मधेस विश्वविद्यालयमा कानुन र जनप्रशासन विषयमा पठनपाठन

- November 9, 2023 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

वीरगञ्ज (पर्सा), मधेस विश्वविद्यालयले कानुन र जनप्रशासन सङ्कायमा भर्ना भएका विद्यार्थीका लागि अनुशिक्षण कक्षा सञ्चालन गरेको छ । स्थापना भएको पहिलो एक वर्षमै विश्वविद्यालयले आगामी मङ्सिर ११ गतेदेखि कानुन सङ्कायतर्फ बीएएलएलबी र जनप्रशासन सङ्कायको पठनपाठन सुरु गर्न लागेको छ । यसका लागि प्रवेश परीक्षामार्फत कानुन सङ्काय बीएएलएलबीमा भर्ना भएका एक सय १० र जनप्रशासन सङ्कायका ५५ विद्यार्थीका लागि विश्वविद्यालयले तीन दिने अनुशिक्षण कक्षा सञ्चालन गरेको हो । विश्वविद्यालयमै सञ्चालित अनुशिक्षण कक्षामा विश्वविद्यालयका उपकुलपति दीपक शाक्य, रजिष्ट्रार विजयकुमार यादवले विश्वविद्यालयको अवस्था र भावी कार्ययोजनाबारे प्रशिक्षण दिनुभयो । यस्तै पर्सा जिल्ला अदालतका न्यायाधीश रामप्रसाद शर्मा र जिल्ला सरकारी वकिल कार्यालय पर्साका सह न्यायाधिवक्ता रामकमुार थापाले कानुन तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय कानुनसम्बन्धी प्रशिक्षण दिनुभएको विश्वविद्यालयका रजिष्ट्रार यादवले जानकारी दिनुभयो ।

विद्यालयलाई सुष्मा श्रेष्ठ, वासुदेवलाल कर्ण र अरविन्द श्रेष्ठले विश्वविद्यालयको आचारण र विद्यालयले परिपालना गर्नुपर्ने विषयमा सहजीकरण गर्नुभयो भने शैक्षिक क्रियाकलाप तथा विश्वविद्यालयको अनुशासनसम्बन्धी विश्वविद्यालयका कानुन तथा जनप्रशासन सङ्कायका डीन डा मानबहादुर विश्वकर्माले सहजीकरण गर्नुभएको रजिष्ट्रार यादवले बताउनुभयो । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुन तथा सामाजिक न्यायसम्बन्धी अधिवक्ता विकास गुप्ताले सहजीकरण गर्नुभयो । पठनपाठनका लागि मधेस विश्वविद्यालयद्वारा गठित पाठ्यक्रम विकास समिति र काठमाडौँ विश्व विद्यालयको विज्ञ टोलीले तयार पारेको पाठ्यक्रम पारित भइसकेको छ । विश्वविद्यालयको तत्काल आफ्नो संरचना निर्माण भइनसकेकाले काठमाडौँ विश्व विद्यालयको समन्वयमा यी दुबै सङ्कायको पठनपाठन सुरु गर्ने तयारी गरेको छ । त्यससँगै विश्वविद्यालयले आवश्यक पूर्वाधार निर्माणको कार्यलाईसमेत अघि बढाएको छ ।

गत २०७९ वैशाख १४ गते मधेस प्रदेशसभाद्वारा मधेस विश्वविद्यालय ऐन २०७९ जारी भई २०७९ साल भदौ २२ गते स्थापना भएको सो विश्वविद्यालयले एक वर्षकै अवधिमा दुई वटा सङ्कायको पठनपाठन सुरु गर्न लागेको छ । विश्वविद्यालयले वीरगञ्जस्थित नेशनल ट्रेडिङको भवन भाडामा लिई कार्यालय सञ्चालन गर्दै आएको छ । पोलिटेक्निक, आईटि, व्यवस्थापन, पारामेडिकल, कृषि इञ्जिनियरिङ लगायतका प्राविधिक शिक्षाको माध्यमबाट मधेस प्रदेशलाई प्राविधिक शिक्षा हवको रुपमा विकास गर्ने उद्देश्यका साथ अघि बढ्ेको मधेस विश्वविद्यालयले जग्गा प्राप्तिसँगै आवश्यक भौतिक संरचनाका लागि डिपीआर तयारीमा जुटेको विश्वविद्यालयका उपकुलपति डा दीपक शाक्यले जानकारी दिनुभयो ।

मधेस विश्वविद्यालयले पर्साको बहुदरमाई नगरपालिका – २ मा ३५ बिघा र पोखरिया नगरपालिकामा १६ बिघा ऐलानी जग्गा प्राप्त गरेको भने पर्साको पकाहाँ मैनपुर गाउँपालिकास्थित सुरजाहा कट्टीमठ्ठ (राधाकृष्ण मन्दिर) को २७ बिघा जग्गा पाएको छ । बहुदरमाई नगरपालिका– २ मा प्राप्त भएको जग्गालाई सिमाङ्कन गरी पिलर जडान गरिएको भने पोखरीया नगरपालिकाको १६ बिघा जग्गाको स्वामित्व मधेस विश्वविद्यालयमा हस्तान्तरणका लागि वडा कार्यालयबाट सिफारिस भई अन्य प्रक्रियामा रहेको विश्वविद्यालयले जनाएको छ । मधेस विश्वविद्यालयले आफूलाई आवश्यक पर्ने विश्वविद्यालय सङ्गठन, शैक्षिक र प्रशासन नियमावली २०७९, शिक्षा, कर्मचारी सेवा नियमावली २०७९, आर्थिक प्रशासन नियमावली २०७९ बनाई पारित गरिसकेको छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!