काठमाडौं । काठमाडौं महानगरपालिकामा कमिशनका लागि कर्मचारीहरुले विना टेण्डर करोडौं रुपैयाँको सामानहरु कोटेशनको भरमा खरिद गरि ‘टुक्रे बिल’ बनाउँदै भुक्तानी गर्ने गरेको भेटिएको छ । करोडौको सामान गरिदमा पनि ‘पटके र टुक्रे बिल’ बनाउँदै कागजपत्र मिलाएको भरमा कमिशन अशुल्न कर्मचारीहरु तल्लिन रहँदै आएको बताइन्छ ।
काठमाडौं महानगरपालिका भित्र हरियाली प्रवद्र्धन गर्ने नगर प्रमुख बालेन्द्र साह (बालेन)को योजनामा यतिबेला महानगरका कर्मचारीहरु मिलेर ‘हिलो छ्याप्ने’ काम हुँदै आएको बताइएको छ । कामपाको उद्यान तथा हरियाली प्रवर्द्धन आयोजनाबाट धमाधम विरुवा रोप्ने काम त हुँदै आएको भएतापनि उक्त विरुवा खरिद गर्दा कोटेशनको भरमा मात्र खरिद गरेसंग महानगरका कर्मचारीहरु कमिशनमा लिप्त रहेको खुलासा भएको हो ।
काठमाडौ महानगरपालिकाको उद्यान तथा हरियाली प्रवर्द्धन आयोजनाले गर्दै आएको हरियाली प्रवद्र्धन कार्यक्रमका लागि एक लाख विरुवा खरिद गर्दै आएको छ । खरिद गर्दा २ सयदेखि २ हजारसम्म पर्ने उक्त विरुवा खरिदमा सरदर महानगरपालिकाको दश करोड रुपैयाँ खर्च हुने भएको छ । तर, १० लाख भन्दा माथिको सामाग्री खरिद गर्दा टेण्डर आव्हान गर्नुपर्ने प्रावधान हुँदा हुँदैपनि महानगरले कोटेशनको भरमा १० करोडका विरुदा खरिद गरेसंगै महानगरमा हुने ‘कमिशनको खेल’ बाहिर आएको हो ।
महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत बसन्त अधिकारीको मिलेमतोमा १० देखि २० प्रतिशतसम्म कमिशन अशुल्दै, विरुवा खरिद गर्दा कोटेशनका कागजात मिलाएर ‘टुक्रे बिल’ बनाउन लगाई पास गर्ने गरेको बताइएको छ । महानगरलाई आवश्यक पर्ने समाग्रीहरु सप्लाई गर्दै आएका सुदर्शन बन्जरा, युगल यादवलगायतका फर्मबाट सामान खरिद गर्दा ‘काटेशन’का भरमा खरिद गर्ने गरेको महानगरस्रोतले उल्लेख गरेको छ ।
स्रोत प्रतिपश्न गर्दै अगाडि भन्छ, ‘हालै खरिद गरिएको विरुवा, नगर प्रहरीका सामान, वातावरणका सामान, एसी लगायतका सामाग्री खरिदमा ‘मोटो रकम’ कमिशन लिँदै विना टेण्डर कोटेशनको कागजात मिलाएको भरमा करोडौंको सामानहरु खरिदको ‘टुक्रे बिल’ बनाएर बिल पास हुन्छ भने यसमा प्रमुख प्रशासकिय अधिकारीको मिलेमतो रहेको प्रष्ट हुँदैन र ?’ साथै टेण्डर आव्हान गर्दा आफ्नो मिलेमतो रहने कम्पनी बाहिरका कम्पनी छिर्ने भएकोले पनि आफ्नो मातहतका सप्लायर्सहरुलाई ‘सेटिङ मिलाएर’ अवैध रकम अशुलीमा अधिकारी सक्रिय रहेको नाम उल्लेख गर्न नचाहने एक कर्मचारीले आरोप लगाए ।
पछिल्लो समय महानगरपालिकाले विभागिय कर्मचारीहरुको हेरफेर गरेसंगै महानगरपालिकाभित्र हुने गरेका कमिशनतन्त्रको ‘राज’ छताछुल्ल भएको हो । महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत बसन्त अधिकारीले अवैध कमिशन असुल्न आफ्नो लाइनको कर्मचारीहरुलाई सेटिङ गर्दै विभागिय प्रमुखहरुको हेरफेर गरेसंगै महानगरपालिका भित्र ‘मौलाएको कमिशनतन्त्र’ले प्राथमिकता पाएको महानगरस्रोतले दावी गरेको छ ।
‘१० लाख भन्दा माथिका खरिदमा टेण्डर आव्हान गर्नुपर्ने प्रावधान हुँदाहुँदै पनि करोडौंको सामान खरिदमा पनि ‘टुक्रे बिल’ बनाउँदै पास गर्दै कमिशन अशुल्न सक्रिय कर्मचारीहरुको यहि कृयाकलापले नै उनीहरु कमिशनमा लिप्त रहेको पुष्टि मिल्छ’ – स्रोत भन्छ । अवैध कमिशनमा लिप्त महानगरका कर्मचारीहरुको यो ‘राज’ बहिर ल्याउन खोज्ने जो कोहीलाई पनि कारवाही गर्ने, अख्तियारमा मुद्दा हाल्ने जस्ता धम्कीहरु प्रमुख अधिकृत अधिकारीले दिने गरेको दावी महानगरका एक कर्मचारीको छ । ।
यस्तै महानगरका भ्रष्टाचारको ‘फेहरिष्ता’ बाहिर ल्याउन खोज्ने सुरक्षाकर्मी लोकनाथ चुडाललाई निलम्बन गर्नुले पनि त्यहाँ भित्रको कमिशनतन्त्रको ‘राज’ लुकाउन महानगरका केही भ्रष्ट कर्मचारीहरुको समूह सक्रिय भएको समेत बताइएको छ । महानगर प्रमुख बालेन्द्र साह त्यहाँ हुने कमिशनतन्त्रबाट अनभिङ्ग रहेको समेत स्रोतले उल्लेख गरेको छ । यसै विषयमा प्रतिकृयाको लागि प्रमुख कार्यकारी अधिकृत अधिकारीको कार्यकक्षमा जान खोज्दा उनका स्वकीय कक्षबाट भेट्न दिइएन ।
यस बिषयमा तपाइको प्रतिक्रिया...!