नवीन पुनले विश्वव्यापी रूपमा एक हजार वटा म्याराथन गर्दै

- September 10, 2023 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं, ‘माटो जोगाऊँ’ अभियान लिएर नेपालका सातवटै प्रदेशमा ३५ सय किलोमिटर दौडसहित सचेतनामूलक कार्यक्रम सञ्चालन गरेका नवीन पुनले विश्वव्यापी रूपमा एक हजार वटा म्याराथन गर्ने भएका छन् । आज (आईतबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनमार्फत उक्त अभियानको जानकारी गराइएको हो ।

पृथ्वीको बिग्रिँदै गरेको वातावरण र पर्यावरण बचाउन र मान्छेले मान्छेका अधिकार प्राप्त गर्नका लागि विश्वभरी घच्घचाउन अभियान सुरु हुन लागेको बताईको छ । कार्यक्रमको नाम ‘सेभ द अर्थ एण्ड ह्युमानिटी’ राखिएको छ ।

विश्वभरका एक सय ५० भन्दा बढि देशमा म्याराथन सञ्चालन हुने बताइएको छ । कार्यक्रम आगामी असोज १ गतेदेखि सगरमाथा आधार शिविरबाट सुरु हुनेछ । पहिलो चरणमा सगरमाथ आधार शिविरबाट पृथ्वीको सबैभन्दा होचो स्थान मृत सागरसम्म हुने बताइएको छ । उक्त अवधिमा ६० वटा म्याराथुन हुनेछन् ।

धावक पुनले विश्वभर ४२ हजार एक सय ९५ किलोमिटर दौडिएर यो अभियानलाई सफल बनाउने बताइएको छ । कुनै पनि दौड म्याराथन हुनलाई यसको दूरी कम्तिमा पनि ४२.१९५ किलोमिटर हुनु पर्ने मापदण्ड रहेको छ ।

उक्त मापदण्डको आधारमा उनले एक हजार वटा म्याराथन गर्ने भएका हुन् । पहिलो चरणको अभियान नेपाल, भारत, पाकिस्तान, अफ्गानिस्थान, इरान, इराक र जोर्डन पुगेर समाप्त हुने बताइएको छ । एक हजार वटा म्याराथुनका लागि साढे तीन वर्षको समयावधि छुट्याइएको धावक पुनले बताए ।

म्याराथुन दोस्रो चरणमा युरोपमा, तेस्रो अफ्रिका, चौथो अमेरिका र पाँचौं चरणमा अष्ट्रेलियामा हुने बताइएको छ । एक हजार वटा म्याराथुन आफैंमा च्यालेन्जिङ रहेको पुनले बताए । म्याराथुनका क्रममा सम्बन्धित सरोकारवालाहरुसँग छलफल र सचेतनामूलक कार्यक्रम गरिने उनले बताए ।

‘पृथ्वी र मानवता जोगाउन हामीले सँगसँगै सचेतनामूलक कार्यक्रम गर्छौं । ध्यानाकार्षण कार्यक्रम गर्छौं । पृथ्वी र मानवता सम्बन्धी संकटहरु आइरहेका छन् । त्यसको बारेमा जानकारी गराउँदै हिड्छौं,’– पुनले भने ।

म्याराथुनले सबै देशलाई पृथ्वी र मानवता बचाउनका लागि पोलिसी निर्माणमा सहयोग पुर्याउने उनले बताए । यो अभियान सबै मानिस र देशको साझा सवाल भएको उनले बताए । रन टू सेभ स्वेल नेपाल वेबसाईड, सेभ अर्थ एण्ड ह्युमानिटी फेसबुक पेजमार्फत अभियानमा जोडिन र अभियानबारे धेरै कुरा थाहा पाउन सकिने उनले बताए ।

अभियान्त ज्ञानु आचार्यले पुन विश्वमा वायु प्रदुशन बढेको, माटोमा रहेको प्राङ्गारिक तत्व नष्ट हुँदै गएको, तापमान बढेर समस्या भएको, हिउँ पग्लेर हिमालहरु काला पहाड बनेको, जीवजन्तु र मानवको बासस्थान असुरक्षित भएको प्रति चिन्तिर रहेका बताईन् । यस्ता समस्याको समाधान मान्छेले नै गर्नपर्ने पुनको बुझाइ रहेको आचार्यको भनाई छ ।

विश्वव्यापी अभियानमा पुनले सबै देशका शासक र नीति निर्माताहरुलाई मानवता र पृथ्वीको पर्यावरणमैत्री बन्न अनुरोध गर्दै अभियान सञ्चालन गर्न लागेको उनको भनाई छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!