अलैँची निकासीमा उल्लेख्य वृद्धि

- November 12, 2023 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

विराटनगर । कोशी प्रदेशका पहाडी जिल्लाको मुख्य उत्पादन मध्येको अलैँची निकासी उल्लेख्य रुपमा बढेको छ । चालु आर्थिक वर्षको तीन महिनामा अलैँची निकासी ५६ प्रतिशतले बढेको हो । यो आर्थिक वर्षको साउन, भदौ र असोजमा गरी एक अर्ब ८९ करोड ७६ लाख रुपैयाँको अलैँची निकासी भएको हो । गत वर्षको सोही अवधिमा एक अर्ब २० करोड ६१ लाख रुपैयाँको अलैँची निकासी भएको थियो । विदेशमा अलैँचीको माग बढेपछि निर्यात वृद्धि भएको भन्सार विभागले जनाएको छ । ताप्लेजुङ, पाँचथर, इलाम, धनकुटा, संखुवासभा, भोजपुर, तेह्रथुम लगायत जिल्लामा अलैँची खेती प्रशस्त हुने गरेको छ । ती जिल्लामा उत्पादित अलैँची झापाको बिर्तामोडमा संकलन गरी व्यवसायीहरुले भारत र अन्य मुलुकमा निर्यात गर्ने गरेका छन् । मुख्य गरी भारत र पाकिस्तानमा अलैँची जाने गरेको व्यवसायीहरु बताउँछन् । यसैगरी केही परिमाण अलैँची इटाली, जर्मनी र अमेरिकामा पनि निर्यात हुने गरेको छ ।

आर्थिक वर्ष २०७८–७९ मा नेपालबाट ४ अर्ब ५५ करोड रुपैयाँको अलैँची निर्यात भएको थियो । पूर्वी पहाडी जिल्ला र अरु जिल्लामा समेत गरी देशभर करिब १६ हजार हेक्टर जग्गामा अलैँची खेती हुने गरेको छ । उक्त क्षेत्रफलबाट करिब ८ हजार ३ सय टन अलैँची उत्पादन हुन्छ । अलैँची पूर्वी पहाडी जिल्लाका किसानको आम्दानीको मुख्य स्रोत हो । अलैँची व्यवसायी महासंघका अनुसार देशका तीन दर्जनभन्दा जिल्लामा अलैँची खेती विस्तार भएको छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!