गाडी किन्नमात्रै एक खर्ब ५९ अर्ब कर्जा प्रवाह

- September 14, 2023 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं, अहिले सवारीसाधनहरूको कुम्भ मेला अर्थात् ‘अटो सो’ चलिरहेको छ ।

विगतमा कोभिड–१९ महामारी र अन्य विभिन्न कारणले गर्दा रोकिएको ‘नाडा अटो सो’ चार वर्षपछि (भदौ २६ देखि ३१ गतेसम्म) काठमाडौंमा भइरहेको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले उक्त नाडा अटो सोको उद्घाटन गरेका हुन् ।

विगतमा कोरोना महामारी, विदेशी मुद्रा सञ्चितिलगायतका कारण देखाउँदै राष्ट्र बैंकले सवारीसाधन कर्जामा गरेको कडाइका कारण यो क्षेत्र सुस्त रहेको थियो ।

तर, पछिल्लो समय अर्थतन्त्र अलिक सहज अवस्थामा रहेको र राष्ट्र बैंकले ‘हायर पर्चेज लोन’लाई खुकुलो गरेपछि यो क्षेत्र पुनः चलायमान हुने अपेक्षासहित नाडा अटो सो सुरु भएको हो ।

यो सोले सवारीसाधनको खस्किएको व्यापारलाई केही हदसम्म उठाउने र अर्थतन्त्रलाई थप गतिशील बनाउने अपेक्षा अटो व्यवसायी र बैंकरहरूले गरेका छन् । त्यसैले पनि नाडा अटो सोमा अटो व्यवयासीसहित बैंक र बीमा कम्पनीहरूले सहभागिता जनाएका छन् ।

बैंकहरूले विशेषगरी ‘हायर पर्चेज’ अर्थात् ‘अटोलोन’का विभिन्न ‘स्किम’हरू सार्वजनिक गरेका छन् । यसको एउटै उद्देश्य अटो क्षेत्रमार्फत सिंगो मुलुकको अर्थतन्त्रलाई गतिशील बनाउने भन्ने छ ।

तर, अटो क्षेत्र सुस्त रहेको भनिए पनि बैंक तथा वित्तीय संस्थाले गएको एक वर्षमा सवारीसाधन शीर्षकमा एक खर्ब ५९ अर्ब २१ करोड ६० लाख रूपैयाँ कर्जा दिएको देखिएको छ ।

राष्ट्र बैंकका अनुसार सञ्चालनमा रहेका ५४ वटा बैंक तथा वित्तीय संस्थाले आर्थिक वर्ष २०७९/८० मा सो कर्जा प्रदान गरेका हुन् । यो कर्जा अघिल्लो आर्थिक वर्षको तुलनामा दुई अर्ब पाँच करोड ४० लाख रूपैयाँले बढी हो ।

अघिल्लो आर्थिक वर्षमा बैंक तथा वित्तीय संस्थाले हायर पर्चेज शीर्षकमा एक खर्ब ५७ अर्ब १६ करोड रूपैयाँ कर्जा प्रवाह गरेका थिए । आर्थिक वर्ष २०७९/८० मा वाणिज्य बैंकहरूले मात्र हायर पर्चेज क्षेत्रमा एक खर्ब ३८ अर्ब २६ करोड २० लाख रूपैयाँ कर्जा प्रवाह गरेका छन् ।

यो कर्जा अघिल्लो आर्थिक वर्षको तुलनामा छ अर्ब ९२ करोड २० लाख रूपैयाँले बढी हो । अघिल्लो आर्थिक वर्षमा वाणिज्य बैंकहरूले हायर पर्चेज क्षेत्रमा एक खर्ब ३१ अर्ब ३४ करोड रूपैयाँ कर्जा प्रवाह गरेका थिए ।

विकास बैंकहरूले भने पछिल्लो अवधिमा हायर पर्चेज क्षेत्रमा १७ अर्ब ३५ करोड २० लाख रूपैयाँ कर्जा प्रवाह गरेका छन् ।

यो कर्जा अघिल्लो आर्थिक वर्षको तुलनामा चार अर्ब ४६ करोड २० लाख रूपैयाँले कम हो । अघिल्लो आर्थिक वर्षमा विकास बैंकहरूको यस्तो कर्जा रकम २१ अर्ब ८१ करोड ४० लाख रूपैयाँ थियो ।

राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७९/८० मा फाइनान्स कम्पनीहरूले भने हायर पर्चेज क्षेत्रमा तीन अर्ब ६० करोड २० लाख रूपैयाँ कर्जा प्रवाह गरेका छन् ।

यो कर्जा अघिल्लो आर्थिक वर्षको तुलनामा ४० करोड ७० लाख रूपैयाँले कम हो । राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७८/०७९ मा फाइनान्स कम्पनीहरूले हायर पर्चेज शीर्षकमा चार अर्ब ७० लाख रूपैयाँ कर्जा प्रवाह गरेका थिए । (आर्थिक दैनिकबाट)


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!