परिवर्तनको शंखघोष

- January 30, 2024 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

– ई. प्रमोद खतिवडा

एक जुट भएका भोका मुठ्ठीहरु,
जोशले भरिएका शहादत रगतहरु,
रिसाएका तरवारहरु,
आक्रोशित हुलहरु,
हातहातमा उठेका मशालहरु,
विभेद बिरुद्ध उभिएका कलमहरु,
उफ्,
आत्मसमर्पण गरिरहेको हेर्न सक्दिन।

रगतको होली खेल्ने खलहरु,
सर्वहारासंग खेल्ने बलहरु,
तिनैका बलमा शासन चलाउनेहरु
ती मानवपहाडका टाउका टाउका र
थुप्रिएका लाशहरू टेक्दै
उभिएका शासकहरु
म देख्न सक्दिन।

भोका नाङ्गाहरु,
राष्ट्रवादीहरु,
मजदुर किसानहरु,
सुकुम्वासीहरु
सबैका गाँस खोसी खाने
हुँडारहरु हेर्न सक्दिन।

सिङ्गो आकाश खसेको आँगन,
चट्याङ्को गड्याङ्गुडुङ ,
उजाड फुसको घर, गुवाली,
चर्किएका भित्ता अनि
त्यो भन्दा धेरै चर्किएको मन,
अन्धकारका पहाडहरु,
अझ धेरै
साँघुरिएका सीमानाहरु,
उफ्
यस्तो रमिता देख् सक्दिन

अहँ म हेर्न सक्दिन। गोलीको जस्तै गर्जन,

रुझेको प्राण अनि
पुराना च्यातिएका कमिज र सुरुवालहरु,
चिसा चुल्हाहरु,
आश गरी बसेका भोका बचेराहरु,
पहिरोले बगाएको खेत,
बास नपाएर रोएका मैनाहरु
अल्पप्राण बनी
असरल्ल छरिएको

लुटिएको गाऊँ वस्ती
अस्मिता गुमाएका चेलीहरु
सामन्ती हट्टहासले थिचिएका विवशताहरु,
उजाड गाउँ वस्तीहरु,
हारेका अनुहारमा पोतिएका
निराशे तेर्सा धर्साहरु,
छुट्टिन बाध्य परेवा जोडीहरु
अहँ,
यो जर्जरता र असमानता हेर्न सक्दिन।

जित्नु छ प्रलयलाई,
आबेग बनी
ज्वालामुखी बनी
उद्वेग बनी,
चिराग बनी
आशा जगाउँदै
सुनौलो मार्गचित्र कोर्दै
अघि बढ्नु छ,
सुर्योदयको आशमा।

अस्तु


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!