काठमाडौं। भूटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रकरणमा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, बालकृष्ण खाँणलगायतका १६ जना अदालतको आदेशमा छुटेपनि फेरि सम्पत्ति शुद्धीकरण विभागको आग्रहमा फेरी पक्राउ पर्ने संभावना बढेको छ । सरकारी वकिलको कार्यालयले बुधबार काठमाडौँ जिल्ला अदालतमा दायर गरेको मुद्दामा प्रतिवादीहरु छुटी जाने भएमा सम्बन्धित प्रहरी कार्यालयमा फिर्ता पठाइदिन अनुरोध गरिएकोले सम्पत्ति शुद्धीकरणमा पनि अर्को मुद्दा जाने जनाएको छ ।
उनीहरुविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा थप अनुसन्धानका लागि लेखि पठाउने निर्णय भएकाले पुनः पक्राउ गरेर प्रहरी कार्यालयमा फिर्ता पठाइदिन अभियोग पत्रमा उल्लेख गरिएको हो । यस्तै प्रतिवादीहरुको पासपोर्ट रोक्का राख्न पनि आग्रह गरिएको छ ।
यस्तै उनीहरूको सम्पत्ति रोक्काको प्रक्रिया पुरा गरेर अदालतमा जानकारी गराइने पनि अभियोजन पत्रमा उल्लेख छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला सरकारी वकिलको कार्यालयले ३० जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको छ । गजेन्द्र बुढाथोकीसहित नेपाल सरकार वादी भएको मुद्दामा केशव दुलाल, सागर राई, सन्देश शर्मा, टंक कुमार गुरुङ र इन्द्रजित राईलाई प्रतिवादी बनाइएको छ ।
यसै गरी टोपबहादुर रायमाझी, सन्दीप रायमाझी, नरेन्द्र केसी, गोविन्द कुमार चौधरी, बालकृष्ण खाँण, आङटावा शेर्पा, शमशेर मिया, टेकनाथ रिजाललाई प्रतिवादी बनाइएको छ । उनीहरू सबै प्रहरीको हिरासतमै रहेका छन् । यस्तै फरार रहेकाहरू लक्ष्मी महर्जन, अशोक पोखरेल, दीपा हुमागाईँ, निरज राई, राजेश अर्याल, मोहनराज राई, आशिष बुढाथोकी, बिनिता सावदेन लिम्बु, निरञ्जन कुमार खरेल, सुनील बुढाथोकी र प्रतीक थापा रहेका छन् । उनीहरूलाई पनि फरार आरोपीको रुपमा अभियोजन दर्ता गरिएको छ । (नेपाल बहसबाट)
प्रतिक्रिया