काठमाडौं । महाराजगन्जस्थित कान्ति बाल अस्पतालमा स्वास्थ्य सेवा बिभागमा कार्यरत उपसचिव भवनाथ खतिवडाको हालिमुहाली चल्दै आएको छ । उनले यसअघि अस्पतालको प्रशासन शाखामा रहेर काम गरिसकेकोले पनि उनको हालीमुहाली चल्दै आएको अस्पताल स्रोतले जानकारी दिएको छ ।
अस्पतालमा अहिले डा. युवानिधि बस्यौला कार्यकारी निर्देशक रहेका छन । तर, उनी नाम मात्रको कार्यकारी रहेको स्रोत बताउँछ । उनलाई मातहतका चिकित्सक, प्रशासन, लेखा र स्टोरका कर्मचारीहरूले खासै टेर्ने गरेका छैनन् । बरू अस्पतालबाट सरूवा भएर गएका र हाल स्वास्थ्य सेवा विभागमा कार्यरत खतिवडाको प्रत्यक्ष निर्देशनमा खरिदलगायतका काम हुँदै आएको समाचार स्रोतले दावी गरेको छ ।
अस्पतालमा कार्यरत चिकित्सक, अनमी र नर्सहरूको कार्यसम्पादन मूल्यांकन, नम्बर दिने काम उनै खतिवडाले गर्दै आएको बताइएको छ । विभागको महानिर्देशक विगत तीन वर्षदेखि दीपेन्द्र रमन सिंह रहेका छन । उनले नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र गरी तीनवटा सरकारसँग काम गर्ने मौका पाएका छन् ।
यसरी खुला रुपमा आफुखुशी विभिन्न अबैध कार्य गर्दै आएपनि स्वास्थ्य मन्त्रालय भने बेखबर झै बसेको छ । उता सो अबैधधन्दा गर्नमा स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतको टेबुलमा कमिशनको अबैध थैलि पुगेपछि मन्त्री बस्नेत समेत सो विषयमा चासो नदिई अबैधधन्दा चलाउने मौन सहमती दिएको आरोप समेत लागेको छ ।
तर, उनलाई कुनै सरकारले हटाउन सकेको छैन । शक्तिशाली महानिर्देशक सिंहलाई समेत निर्देशक खतिवडाले फनफनी घुमाउने हैसियत राख्दै आएका उनी आफैले सिंहलाई मैले टिकाइरहेको बताउदै आएका छन् । खतिवडाले कान्ति बाल अस्पतालका तत्कालीन कार्यकारी निर्देशक रहेका डा। अजित रायमाझीलाई यसैगरी प्रयोग गरेर राम्रै फाइदा उठाएको कर्मचारीहरु गुनासो गर्छन् ।
बर्तमान निर्देशक बस्यौलालाई पनि विभागबाटै उनले आफू अनुकूल संचालन गर्र्दै आएको अस्पतालका कर्मचारीहरु बताउँछन् । अस्पताल विकास समिति र नेपाल सरकारका निजामतीका स्थायी चिकित्सक, नर्स, अनमी र अन्य कर्मचारीका बीच एकआपसमा विभेद र मनमुटाव रहेको बताइन्छ ।
निजामतीका स्थायी कर्मचारीहरूलाई बढी सेवा सुविधा र भत्ता छ भने समितिका कर्मचारीहरूलाई कम सुविधा रहेको बताइएको छ । समितिका कर्मचारीहरूलाई नियमित भन्दा दैनिक छ घण्टा भन्दा बढी काममा लगाइने गरेको गुनासो बाहिर आएको छ । खतिवडाकै योजनामा प्रशासन शाखाको उपसचिव पदमा कुनै कर्मचारीलाई खटाइएको छैन ।
शाखा अधिकृतबाट काम गराउँदै आएका छन । उनको आदेश मनानेपछि प्रशासन प्रमुखलाई अन्यत्रै सरूवा गराएर दरबन्दी खाली राखिएको समाचारस्रोतले जानकारी दिएको छ । कान्ति बाल अस्पतालमा वर्षमा करोडांै मूल्यका विभिन्न स्वास्थ्य उपकरणहरु एक्सरे, भिडियो एक्सरे, अल्ट्रासाउन्ड, इसीजी मेशिन, ल्याव उपकरण र अन्य यन्त्र उपकरण तथा औषधि खरिद हुने गरेको छ । मर्मत सम्भारका कार्य पनि हुँदै आएका छन ।
साथै, स्टेशनरी, मसलन्द, पानी, सरसफाइका सामान, विषादी, बेड, कभर, डल्लबलगायतका सामग्री खरिद हुँदै आएको छ भन्दै साँखुले समाचार प्रकाशन गरेको छ । यी सामाग्रीको खरिदमा सप्लायर्स कम्पनीहरूसँग मिलेमतोमा टेण्डर नगरी टुक्र्याएर कोटेसनमा खरिद गरी बिस प्रतिशतसम्म कमिशन लिएर भुक्तानीमा अनियमितता हुँदै आएको स्रोत बताउछ । अस्पतालको स्टोरमा वर्षौंदेखि बस्दै आएका स्टोर किपर नासु सालिकराम नेपाल, शमसेर नेपाली, शिव प्याकुरेललगायतको टोलीले अनियमितता कार्य गरेर रमाइरहेका छन ।
उनीहरुले गरेको अनिमितताबिरुद्ध विभिन्न समयमा अख्तियार दुरुपयोग अनसन्धान आयोगमा उजुरी परे पनि उनीहरुले मुख बुझो लगाएर उम्किदै आएको अस्पताल स्रोतले बताएको छ । उनीहरुले वर्षौंदेखि यसरी नै अस्पतालको सरकारी बजेटमा रजगज गर्दै आएका छन् । उनीहरूको बदमासी र अनियमिततातिर आयोगको नजर नपरेकोमा इमान्दार कर्मचारीहरूले आश्चर्य प्रकट गरेका छन् ।
यस बिषयमा तपाइको प्रतिक्रिया...!