प्रसाईको आन्दोलनले राप्रपामा दुई धार

- November 26, 2023 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौ., मेडिकल माफिया तथा विवादित नाटकी दुर्गा प्रसाईंले नागरिक मुक्तिका नाममा काठमाडौं केन्द्रित आन्दोलत गरेर सुरुवात भएको उनको आन्दोलनले राजावादी र दक्षिणपन्थी अवसरवादी समूहहरुबीच विवाद उत्पन्न गराएको छ । बैंक तथा लघुवित्तका ऋण मिनाहा गरिदिने झुठा आश्वासन दिँदै उनले देशका विभिन्न क्षेत्रका मानिसहरुलाई भेला गरेर गणतान्त्रिक राज्य व्यवस्था सखाप पारी राजतन्त्र पुनःस्थापना गर्ने घोषणा गरेका छन् । २० लाख रुपैयाँसम्मका ऋण माफी गराउने झुठा आश्वासन दिएर सार्वसाधारण र साना तथा मझौला व्यापारीहरुको भिड जम्मा गरेर महिनौंदेखि झुठा आश्वासन दिँदै संविधान र व्यवस्थामाथि धावा बोलेका छन् । प्रसाईं आफैंले बैंकबाट लिएको ऋण गत चैतदेखि बैंकको साँवा–ब्याज नतिरेको स्रोत बताउँछ । उनले आठ वटा बैंकबाट ६ अर्ब रुपैयाँभन्दा धेरै ऋण लिएको उनी आफैं प्रचार गर्दै हिँडेका छन् । सो ऋणको साँवा–ब्याज बुझाउन गाह्रो परेदेखि उनी सडकमा उत्रिन थालेका हुन् । उनले समयमै ऋण तिर्न नसकेका ऋणीहरुलाई आकर्षक नारा दिएर आफ्नो अभियानमा लाग्ने झुठा आश्वासन बाँड्ने गरेका छन् ।

बैंकको ऋण माफ गर्नेसँगै राष्ट्र, राष्ट्रियता, धर्म र संस्कृसित बचाउन तथा तस्कर, माफियातन्त्र, भ्रष्टाचारको अन्त्य गर्न र तानाशाही शासकको अन्त्य गरेर राजतन्त्र स्थापना गर्ने पनि एजेन्डा अघि सारेपछि राजतन्त्रवादीहरुले राजाको पक्षमा वकालत गर्दै आएका र उनीहरुको राजनीतिक मिसन प्रसाईंले फिका बनाउने हुन कि भन्ने डरले राजावादीहरु दुई धारमा देखिन थालेका छन् । प्रसाईंले अघि सारेका राजा तथा धर्मका मुद्दा संसदको पाँचौं ठूलो दल राष्ट्रिय प्रजातन्त्र पार्टीले वर्षौंदेखि बोकिरहेको एजेन्डासँग मेल खान्छ । पार्टीका कतिपय एजेन्डा बोकेर प्रसाईंले आन्दोलन घोषणा गरेपछि राप्रपाभित्र प्रसाईंको अभियानलाई समर्थन गर्ने कि विरोध भन्ने दुईधार देखिन थालेको छ । राजतन्त्रको आफ्नो एजेन्डा प्रसाईंले हाइज्याक गर्न लागेको भनेर पीर गर्ने पनि राप्रपामा छन् । पार्टीका औपचारिक बैठकहरुमा नेता प्रकाशचन्द्र लोहनी र रवीन्द्र मिश्रले मंसिर ७ मा प्रसाईंले गरेको कार्यक्रममा राप्रपाले समर्थन गर्नुपर्ने तर्क अघि सारेपछि राप्रपा प्रवक्ता मोहन श्रेष्ठले प्रसाईंको कार्यक्रमलाई लिएर पार्टी संस्थागत निर्णय नगरेको बताए ।

पार्टीले यो विषयमा संस्थागत निर्णय केही गरेको छैन । हिन्दु राष्ट्र र राजतन्त्रको मुद्दा उठाएर हिँड्ने प्रमुख शक्ति राप्रपा हो भन्ने अभिव्यक्ति दिएपछि राप्रपाभित्र प्रसाईंको आन्दोलनले दुई धार निर्माण भएको प्रष्ट भएको छ । प्रसाईंको कार्यक्रमलाई सहयोग गर्ने कि नगर्ने भन्ने विषयमा पार्टीका पछिल्ला बैठकमा छलफल भने भएको प्रवक्ताले बताएका छन् । धर्म र राजाको एजेन्डा राप्रपाको हो, राप्रपाले कठिन दिनमा यी मुद्दा उठान गर्दै आएको छ । प्रसाईंको आन्दोलनलाई समर्थन गर्नुपर्ने धारणा कतिपय नेताले सामाजिक सञ्जालबाट राखेपछि त्यसबारे पनि राप्रपामा केही मतभिन्नता देखिएको छ । पार्टीले कुनै निर्णय नै नगरेका विषयमा नेताहरुले सामाजिक सञ्जालबाट धारणा नराखेको भए उपयुक्त हुने केही नेताहरुले बताउन थालेका छन् । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले प्रसाईंको आन्दोलनबारे सार्वजनिक रुपमा खासै टिप्पणी गरेका छैनन् । गोलमेच साप्ताहिकका साथमा ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!