खाली हुँदै कुरुप राजधानी : नगर प्रमुखहरु ‘स्टण्ट बाजी’मा मात्र केन्द्रित

- September 10, 2023 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

-रुषा थापा
काठमाडौं उपत्यकाभित्र तथा बाहिरका सदरमुकामहरुमा बाटोकै छेउमा घरमा जोडेर पेट्रोल पम्प सञ्चालन गरिएको छ । बाटोकै छेउछाउमा वर्क सप, पार्टी प्यालेन्स, हाडवेयर पसल, कबाडी गोदाम, ड्राइभिङ सेन्टरहरु सञ्चालनमा छन् । यस्ता व्यवसायहरु बाटोकै छेउमा सञ्चालन गर्दा दिँदा एकातिर सहर कुरुप भएको छ, अर्कातिर दुर्घटना बढिरहेको छ ।
यता, पैदलयात्रीहरुलाई उत्तिकै सास्ती भएको छ । फुटपाथमा सामान राख्नेदेखि मोटरसाइकल, गाडीसम्मै पार्किङ गरेर राखिएको हुन्छ । काठमाडौंलाई मुलुकको राजधानी भनेर चिनिन्छ । तर, यहाँको हावापानी, प्रदूषण, घनाबस्तीका कारण मानिसहरु अहिले काठमाडौं बस्न रुचाउँदैनन् ।
भक्तपुर, ललितपुर र काठमाडौंका नगर प्रमुखहरु पनि बाटोको छेउछाउमा व्यापारव्यवसाय गर्नेको दर्ता खारेज गर्दैनन् । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनको दुई कार्यकाल हुन लागिसकेको छ । उनी जनता र राष्ट्रको हितमा काम गर्दैनन् । तर, मिडियाबाजी गर्नु गर्छन् ।
मेयरजस्तै ललितपुरको महानगरीय प्रहरी बलका प्रमुख सीताराम ह्याछ्यु पनि काम केही गर्दैनन् । तर, प्रचारप्रसार चाहिनेभन्दा बढी गर्छन् । भक्तपुरमा चार वटा नगरपालिका छन् र तिनमा चार वटै नगर प्रमुख छन् । उनीहरु सार्वजनिक जग्गाको खोजतलास गर्दैनन्, फुटपाथ व्यवस्थित बनाउँदैनन् तर कहाँबाट कमिशन आउँछ भनेर खुब चासोका साथ बस्छन् ।
भक्तपुरका नगर प्रहरीहरु ११ बजे मोटरसाइकलमा कार्यालय आउँछन् । अनि २ बजे घरतिर दौडिन्छन् । फुटपाथ हटाउन, सार्वजनिक जग्गाको सुरक्षा गर्नतर्फ उनीहरुको चासो छैनन । भक्तपुर र ललितपुरका नगर प्रहरीको काम भनेकै मेयर, उपमेयरलाई उफ्रिउफ्रि सलाम ठोकेर जनताले तिरेको करबाट तलबभत्ता खाने हो ।
काठमाडौंमा पनि अहिले नगर प्रहरीहरुको संख्या कम भएर हो कि बाटोको छेउछाउमा व्यापारव्यवसाय गर्नेहरुलाई कारबाही गरिएको छैन । बाटोकै छेउमा कतिपय सरकारी तथा निजी विद्यालयहरु सञ्चालन भएका छन् । यसले गर्दा दुर्घटना बढिरहेका छन् ।
सहर भनेको व्यवस्थित, सुन्दर, सफा हुनुपर्छ । तर, देशकै राजधानी मानिने काठमाडौंमा अहिले नाक छोपेर हिँड्नुपर्छ । जताततै फोहोरको डङ्गुर मात्र भेटिन्छ । काठमाडौंबासी तथा बाहिरबाट आएका मानिसहरु खाना खाने समयमा मात्र मास्क खोल्छन् । प्रदूषण, फोहोर वा हावापानी दूषित भएका कारण उनीहरु २४ सै घण्टा मास्क लगाउन बाध्य छन् ।
उपत्यकाभित्रका सडकहरुमा जताततै तारहरु लत्र्रिएको अवस्थामा रहेको पाइन्छ । कुन बेला त्यो तारमा परेर मानिसको ज्यान जान्छ भनेर ठेगान छैन । यता, घरधनीहरु आफ्नो घरको छतको पानी बाटोमा फ्रयाल्छन् । सडकमा हिडिरहेका मानिसहरु घरको छतबाट पानी झर्दा झिज्ने गरेका छन् ।
त्यस्तै, घनाबस्तीमा ग्याँसको डिम्पो सञ्चालन भएका छन् । उता, घर भाडामा ल्याएको छ भने त्यो घरभरि पनि ग्याँसको सिलिन्डर नै राखिएको हुन्छ । जसले गर्दा कुन बेला ग्याँस पड्किएर आगो लाग्छ र ठूलो धनजनको क्षति जान्छ भनेर ठेगान छैन । काठमाडौं उपत्यकाभित्र खुल्ला ठाउँ भेटिदैँन ।
बूढाबुढीहरुले बस्नका लागि सार्वजनिक स्थल भेट्दैँनन् । उपत्यकाभित्र एक आनादेखि तीन आना जग्गामा घर निर्माण भएको पाइन्छ । सबै घर जोडिएर बनेको छ । जसले गर्दा एउटा घरमा आगो लागेमा अन्य घरमा समेत क्षति पुग्छ । अहिले मानिसहरु उपत्यकाभित्र घर बनाउन त के बस्न समेत चाहदैँनन् ।
उनीहरु उपत्यकाबाहिरका ठाउँमा घर, जग्गा किन्न रुचाउँछन् । राजधानीमा हरियाली छैन । रुखहरु सबै काटिसकेका छन् । पानीको मुहान पनि कतै छैनन् । आकाशबाट पानी पर्दा घरहरु डुबानमा पर्छन् । किनकि पानीका मुहानहरु सबै मासिसकेका छन् ।
अहिले बाहिरी जिल्लाका मानिसहरु आफन्त भेटघाट गर्न, उपचार गर्न तथा घुमफिरका लागि काठमाडौं आएमा दुई दिनभन्दा बढी बस्न सक्दैँनन् । उनीहरु यहाँको फोहोर, दूषित हावापानी, प्रदूषण सहन सक्दैँनन् । पछिल्लो समय बाहिरी जिल्लामा जग्गाको कारोबार बढिरहेको छ । तर, राजधानीमा घरजग्गाको मूल्य घटिरहेको छ ।
जो व्यक्तिले बाटोको छेउछाउमा घर बनाएको छ, ऊ घर बेच्नका लागि भौतारिरहेको छ । यता, सार्वजनिक यातायातमा सिण्डिकेट कायमै रहँदा निजी प्लेटका सवारीसाधन थपिने क्रम बढ्दो छ । अहिले निजी प्लेटका सवारीसाधन धेरै हुँदा सहर अस्तव्यस्त भएको छ । ट्राफिक जाम थेगिनसक्नु छ । दुर्घटना पनि उत्तिकै बढेको छ ।
सरकारले बाटो बढाउनका लागि प्रत्येक वर्ष ऐन, कानून संशोधन गर्छ । यसले गर्दा जो व्यक्तिले बाटोको छेउछाउमा एक÷दुई आनामा घर बनाएको छ, उसको घर जोखिममा पर्छ । अहिले बाँठा मान्छेहरु राजधानीमा तीन÷चार आनामा बनेका घर किन्दैनन् ।
स्थानीय निकायहरुले अहिले पैसा खाएर एक आनादेखि तीन आना जग्गामा समेत घर बनाउनका लागि नक्सा पास गरिरहेका छन् । घर घरसँग जोडिएको हुन्छ । कतै खुल्ला ठाउँ भेटिदैँन । घर वरपर बोटबिरुवा रोप्ने ठाउँ हुदैँन । काठमाडौं उपत्यकाका घरधनीहरुले महंगोमा घर, कोठा, फ्रल्याट, सटर भाडामा लगाएर ठग्दै आएका थिए ।
तर, अहिले उनीहरुको ठगीधन्दा सुस्ताएको छ । मानिसहरुले धमाधम घर, कोठा, सटर, फ्रल्याट खाली गर्न थालेपछि घरधनीहरुको ठगीधन्दा पनि रोकिएको हो । आम सर्वसाधारणले उपत्यकाभित्र बस्न तथा घरजग्गा किन्न निकै जोखिमपूर्ण रहेको भनेर थाहा पाइसकेका छन् । अहिले मानिसहरु शान्त, खुल्ला र स्वच्छ ठाउँमा बस्न खोज्छन् ।
उपत्यकाभित्र मानिसहरुको चाप घट्दो छ । सटर, कोठा, फ्रल्याटहरु खाली हुने क्रम बढ्दो छ । महंगी, बेरोजगारी, प्रदूषण, ट्राफिक जाम, अशान्तिजस्ता विभिन्न कारणले गर्दा अहिले उपत्यकाभित्र मानिसहरु बस्दैनन् । तर, प्रदूषण कम गर्नका लागि यहाँका मेयरहरुले न इट्टाभट्टा हटाएका छन् न बिस वर्ष पुराना सवारीसाधनहरु हटाएका छन् ।
राजधानीका मेयरहरु कुनै सिंहदरबार जलाइदिने धम्की दिन्छन् त कुनै जग्गा प्लनिङ गरेर कमिशन खानमै व्यस्त छन् । राजधानीका जनता अन्य जिल्लाका जनताभन्दा शिक्षित छन् । बुद्धिजीवी छन् । तर, उनीहरुले मतदान गरेर चुनिएका जनप्रतिनिधिहरु भने यस्ता छन् । सहर सुन्दर, स्वच्छ, सफा र व्यवस्थित बनाउनका लागि यी मेयरहरुसँग भिजन छैन ।
काम गर्ने क्षमता नभएका मेयरहरु कालो सिसा भएको सरकारी गाडी चढेर मात्र हिडँ्छन् । मुलुकको राजधानी सफा, स्वच्छ, व्यवस्थित बनाउनुपर्छ भन्ने चेतना उनीहरुमा छैन । ललितपुरका मेयर काम गर्दैनन् अनि हप्तैपिच्छे पत्रकार सम्मेलन गरेर चर्चामा आउँछन् त काठमाडौंका मेयर फेसबुकमा स्टास लेखेर चर्चामा आउँछन् ।
यता, भक्तपुरका मेयरहरु जग्गा दलाल गरेर कमिशन खानमै व्यस्त छन् । यसरी जनप्रतिनिधिहरु नै आआफ्नो स्वार्थमा लाग्दा आज सहरको यो हालत भएको छ । राज्यको ढुकुटीमा राजस्व संकलन भएको छैन त राज्यको सम्पत्तिको दुरुपयोग गर्ने क्रम पनि बढ्दो छ । पहिलापहिला मधेशमा मात्र गर्मी हुने गथ्र्यो ।
तर, अहिले उपत्यकाभित्र गर्मीका कारण बस्न सकिदैँन । सवारीसाधनको प्रदूषण, जताततै फोहोर डङ्गुरका कारण अहिले काठमाडौं उपत्यकाभित्र गर्मी बढिरहेको छ । उपत्यकाभित्रका घरधनीहरु अहिले आफ्नो घर बेचेर फराकिलो जिल्लामा जान चाहन्छन् । तर, घर किन्ने कोही छैन ।
मुलुकभरका जनताहरु शिक्षा, स्वास्थ्य, रोजगारलगायत विभिन्न सेवासुविधाको खोजीमा काठमाडौं छिरे । जसले गर्दा यहाँ घरजग्गाको मूल्य कीर्तिमान पुग्यो । तर, यहाँको वातावरण, हावापानीबाट जब मानिसहरु परिचित हुन थाले, तब उनीहरुले उपत्यकाभित्र नबस्ने अठोट लिए ।
अहिले मानिसहरु शिक्षा, स्वास्थ्य, रोजगारका कारण मात्र काठमाडौंमा बस्न बाध्य भएका छन् । जोकोही उपत्यका छोडेर शान्त, स्वच्छ वातावरण भएको ठाउँमा बसाईसराई गर्न चाहन्छ । राजधानीमा २०७६ सालभन्दा अगाडि एउटा कोठा, सटर तथा फल्याट पाउन छ महिनादेखि एक वर्षसम्म लाग्थ्यो । तर, अहिले जताततै कोठा, सटर र फ्रल्याट खाली लेखिएको पोस्टर देखिन्छन् ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!