काठमाडौं . नेपालमा पहिलो पटक इलेक्ट्रिक सवारी साधनलाई समेटेको राइड शेयरिङ एप ‘इड्राइभ नेपाल’ सञ्चालनमा आएको छ । ईड्राइभ नेपाल कम्पनी प्रालिले १४ करोड रुपैंयाको लगानीमा इलेक्ट्रिक ट्याक्सी र स्कुटरबाट सेवा शुरु गरेको हो।
अन्य सेवाभन्दा सस्तो, नयाँ गाडी, दुर्घटना विमा, ओपिटी प्रणाली र जिपिएस प्रणाली जडान गरी निकै सुरक्षित प्रविधिका साथ सञ्चालनमा ल्याइएकोले एप सेवाग्राहीको आकर्षण हुने कम्पनीले जनाएको छ । विहिवार नेकपा एमालेको प्रतिनिधि सभाका सचेतक महेश वर्तौला, बाग्मति प्रदेशका उपसभामुख अप्सरा चापागाँई र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले हरियो झन्डा फहराएर ‘इड्राइभ एप’ र ट्याक्सी सेवाको शुभारम्भ गरेका छन् ।
उक्त अवसरमा वर्तौलाले भने, ‘इलेक्ट्रिक्स गाडिको प्रयोगले नेपालको विद्युतको खपत हुने, वातावरण संरक्षण हुने र पेट्रोलको खरिदमा अर्बौं रुपैंया विदेशिनबाट जोगिने हुनाले यसको भविष्य उज्वल छ ।’ राष्ट्रिय सभा गृहमा उद्घाटन गरेसंगै ४० वटा नयाँ इलेक्ट्रिक्स ट्याक्सीले टुंडिखेलको एक चक्कर लगाएको थियो ।
हाल कम्पनी आफैले २० वटा ट्याक्सी सञ्चालनमा ल्याइसकेको छ । थप एक सय वटा ट्याक्सी सञ्चालन गर्ने तयारी गरिसकेको र त्यो खरिद प्रक्रिया अन्तिम चरणमा पुगिसकेको कम्पनीले जनाएको छ । ईड्राइभको अभियानमा नेपालमा रहेका अन्य इलेक्ट्रिक सवारी साधनहरू पनि क्रमशः जोडिंदै जाने कम्पनीले जनाएको छ ।
ईड्राइभ नेपालका अध्यक्ष राजेश मास्केले भने,‘सेवाग्राहीहरू सुविधा सहित सुरक्षित रूपमा गन्तव्यमा पु¥याउनु ईड्राइभ नेपालको उद्देश्य हो। साथै नेपालमा रोजगारीको नयाँ अवसर, इलेक्ट्रिक सेवाको उच्च प्रयोग, वातावरण संरक्षण, थुप्रै धनराशि बिदेसिनबाट जोगाउनु ईड्राइभ नेपालको अभियान हुनेछ ।’ ईड्राइभ सेवामा वान टाइम पासवर्ड (ओटिपी) प्रणालीको प्रयोग गरिएको छ ।
जसले सेवाग्राही र चालक बिच पासवर्ड मेल भएपछि मात्र सेवा प्रयोग हुनेछ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले नेपालमा पेट्रोलियम पदार्थको प्रयोग भएका ट्याक्सीहरुलाई विस्थापित गर्दै ईट्याक्सीलाई सरकारले वढावा दिनुपर्ने बताए ।
नेपालमा १०० गाडी भित्रिँदा ७० वटा गाडी विद्युतिय हुनु खुशीको विषय रहेको भन्दै कार्यकारी निर्देशक घिसिङले पेट्रोल ट्याक्सीलाई विद्युतिय ट्याक्सीमा परिणत गर्न सरकारले सुविधा थप्नुपर्ने सुझाव पनि दिए । पुर्णत विद्युतबाट चल्ने यी सवारी साधनले ग्राहकलाई आरामदायी सेवा सुविधा सहित गन्तब्यमा पुर्याउनेमात्र नभई बिद्युतको खपत, पेट्रोलियम पदार्थबाट बिदेसिने रकममा राज्यको बचत, इको फ्रेन्डली र वातावरण संरक्षणलाई समेत फाइदा पुग्ने कम्पनीका अध्यक्ष राजेश मास्केले बताए ।
यस बिषयमा तपाइको प्रतिक्रिया...!