँदैन् भन्ने चेतना सांसद एवं मन्त्रीहरुसँग छैन् । वास्तवमा भन्ने हो भने, उनीहरुसँग सोच्नलाई दिमाग नै छैन् । जनताको काम गर्न छोडेर व्यवसायी आवरण ओढेर बसेका ‘ठग’ हरुको कार्यक्रममा जाँदा उनीहरुलाई अलिकति पनि हीनताबोध भएन् ?
सांसद र मन्त्रीले आफ्नो समय जनताको काममा लगाउनुपर्ने हो । उनीहरुलाई एनजिओ, सहकारी, यातायातसम्बद्ध संघसंगठनको कार्यक्रम उद्घाटन गर्न वा अतिथि बन्न त जनताले चुनेर पठाएका होइनन् । तर, लाज पचाएरै लाइन लागेरै सांसद र मन्त्रीहरु यस्ता संघसंगठनको कार्यक्रममा पुगेको देखिन्छ ।
अतिथि बन्नका लागि सांसद र मन्त्रीहरुबीच होड चल्ने गरेको छ । २०७९ मंसिर ४ गते निर्वाचन आयोगले प्रतिनिधि तथा प्रदेश सभाको चुनाव गराउँदा जनताले तिरेको खर्बौं रुपैयाँ खर्च भएको छ । दुई घण्टा लामो बाटो हिँडेर, दिनभर लाइनमा बसेर जनताले आफ्नो प्रतिनिधि चुनेर पठाए ।
तर, ती प्रतिनिधि व्यक्तिगत स्वार्थमै रमाउँदा जनता निराश भएका छन् । जनताले तिरेको कर र उनीहरुको दुःख त ‘वालुवामा पानी’ भएको छ । जनताले घामपानी नभनिकन खुट्टा दुखाईदुखाई मतदान गर्नुपछाडि त्यति ठूलो कुनै आश राखेका छैनन् । बस् आफ्नो क्षेत्रमा विकास गरिदेलान् र ऐनकानुन बनाउलान् भन्ने मात्र हो ।
तर, अहिले आएर जनतालाई बेकार मतदान गर्न गएछुजस्तो अनुभव भएको छ । न विकास छ न ऐनकानुन नै बन्छ । राज्यको ढुकुटी सोत्तर पार्नेबाहेक कुनै प्रगति हुन सकेको छैन् । चुनावअघि भोट माग्दै घरदैलोमा पुगेका जनप्रतिनिधिहरु अहिले फर्किएर जाँदैनन् । आफ्नो क्षेत्रको जनताको अवस्था के छ, तिनलाई मतलब छैन् ।
मतलब छ त कार्यक्रममा अतिथि बन्न पाइन्छ कि पाइँदैन् ? विदेश भ्रमणमा जान पाइन्छ कि पाइँदैन् ? ठेक्कापट्टाबाट कमिशन खान पाइन्छ कि पाइँदैन् ? राज्यबाट बढीबढी सेवासुविधा लिन पाइन्छ कि पाइँदैन् ? जनता मरुन् कि बाँचुन् तिनलाई चासो छैन् । जनप्रतिनिधिप्रति सर्वसाधारणको गुनासो मात्र छ ।
सांसदहरु एकपछि अर्को गदै विभिन्न आरोपमा मुछिरहेका छन् । नमुछिन् पनि किन ? दलालीले संसद भरिएको छ । घरजग्गा दलाली, सेयर दलाली, मेडिकल क्षेत्रका माफिया, सहकारी क्षेत्रका दलाली, यातायात दलाली, निर्माण क्षेत्रका दलालीलगायतले संसद भरिपूर्ण छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहकारी काण्डमा मुछिएका छन् । यता, नेपाली कांग्रेसबाट सांसद बनेका डलर अर्वपति एवं विवादास्पद व्यवसायी विनोद चौधरीमाथि सरकारी जग्गा हिनामिनाको आरोप लागिसकेको छ । राज्यलाई तिर्नुपर्ने करसमेत छली गरेको आरोप चौधरी ग्रुपमाथि लाग्दै आएको छ ।
देश बनाउन होइन्, आफ्नो काण्ड लुकाउन सांसद बनेको त प्रष्टै भएको छ । संसद चलेपनि अवस्था त्यही नै छ । जतिबेला पनि जुहारी चलिरहेको हुन्छ । एउटा पार्टीले अर्कोमाथि हिलो छ्याप्नेबाहेक केही उपलब्धि हासिल हुन सकेको छैन् । कानुन बनाउन सदनमा पुगेकाहरु जनताको विषयमा बोल्दैनन्, हाम्रो पार्टी यस्तोउस्तो भन्दै गुनगान गाएर निस्किन्छन् ।
अधिकांश समय संसद ‘चिडियाखाना’ जस्तो देखिन्छ । सत्तापक्ष होस् या विपक्ष, कोही पनि जनताप्रति अलिकति पनि जिम्मेवार देखिँदैनन् । देश र जनताका लागि उनीहरुले कहिले पनि गम्भीर भएर बोलेनन् । सहकारीले बचतकर्तालाई धुरुधुरु रुवाएको छ । लाखौं बचतकर्ताको खर्बौं रुपैयाँ सहकारी सञ्चालकले खाइदिए ।
बचतकर्ताहरुको ‘बिल्लीबाठ’ भएको छ । तर, सांसदहरु यसविषयमा चुइक्क बोल्दैनन् । आफ्नो जिन्दगीभरको कमाइ डुबेको तनाव सहन नसकेर कतिपयले आत्महत्याको बाटो रोजेका छन् । कतिपय डिप्रेशनमा गएका छन् । सहकारी काण्डमा जोडिएको सांसद पनि सदनमै छन् ।
तर, यो विषयमा अन्य सांसदको मुख खोल्दैन् । देशमा आर्थिक मन्दी छ । सटरहरु धमाधम खाली भइरहेका छन् । कोठा छोडेर सर्वसाधारण आफ्नै गाउँघर फर्किएका छन् । घरजग्गा, सेयर, गाडीको कारोबारमा पूरै मन्दी आएको छ । सर्वसाधारणलाई बिहानबेलुका छाक टार्न पनि समस्या भएको छ ।
रोजगारीका लागि देश छोड्नेको लर्को लागेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपालीको आँशुको धारा बगिरहेको छ । विमानस्थलमा दिनहुँ खाडी छिर्नेको भीड देखिन्छ । स्वदेशमै केही गर्छु भन्नेहरु पनि अहिले निराश छन् । काम गरेको ठाउँबाट तलब पाइरहेका छैनन्, कामदारले ।
मँहगीले जनताको ढाड सेकिएको छ । बाटोमा माग्नेहरु छ्याप्छ्याप्ती देखिन्छ । तर, सांसदहरुलाई कुनै मतलब छैन् । जनता कुन समस्याबाट जुधिरहेका छन्, तिनलाई चासो छैन् । नेपालीले विदेशबाट पठाएको रेमिट्यान्स र देश धितो राखेर लिएको ऋणबाट तलबभत्ता खानेहरुलाई जनताको के मतलब ?
उनीहरुलाई बस् आफ्नो धोक्रो भर्न पाए हुन्छ । सर्वसाधारणलाई बिहान खाए बेलुका के खाऊँ भन्ने चिन्ता छ । तर, सांसदहरुलाई त्यत्रो सेवासुविधा दिँदा पनि पुगेको छैन् । कतिपय सांसद मुख खोलेरै यतिजाबो तलबभत्ताले के हुन्छ, भन्छन् ? काम नै नगरी बसिबसि त्यत्रो तलबभत्ता र सेवासुविधा पाएका छन् ।
तैपनि, उनीहरुलाई थप माग्न लाज लाग्दैन् । देशको अर्थतन्त्र समस्यामा छ भन्ने कुरा भुरादेखि बुढासम्मलाई थाहा छ । आम्दानीभन्दा खर्च धेरै रहेको र सरकारले ऋण लिएको धानिरहेको विषयहरु पछिल्लो समय व्यापक बाहिर आइरहेको छ । यद्यपि, यो विषयमा सांसदहरु मौन छ ।
उनीहरुलाई देश बेचेर भएपनि तलबभत्ता र सेवासुविधा जो चाहिएको छ अनि किन बोल्थें ? जनताले खर्च कटौती गर्नुपर्ने माग राख्दै आएका छन् । तर, सांसदहरु चाँहि थाहा पाएर पनि नपाएझैं गर्छन् । जनताले तिरेको करले सरकारको खर्च धानिँदैन् अनि विकास कसरी हुन्छ ? यो गर्छु, त्यो गर्छु भन्नेहरुले यसको जवाफ दिन सक्छन् ?
देशले फड्को मार्न त अर्थतन्त्र बलियो हुनुपर्यो । अर्थतन्त्रचाँहि घिटिघिटिको अवस्थामा छ । जनतालाई भ्रममा राख्ने अनि आफू खाइरहनेतिर मात्र सांसदहरु केन्द्रित छन् । जनताले यिनीहरुबाट केही अपेक्षा नराखेपनि हुन्छ । कुनै पनि सांसदसँग आफ्नो धारणा राख्ने हिम्मत छैन् ।
पार्टीले जे जे भनेको छ, त्यही त्यही सुनाउँछन् । त्योबाहेक उनीहरुले एक शब्द बढी बोल्दैनन् । फेरि भोलि टिकट जो चाहिएको छ । पार्टीका झोलेहरुले देश बनाउने भाषण ठोक्छन् । जुन आफैंमा हास्यास्पद छ । वर्तमान सदनले नेपाललाई स्वरुप दिने होइन्, नेपाललाई सकाउनेचाँहि प्रष्टै छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!