पार्टी एकता नभए व्यक्तिगत रुपमा को को आउनुहुन्छ, त्यो पछिको कुरा हो : उपमहासचिव गजुरेल

- November 20, 2023 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका प्रमुख राजनीतिक सल्लाहकार एवं नेकपा (माओवादी केन्द्र) का उपमहासचिव हरिबोल गजुरेलले बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीको सम्पूर्ण पंक्ति एकताको पक्षमा रहेको दाबी गर्नुभएको छ ।

नेपाली रेडियो नेटवर्कको नेपाली बहससँग कुराकानी गर्दै गजुरेलले भन्नुभयो, ‘नेपाल समाजवादी पार्टीलगायत सबै पक्षसँग वैचारिक र राजनीतिक आधारमा पार्टी एकताको प्रक्रिया अघि बढिरहेको छ । बाबुरामजी के गर्नुहुन्छ, त्यो उहाँको कुरा हो ।

तर, उहाँको पार्टी एकताकै पक्षमा छ । गंगानारायण श्रेष्ठ र महिन्द्र राय यादव पार्टी नै एकतामा आउँछ भनिरहनुभएको छ ।

पार्टी एकता नभए व्यक्तिगत रुपमा को को आउनुहुन्छ, त्यो पछिको कुरा हो । तर हामी बाबुराम भट्टराईसहित पार्टी एकताको पक्षमा छौं।’

गजुरेलले पार्टी एकताका लागि बाबुराम भट्टराईमा वैचारिक समस्या देखिएको औंल्याउनुभयो । गजुरेलले थपे, ‘हामीले कम्युनिस्ट आइडियोलोजीमा टेकेर समाजवादका आधार खडा गर्ने भनेका छौं ।

बाबुरामजी अबको बाटो समाजवाद त हो भन्नुहुन्छ तर उहाँ बुर्जुवा विचारधारामा टेकेर समाजवादतर्फ जान चाहनुहुन्छ ।

पश्चगामी विचार राखेर कसरी पार्टी एकता हुन्छ त ? पार्टीका लागि पार्टी मात्र भएर मात्र भएन । पार्टीको पार्टीसँग एकता हुन्छ, व्यक्तिसँग हुँदैन।’

जाजरकोट भूकम्पपीडितको समस्यामा सरकार संवेदनशील रहेको पनि सल्लाहकार गजुरेलले बताउनुभयो । उहाँले भन्नुभयो, ‘भूकम्पको पूर्व तयारी नपुगेको यथार्थ हो ।

जाडोको मौसम भएकाले जनतालाई गाह्रो भएको छ । सरकारले अस्थायी टहरा बनाउन ५० हजार सहयोग दिने घोषणा गरिसकेको छ ।

हामीले आफ्नो स्थिति अनुसार नै गर्ने हो । राज्यले आफ्नो दायित्व पूरा गर्ने कोसिस गरिरहेको छ । जनताको आवश्यकता अनुसारका काम सरकारले गर्छ ।’

अर्को प्रसंगमा गजुरेलले दुर्गा प्रसाईं परिवर्तन विरोधी शक्तिहरूको गोटी बनेको आरोप पनि लगाउनुभयो ।

उहाँले अगाडि भन्नुभयो, ‘परिवर्तनकारी शक्तिहरू सरकारले डेलिभरी दिन सकेन भन्ने जनताको असन्तुष्टिलाई क्यास गरेर संविधान उल्टाउन चाहन्छन् ।

रिस पोख्ने एउटा कुरा हो । तर पश्चगामी शक्तिको त्यो प्रयत्न सफल हुँदैन । मैले दुर्गा प्रसाईंलाई राम्ररी जानेको छु ।

उहाँ आफ्नो व्यक्तिगत समस्यामा राजावादीको सहयोग लिएर अगाडि बढ्न खोज्नुभएको छ ।

परिवर्तन विरोधीले दुर्गा प्रसाईंलाई प्रयोग गर्न खोजिरहेका छन् । उहाँ परिवर्तन विरोधीको गोटी बन्नुभएको छ ।’

परिवर्तन पक्षधर शक्तिले विगतका कमजोरी सुधारेर आत्म समीक्षा गर्नुपर्ने पनि गजुरेलले औंल्याउनुभयो ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!