एमाले तहस-नहस : ओली र बस्नेतकै कारण नेता बने प्रसाईं

- November 22, 2023 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

– अनुसा थापा
विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंले केही महिनाअघि एउटा कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको कम्बोडियाको टेलिकममा ३० अर्ब रुपैयाँ लगानी भएको बताएका थिए । सो अभिव्यक्तिपछि केन्द्रीय अनुसन्धान ब्यूरोले बोलाएर सोधपुछ पनि गर्यो । यता, ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष प्रसाईंलाई तत्काल पक्राउ गर्न आग्रह गरे ।

तर, प्रधानमन्त्री प्रचण्डले प्रसाईंलाई समात्न निर्देशन दिएनन् । त्यसकै झोकमा आएर ओली र एमालेको पोलिब्युरो सदस्य महेश बस्नेतले सडक आन्दोलनको घोषणा गरे । जुन दिन प्रसाईंले आन्दोलनको मिति घोषणा गरेका थिए, एमालेको भातृ संगठन राष्ट्रिय युवा संघले पनि सोही दिन अर्थात मंसिर ७ गते आन्दोलन गर्ने भएको छ । एमालेको आन्दोलनको एउटै उद्देश्य छ,‘दुर्गा प्रसाईंको विरोध गर्ने ।’

दुवै पक्षले एकैदिन आन्दोलन गर्ने भएपछि सरकारले समेत निषेधाज्ञा जारी गर्नुपरेको छ । प्रसाईंले आन्दोलन गर्ने दिन नै युवा संघले पनि शक्ति प्रदर्शनको घोषणा गर्नु ठीक छैन् । युवा संघले एजेण्डा त विभिन्न बनाएको छ तर प्रसाईंसँग भिडन्त गर्नचाँहि आन्दोलन गर्न थालिएझैं देखिन्छ । एमालेको कारणले प्रसाईं झन् चर्चामा आएका छन् । एमालेले प्रसाईंलाई चर्चामा ल्याएर ‘आफ्नो खुट्टामा आफैं बञ्चरो’ हानेको छ ।

अहिले एमालेका कार्यकर्ता नै यो आन्दोलनदेखि सन्तुष्ट छैनन् । ओली र बस्नेतकै कारण एमाले तहसनहस हुने अवस्थामा पुगेको आरोप उनीहरुले लगाइरहेका छन् । पछिल्लो समय एमाले यस्तै हर्कतका कारण बद्नाम बन्दै गएको छ । ओली र बस्नेतलाई जोसँग पनि जुहारी खेल्ने बानी बसिसकेको छ । जसको असर २०८४ सालको चुनावमा देखिने निश्चित छ ।

२०७४ सालमा पहिलो पार्टी भएको एमाले त्यसपछि एक तह तल झरेको छ । २०७९ सालमा एमाले दोस्रो पार्टी बनेको छ । ओली र बस्नेतको बोलीले नै एमालेलाई क्षति पुगेको एमाले कार्यकर्ताहरुको भनाई छ । ओली र बस्नेतलाई पार्टीबाट ननिकालेमा पार्टी सिद्धिने उनीहरु बताउँछन् । अहिले एमाले सदनमा प्रमुख विपक्षी छ । तर, सदनमा एमालेका सांसदहरुले जनता र राष्ट्रका कुरा उठाएको पाइँदैन् ।

ओलीले आफू प्रधानमन्त्री हुँदा दुई पटक संसद विघटन गरे । अदालतले दुवै पटक संसद ब्यूताइदियो । ९ महिनासम्म एमालेले सदन अवरोध गर्यो । त्यतिबेलासम्म एउटा कानुन पारित हुन सकेन् । तर, एमालेका सांसदले तलबभत्ता लिए, सरकारी गाडी चढे । यो गल्तीको माफी न ओलीले मागेका छन् न एमालेका सांसद्ले । ओलीलाई त अर्कामाथि ‘बोलीको गाली’ प्रहार गरेर भ्याइनभ्याइ छ, के माफी माग्थें ?

बस्नेतको त झन् कुरै नगरौं । कुनै कार्यक्रममा पुगे भने गुण्डा भाषाको झटारो दिइहाल्छन् । एमालेका अन्य सांसद् पनि ‘उही ड्याङ्गका मुला’ हुन् । २०४६ सालअघि राजनीति परिवर्तनमा लागेका, जेल बसेका नेताहरु निकै चिन्तित छन् । ओली र बस्नेतको कारणले पार्टी नै सिद्धिने हो कि भन्ने चिन्ताले उनीहरुलाई पिरोलेको छ । एमालेलाई जनताको आवश्यकता नै छैन् ।

२०७९ सालको चुनावअघि एमालेले ओलीलाई प्रधानमन्त्रीको घोषणा गर्यो । जनताले मतदान गरेकै छैनन्, उताबाट प्रधानमन्त्री घोषणा भइसकें । यता, मंसिर ४ गतेको चुनावपछि म प्रधानमन्त्री हुँ भन्दै ओली कुलिँदै हिँडे । तर, जनताले भोट दिएनन् । २०२८ सालमा मान्छे मारेर ओली जेल बसेका थिए । राजनीतिक परिवर्तनका लागि उनी जेल बसेका होइनन् ।

तर, उनले त्यसलाई यसरी घुमाए, कसैले थाहा नै पाएनन् । महेश बस्नेतको पृष्ठभूमि केलाउने हो भने उनी हप्ता उठाउने गुण्डा हुन् । २०७० सालअघि उनीसँग केही पनि थिएन् । उनी गुण्डा हुन् । यी दुईलाई कुटनीति र राजनीतिबारे केही पनि थाहा छैन् । यिनीहरुलाई बोल्न र एकअर्कामाथि हिलो छ्याप्न मात्रै आउँछ । बस्नेतले अहिलेपनि गुण्डा भाषाशैलीको प्रयोग गर्छन् ।

उनले केही दिनअघि एउटा कार्यक्रममा एमालेको विरोध गर्नेलाई जुम्रा किचेझैं किच्छु भनेर भाषण गरेका थिए । ओली आफूमाथि आरोप लाग्नेबित्तिकै प्रधानमन्त्रीका धाउने, समात्न खोज्ने, सडक आन्दोलनको घोषणा गर्ने । यही हो राजनीति र कुटनीति । दुर्गा प्रसाईं एउटा व्यक्ति हुन् । न उनको कुनै पार्टी छ । उनलाई सिद्धयाउन यतिबेला समग्र एमाले लागिपरेको छ ।

एमालेको यो आन्दोलन घोषणापछि औंला ओलीमाथि नै आएर तेस्रिएको छ । सर्वसाधारण भन्छन्,‘आफूमाथि लागेको आरोप ढाकछोप गर्नका लागि ओलीले कार्यकर्ता सडकमा उतार्न थालेका हुन् ।’ एमाले बनाउन धेरै व्यक्तिको योगदान छ । एमाले त्यत्तिकै एमाले बनेको होइन् । तर, ओली र बस्नेत मिलेर एमाले सिद्धयाइदिए । एमालेप्रति आस्था राख्ने र मतदान गर्नेहरु ओली र बस्नेतको कारणले निराश बनेका छन् ।

देशको आर्थिक अवस्था अहिले डामाडोल छ । बेरोजगारको संख्या निरन्तर उकालो लागिरहेको छ । मँहगीले जनताको ढाड सेकिएको छ । तर, सदनमा एमालेका सांसद यी विषयमा आवाज उठाउँदैनन् । उनीहरुलाई राष्ट्र र राष्ट्रियता भन्ने थाहा छैन् । एमालेबाट ७८ जना सांसद छन् । एमालेका एक जना सांसदले तलबभत्ता नलिने, सरकारी गाडी नचढ्ने भनेका छैनन् ।

केन्द्रमा मात्रै होइन्, स्थानीय तहका एमालेका जनप्रतिनिधिहरु पनि त्यस्तै ‘लोभी’ छन् । आफ्नो घरको खाएर देश र जनताका लागि काम गर्छौं भन्ने आँट एमालेका जनप्रतिनिधिसँग छैन् । विपक्षीको प्रमुख दल भनेको त ठूलो दल हो । विपक्षीले नयाँ शैलीबाट काम गर्न सक्नुपर्थ्यो । विडम्बना, ठ्याक्कै उल्टो भयो । संसद् अवरोध गर्ने अनि तलबभत्ता खाइरहने । एमालेका सांसदहरुलाई लाज लाग्नुपर्ने हो ।

ओली आफूलाई व्यङ्ग्यकार ठान्छन् । जतिबेला पनि अर्कामाथि व्यङ्ग्य गरिरहेका हुन्छन् । ख्याल ठट्टा गर्न मात्रै जानेका यस्ता पनि विपक्षी दलका नेता । उनको बोलीले जनतामा धेरै प्रभाव पार्छ । उनी पार्टीका अध्यक्ष, विपक्षी दलका नेता मात्रै नभएर पूर्वप्रधानमन्त्री समेत हुन् । प्रधानमन्त्रीको बोल्ने शैली यस्तो हुन्छ ? २०४६ सालपछि सबै पार्टी सरकारमा गएको छ । भर्खर उम्रेका पार्टीसमेत सरकारमा पुगेको छ ।

माओवादी, कांग्रेस, जनमोर्चा, एमाले, राप्रपा, रास्वपा, मधेशी दल सरकारमा गयो । नगएको भनेको नेमकिपा मात्रै हो । चोखो त यहाँ कोही पनि छैनन् । सबै पार्टी मिलेर देश सकाइएको हो । तर, अहिले पनि एउटाले अर्कोमाथि हिलो छ्यापेर आफू बस्न खोजेका छन् । अर्कामाथि प्रश्न गरेर आफू उम्किने ठाउँ छैन् ।

देश यो अवस्थामा पुर्याउनुमा सबैको बराबरको हिस्सेदारी छ । सबैले जिम्मेवारी लिनुपर्छ । मुलुकलाई कसरी सही ट्रयाकमा ल्याउने ? नाङ्गो विदेशी हस्तक्षेप कसरी रोक्ने ? जनतालाई कसरी सरकार छ भन्ने प्रत्याभूति दिलाउने ? कुनै पनि पार्टीले जनताको विषयमा सोचेकै छैनन् । यदि पार्टीहरुले जनता र राष्ट्रको हितमा काम गरेको भए, भ्रष्टाचार नगरेको भए, मँहगा गाडी नचढेको भए, दुर्गा प्रसाईंको पछाडि केलाई जनता लाग्थें ?

प्रसाईंदेखि किन राजनीतिक दल डराउनुपर्थ्यो ? प्रसाईं त बैंकको ऋण तिर्न नसकेर डुबेको व्यक्ति हुन् । उनको पछाडि किन यसरी जनता लागेका छन् ? राजनीतिक पार्टीहरुले कहिले सोचका छन् ? जुन साथ र समर्थन राजनीतिक दलहरुले पाउनुपर्थ्यों, त्यो आज एउटा व्यक्तिले पाएको छ । किन कि प्रसाईंले जनताको समस्या बोलिदिएका छन् । बैंक तथा वित्तिय संस्थाको ज्यादती, सहकारीको ठगी, भ्रष्टाचार, मँहगीको विषयमा उनले आवाज उठाएका छन् ।

जनताबाट चुनिएर गएका अधिकांश सांसद सदनमा निदाएर बसेको देखिन्छ । उनीहरु कुर्सीमा भुर्कुट हुन्छन् । सभामुख देवराज घिमिरेले दुर्गमका सांसदलाई बोल्न दिँदंैनन् । गगन थापाजस्तालाई मात्रै बोल्न समय दिन्छन्, सभामुख । दुर्गा प्रसाईंलाई आज नेता बनाउने राजनीतिक दलकै नेता हुन् । प्रसाईंको पछाडि जनता लाग्न बाध्य बनाउने पनि नेता नै हुन् । प्रसाईंले यो व्यवस्थामाथि धावा बोलिसकेका छन् ।

यो व्यवस्थालाई टिकाइराख्ने हो भनेर अब माओवादीका नेता सुध्रिनुपर्छ । जनताको हितमा काम गर्नुपर्छ, सरकारी गाडी चढ्न र तलबभत्ता लिन छोड्नुपर्छ । माओवादीले १० वर्षे जनयुद्धको उद्देश्य बिर्सिएको छ, त्यो फेरिपनि स्मरण गर्नुपर्ने बेला भएको छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!