त्यसैले त छ मेरो अस्तित्व

- February 2, 2024 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

– ई. प्रमोद खतिवडा

प्रेमको आँधीले बगैंचाको फूल हेरिरहेछ,
फक्रिन लागेको कलिलो मुना त उखेल्दैन ?
तिमी छौं त्यसैले त छ मेरो अस्तित्व,
डरलाग्छ जोडिएको मनको तार त चुंडिदैन ?
मलाई,
तिम्रो काखको बिछ्यौनामा
आकाशको बर्को ओडेर
निर्वन्ध निदाउन मन छ,
कतै
किनारको पानीको झोकाले त बगाउँदैन?
जसरी मिठो सपनालाई बिपनाले बगाउँछ!
म छोएर आफैलाई,
कसरी पाउँनु र तिमीलाई?
चन्द्रमाले सूर्य नछोई
कसरी प्रकाश पाउँछ?
तिमी र म वीचको दूरी कसरी नापौ प्रिया,
जसरी फूलमा रंगहरु नाप्न सकिंदैन
तिमी रंगहरुमा खुल्नु,
म रंगिन हुन्छु
तिमी पानी बन्नु,
म फिका हुन्छु
अनि पो
तिमी म हुनु जस्तो हुन्छ,
म तिमी भए जस्तो हुन्छ,
जसरी आकाशको आधार धर्ती हुन्छ,
धर्तीको छानो आकाश!
मेरो श्वासग्रन्थीका मिहिन कणहरु,
तिम्रा यादका अवयवहरुले जोडिएका छन्
जसरी रतिका यादले कामदेव,
बृन्दाका यादले जालन्धर!
तिमी टाढिनु तिमी मात्र टाढा हुनु हैन माया
यो मनको चालले बिश्राम लिनु हो,
त्यसैले मलाई म बनाउ
जसरी नदीले किनारालाई पनि आफ्नो बनाउँछ,
म नदीसंगै मिसिएको किनाराको माटो बन्न चाहान्छु
तिमीमा घुलेर तिमी बन्न चाहान्छु!!


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!