काठमाडौँ । छायाङ्कन गर्र्नु अधिनै चलचित्र ‘बलिदान’ को टिजर सार्वजनिक गरिएको छ । नेपाली चलचित्रको इतिहासमा सम्भवतः पहिलो पटक प्रि–प्रडक्शनमा रहँदा नै यसरी टिजर सार्वजनिक गरिएको हो ।आसुसेन फिल्म्सको ब्यानरमा बन्न लागेको यस मेघा प्रोजेक्टलाई सन्तोष सेनले निर्देशन गर्दैछन् ।
टिजर रिलिज गरिए पनि चलचित्रका कलाकार तथा प्राविधिकको विषयलाई भने खुलाइएको छैन । कलाकार र अन्य प्राविधिकबारेपनि केही खुलाईएको छैन । सार्वजनिक टिजरमा चित्रित दृश्यले ‘बलिदान’ एक युगजनित विसङ्गति र विकृतिलाई छिचोल्दै विस्तारित आयाममा बन्ने एक्सन प्रधान चलचित्र हुनेछ बताइएको छ ।
देशको आन्तरिक मामिलामा चर्किएको आन्दोलनमा बाह्य तत्वको प्रवेशपछि खलबलिएको समाज, बीभत्स घटनाहरू तथा नरसंहारपछि त्यसबाट मुक्ति पाउन नेपालको झन्डा र हतियारसहित प्रकट भएको नायकलाई टिजरमा देखाइएको छ ।
यो चलचित्रलाई ‘एक सार्वभौम महाकथा’ भन्दै सेनले परिवर्तन र पहिचानका नाममा सोझा जनतालाई रक्तपातपूर्ण आन्दोलनमा होमिन लगाई बलिको बोको बनाउने र यसरी हत्याइने राज्य शक्तिमा आफै ढलीमली गर्दै राज्यको अस्मिता लुट्ने कुटिल व्यक्तिहरूलाई सिध्याउनै पर्ने बेला आइसक्यो भन्ने सन्देश दिने दाबी गरेका छन । आसुसेन प्रालि तथा सन्तोष सेनको प्रस्तुति रहने यस चलचित्रमा निर्माताको रूपमा पवन ब्राडफोर्ड बिस्ट तथा कार्यकारी निर्माता चक्रबहादुर चन्द, प्रेम पुरी छन् । त्रिभुवन विश्वविद्यालयका प्राध्यापक दर्शनको लेखन रहेको छ ।
यस बिषयमा तपाइको प्रतिक्रिया...!