खराब कर्जाले फाइनान्स कम्पनीहरू दबाबमा : सात दशमलव छ प्रतिशत खराब कर्जा

- November 10, 2023 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं, फाइनान्स कम्पनीहरूमा खराब कर्जाको अनुपात बढेको छ । अर्थतन्त्र चलायमान हुन नसक्दा फाइनान्स कम्पनीहरूको सावाब्याज असुलीमा समस्या देखिँदा खराब कर्जाको अनुपात बढेको हो । सञ्चालनमा रहेका १७ वटा फाइनान्स कम्पनीहरूमध्ये हालसम्म १४ वटाले चालू आर्थिक वर्षको पहिलो त्रैमासिककोे अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेका छन् । जसमध्ये झण्डै एक दर्जन फाइनान्सहरूको खराब कर्जा बढेको छ । वित्तीय विवरणअनुसार औसत खराब कर्जा बढेर झण्डै आठ प्रतिशत पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा यस्तो कर्जाको अनुपात छ दशमलव २३ प्रतिशत थियो ।

चालू आर्थिक वर्षको पहिलो त्रैमासमा पोखरा फाइनान्स, गुडविल फाइनान्स, बेस्ट फाइनान्स, आईसीएफसी, प्रोग्रेसिभ फाइनान्स, मञ्जुश्री फाइनान्स, गोर्खाज फाइनान्स, रिलायन्स फाइनान्स, जानकी फाइनान्स, सेन्ट्रल फाइनान्स र गुह्ेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सको खराब कर्जा बढेको छ । यस अवधिमा श्री इन्भेष्टमेन्ट एन्ड फाइनान्स कम्पनी, नेपाल फाइनान्स र समृद्धि फाइनान्सको खराब कर्जा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ । चालू आर्थिक वर्षको पहिलो त्रैमासमा सबैभन्दा बढी खराब कर्जा जानकी फाइनान्सको देखिएको छ भने सबैभन्दा कम श्री इन्भेष्टमेन्टको छ । जानकीको खराब कर्जा १७ दशमलव छ प्रतिशत छ भने श्री इन्भेष्टमेन्टको एक दशमलव दुई प्रतिशत देखिएको छ ।

गत आर्थिक वर्षको सोही अवधिमा यी कम्पनीहरूको खराक कर्जा क्रमशः १० दशमलव शून्य दुई प्रतिशत र एक दशमलव ४२ प्रतिशत थियो । प्रोग्रेसिभ फाइनान्सको पनि खराब कर्जा बढेर १२ दशमलव ४५ प्रतिशत पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा उक्त फाइनान्सको खराब कर्जा चार दशमलव २२ प्रतिशत थियो । चालू आर्थिक वर्षको पहिलो त्रैमासमा नेपाल फाइनान्सको खराब कर्जा ११ दशमलव ७५ प्रतिशत देखिएको छ । गोर्खाज फाइनान्सको नौ दशमलव ८९ प्रतिशत कर्जा खराब छ । गत आर्थिक वर्षको सोही अवधिमा यी दुई फाइनान्सको खराब कर्जा ४१ दशमलव ११ प्रतिशत र सात दशमलव ४२ प्रतिशत थियो ।

सेन्ट्रल र बेस्ट फाइनान्सको खराब कर्जा क्रमशः सात दशमलव ४३ प्रतिशत र पाँच दशमलव ५९ प्रतिशत छ । गत आर्थिक वर्षको सोही अवधिमा यी दुई फाइनान्सको खराब कर्जा अनुपात दुई दशमलव ५६ प्रतिशत र चार दशमलव ४० प्रतिशत थियो । रिलायन्स, गुह्ेश्वरी, समृद्धि र पोखरा फाइनान्समा चालू आर्थिक वर्षको पहिलो त्रैमासमा क्रमशः चार दशमलव ९६, चार दशमलव ८२, चार दशमलव ७९ र चार दशमलव १३ प्रतिशत कर्जा खराब देखिएको छ । गत आर्थिक वर्षको सोही अवधिमा यी फाइनान्सहरूको यस्तो कर्जा क्रमशः तीन दशमलव ६७, दुई दशमलव ८१, छ दशमलव शुन्य एक र दुई दशमलव ६५ प्रतिशत थियो । अपरिष्कृत वित्तीय विवरणअनुसार गुडविल, आईसीएफसी र मञ्जुश्री फाइनान्समा चालू आर्थिक वर्षको पहिलो त्रैमासमा क्रमशः तीन दशमलव ९७, तीन दशमलव २३ र दुई दशमलव ८५ प्रतिशत कर्जा खराब देखिएको छ । गत आर्थिक वर्षको सोही अवधिमा यी फाइनान्सको खराब कर्जा क्रमशः दुई दशमलव १५, एक दशमलव ३१ र दुई दशमलव ४४ प्रतिशत थियो । (आर्थिक दैनिकबाट)


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!

 

 

तीव्र अपडेट