स्वास्थ्य सुझाव : धनीलाई लाग्ने रोग अब सबैलाई लाग्न सक्छ

- November 16, 2023 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

रोग सबैलाई लाग्न सक्छ । रोगले कुनैपनि हैसियत हेरेर लाग्ने कि नलाग्ने भनेर छुट्याउँदैन । धनी होस् कि गरीब, उच्च ओहोदाको होस् कि निम्न पदमा आसिन, रोग सबैलाई लाग्न सक्छ । हिजोआज जुनसुकै अस्पतालमा उपचारका लागि पुगेका मानिसहरुलाई सर्सर्ती हेरियो भने थाहा हुन्छ उनीहरु सबैको हैसियत समान हुँदैन । कुरा यत्तिमात्र हो कि उपचार गर्न भने आर्थिक हैसियत अनुसारको अस्पताल छानेर मानिसहरु जाने गर्छन् । तर रोगले अस्पतालको हैसियत हेरेर बिरामीलाई सहानुभूति भने प्रकट गर्दैन । यो कुरा चिकित्सा विज्ञानका धुरन्धर विज्ञहरुले नै अनुसन्धान गरेपछि भन्ने गरेका छन्। कुनैबेला केही धनीलाई मात्र लाग्छ भनिन्थ्यो । त्यसो भन्नाको कारण थाहा पाउन नसकेर सर्वसाधारण मानिसहरुले सहजै पत्याउने गरेका थिए । तर शिक्षाको स्तर बढ्दै गएपछि सबैलाई अवगत हुन थाल्यो कि रोगले विभेद गर्दै गर्दैन ।

कुनैबेला शहर निवासी र धनी व्यक्तिहरुमा मात्र देखिने ह्रदयाघात, डायबिटीज, स्ट्रोक, हाडजोर्नी र क्यान्सर जस्ता रोग गरीब मानिसमा देखिँदैन थियो। जो ज्यादातर गाउँमा नै बसोबास गर्थे । गाउँमा भन्दा धनी व्यक्तिहरु शहरमा बढी बसोबास गर्ने भएकाले उनीहरुलाई नै बढी यस्ता रोगले समाउँथे। अग्लाअग्ला भवन, आधुनिक सुविधाको रहन–सहन र स्वादिला व्यञ्जन उनीहरुको नियमित भोजन हुनेगर्छ । यही जीवनशैली बानी पर्दै जाँदा उनीहरु नै यस्ता रोगबाट संक्रमित हुने गर्छन् । तर यो रोगले सन् १९९० र २००० पछिका दशकमा बिरामीको वीच भेद गर्न छाड्यो र यसले सबैलाई गाँज्न थाल्यो। २००० सम्म आईपुग्दा त केही रोगले धनाढ्यलाई मात्र संक्रमण गर्छ भनिने गरेकामा अब गरीब र झुपडीमा बस्ने मानिसलाई पनि बाँकी राख्न छाड्यो ।
यी हुन् ती मुख्य रोग ।
ह्रदयाघात
संसारभरी हरेक वर्ष ह्रदयाघातबाट सबैभन्दा बढी मानिसको मृत्यु हुने गर्छ । २०१४ मा एक अनुसन्धान प्रतिवेदन सार्वजनिक भएको थियो, जसमा सन् १९९० पछि गाउँमा पनि कार्डियोभेस्कुलर डिजीजको समस्या दुइ गुणा बढेको देखाईएको थियो। यतिमात्र होइन ससाना बालबच्चाहरुलाई समेत ह्रदयाघात भैरहेको छ । उनीहरुलाई कोलेस्ट्रोल र उच्च रक्तचापको समस्या निकै बढेर गएको उक्त अनुसन्धानमा देखाईएको छ ।
डायबिटीज
हिजोआज ३० वर्षकै उमेरमा मानिसहरुलाई मधुमेहको समस्याले सताउन थालेको छ। तर केही वर्षअघिसम्म यस्तो समस्या देखापरेको थिएन। यो एक मेटाबोलिक रोग हो। जसमा रगतमा ग्लूकोज बढेर जान्छ । यसको असरले मृगौला र आँखालाई कमजोर बनाउँदै उपचार नपाए धेरै क्षति पनि गर्छ ।
कोमा
हामी सबैले सुन्ने गरेका छौं कि धेरैजसो धनाढ्य व्यक्तिहरु कुनै रोगका कारण कोमामा जान्छन् । यसको मुख्य कारण हो स्ट्रोक । जसले मष्तिस्कको नसा बन्द भएपछि रक्तप्रवाहमा अवरोध आउँछ र शरीर हल न चल हुनपुग्छ ।
गठिया
गठिया रोग पनि धनीमानीलाई नै लाग्ने रोग मानिन्छ । जोर्नीहरु दुखेर उठबस समेत गर्न नसक्ने अवस्था आएपछि मानिस हिँडडुल नै गर्न असमर्थ हुन्छ । खासगरी यो समस्याले बूढेसकालमा बढी सताउँछ ।
क्यान्सर
यो रोगलाई पनि पहिला पहिला धनीलाई मात्र लाग्ने रोग भनेर चर्चा गरिन्थ्यो । यो रोगको उपचार असाध्य महँगो र दुर्लभ जस्तै भएकाले पनि उपचार खर्च निकै नै बढी हुनेगथ्र्यो । अहिले नै पनि यसको उपचार गर्दागर्दा मानिसहरु आर्थिक रुपले चौपट भएका समाचारहरु प्रकाशमा आईरहन्छन् । तर अहिले आएर जथाभावी खानपान गर्नाले क्यान्सरले धनी गरीब भनेर छुट्याउन छाडेको छ ।
यी थिए ठूला कारण
विशेष गरेर धनाढ्य मानिसहरु कम हिँडडुल गर्ने र सकेसम्म शरीरलाई कष्ट नदिने बानीमा रमेकाले उनीहरुको जीवनशैली विलाशी बनेको हुने गर्छ । व्यस्त दैनिकी र कम स्वास्थ्यकर खानपिनमा बानी परेका उनीहरु बढी स्वास्थ्य समस्यामा पर्ने गरेका हुन् भन्ने स्वास्थ्य विशेषज्ञहरुले बताएका छन् । शारीरिक व्यायामबिनाको तनावपूर्ण जीवनशैली नै उनीहरुलाई स्वास्थ्य समस्या आईपर्ने मुख्य कारण मानिएको छ । बढी चिल्लो भएको खाद्यपदार्थ, अति गुलियो खानेकुरा, धेरै नून हालेको चर्को खानेकुरा, मदिरा, सुर्तिजन्य पदार्थ र प्याकिङ्ग खानेकुरा रोग निम्त्याउन कारक बन्ने विज्ञहरुले बताएका छन् । ​ यो त सामान्य जानकारी मात्र हो । यस्ता समस्या देखा परेमा चिकित्सकसँग परामर्श नगरी आफूखुशी औषधि सेवन गर्नु हुँदैन । (विभिन्न स्रोतबाट)


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!