शेयर खरिद बिक्री गरी गैरकानूनी लाभ लिएको आरोपमा न्यौपानेविरुद्ध मुद्दा

- November 28, 2023 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले गैरकानूनी सम्पत्ति आर्जन गरेको अभियोगमा रिडी पावर कम्पनीका पूर्वअध्यक्ष गुरुप्रसाद न्यौपानेविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । शेयरको भित्री कारोबार (इनसाईड ट्रेडिङ) गरी कम्पनीको भित्री सूचनाका आधारमा शेयर खरिद बिक्री गरी गैरकानूनी लाभ लिएको आरोपमा विभागले न्यौपानेविरुद्ध मुद्दा दायर गरेको हो । विभागले उनीमाथि एक करोड ९९ लाख रुपैंया विगो मागदावी गरेको छ । विभागले गत कार्तिक २३ मा कम्पनीको भित्री सूचनाका आधारमा शेयर खरिद बिक्री गरी गैरकानुनी लाभ लिएको आरोपमा विभागले निजी क्षेत्रका ऊर्जा उत्पादक तथा प्रवद्र्धक न्यौपानेविरुद्ध सम्पत्ति शुद्धीकरणको आरोपमा मुद्दा दायर गरेको हो ।

२०५६ सालदेखि नै रिडी पावरका संस्थापक, प्रर्वद्धक र प्रमुख कार्यकारी अधिकृत रहेका न्यौपाने १९ चैत २०७७ देखि २४ साउन २०७८ सम्म उक्त संस्थाको अध्यक्ष थिए । उनी अध्यक्ष भएकै बेला ४ जेठ २०७८ मा रिडी पावरले आफूसँग भएको रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको १४ लाख कित्ता शेयर बिक्री गर्ने निर्णय गरेको थियो । तर, उक्त निर्णयभन्दा डेढ महिना अघिदेखि नै तत्कालीन अध्यक्ष न्यौपानेले रिडीको शेयर किनेको भेटिएको सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले जनाएको छ । त्यतिबेला उनले रिडीको करिब ३० हजार कित्ता शेयर २०३ देखि २१२ रुपैयाँको दरले शेयर किनेका थिए । पछि उनले आफूसँगै भएको समेत गरी रिडीको करिब ४० हजार कित्ता शेयर प्रतिशेयर ५९१ देखि ७३१ रुपैयाँका दरले बेचेको खुलेको थियो ।

उनले रैराङको शेयर बिक्रीको निर्णय हुनुभन्दा डेढ महिना अघिदेखि नै धमाधम रिडीको शेयर किनेका थिए । निर्णयपछिको एकदेखि तीन महिनाभित्र तिनै शेयर फेरि बेचेका थिए । धितोपत्र बोर्डका अनुसार न्यौपानेले १९ चैत २०७७ देखि २४ साउन २०७८ सम्म रिडी हाइड्रोपावरको शेयर १४ पटक खरिद र १२ पटक बिक्री गरेका थिए । आफूमात्रै नभई उनले श्रीमती सुमित्रादेवी न्यौपाने, छोराहरु सञ्जीव न्यौपाने, सतिश न्यौपाने, बुहारीहरु सलिना नेपाल र सिर्जना खड्काको नाममा रहेको शेयर पनि खरिद बिक्री गरेका थिए । कुनै पब्लिक कम्पनीको सञ्चालक समितिमा रहँदा वा समिति छाडेको एक वर्षभित्र आफू वा परिवारको सदस्यले सम्बन्धित कम्पनीको शेयर कारोबार गर्न नपाउने कानुनी व्यवस्था छ ।

तर, उनले आफू अध्यक्ष रहेकै कम्पनीको शेयर किनबेच गरेका थिए । अनुसन्धानबाट भित्री कारोबार भएको भेटिएपछि धितोपत्र बोर्डले न्यौपानेलाई ७५ हजार रुपैयाँ जरिवाना गराएको थियो । त्यस्तै १० वर्षसम्म कुनै पनि पब्लिक कम्पनीको सञ्चालक र व्यवस्थापक हुन नपाउने गरी प्रतिबन्धसमेत लगाएको थियो । धितोपत्र बोर्डले उनीमाथि भित्री कारोबारमार्फत ३ करोड २३ लाख ९७ हजार रुपैयाँ बिक्री गरेको भनी जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको थियो । धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ९१ मा कुनै व्यक्तिले धितोपत्रको मूल्यमा असर पार्नसक्ने भित्री सूचना वा जानकाीका आधारमा कारोवार गरेमा वा सूचना चुहाएमा भित्री कारोवार गरेको मानिने भन्ने व्यवस्था छ ।

त्यसको पुष्टि भएमा बिगो बमोजिम जरिवाना, एक वर्ष कैद वा दुवै सजाय हुनसक्ने व्यवस्था छ । न्यौपाने यसअघि पनि कारबाहीमा परिसकेका व्यक्ति हुन् । जनता बैंकको सञ्चालक हुँदा पत्नी सुमित्रादेवी न्यौपानेको नाममा ५२ हजार ४७० कित्ता शेयर किनेको भेटिएपछि राष्ट्र बैंकले त्यो शेयर जफत गर्न निर्देशन दिएको थियो । सर्वसाधारण समूहको शेयर खरिद गरेपछि उनले हकप्रद र बोनस शेयर प्राप्त गरेका थिए । राष्ट्र बैंकले बढे बढाएको ८५ हजार कित्ता शेयर जफत हुने निर्णय गरेको थियो । जनप्रहार साप्ताहिकका साथमा ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!