नेपालको कृषि प्रणाली किन कमजोर ?

- May 24, 2023 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

नेपाल कृषि प्रधान देशका रुपमा चिनिएपनि पछिल्लो समयमा कृषि उत्पादनहरु सोचेजति उत्पादन गर्न सकिरहेको अवस्था छैन । किन भने बाली, हावापानी र माटो अनुसारको खेतीपाती नभएका कारण नै उल्लेख्य रुपमा उत्पादन हुन नसकेको हो । बजारमा जुन खाद्य वस्तुको माग बढ्छ तेही बाली लगाउने तर हावापानीलाई ख्याल नगर्नुले पनि उत्पादनमा ह्रास आएको हो यही कारण प्रत्येक खाद्य बस्तुका लागि परनिर्भर हुनु पर्ने अवस्था सृजना भएको हो ।
कृषि विकास मन्त्रालयको तथ्यांकलाई हेर्ने हो भने पनि करीव ६५ प्रतिशत जनता कृषि पेशामा संलग्न भएको देखिन्छ । नेपाली युवापुस्ता कृषिमा संलग्नताको अवस्थाले के देखाउँछ भने मुलुकमा कृषि उत्पादनका लागि युवाहरुको भूमिका अत्यन्तै महत्वपूर्ण देखिन्छ । तर, खाँडी मुलुकमा रोजगार गरेर आएका युवाहरुले हावापानी र माटोको बारेमा विस्तृत अध्ययन नगरी बजारको तुलनालाई मात्र अध्ययन गरेर कृषि उत्पादनमा हात हाल्ने गरेकै कारण पछिल्लो समय कृषि उत्पादन खस्किएको हो ।
तर कृषिमा संलग्न युवापुस्ताहरुको भूमिकालाई राज्यले प्राथमिकतामा पार्न सकेको देखिदैन । कृषि उत्पादनमा मात्र युवाहरु संलग्न रहेका छैनन् । परम्परागत एवं निर्वामुखी रुपमा पशुपालन व्यवसाय पनि सञ्चालन गर्दै आईरहेका छन् । अझ पछिल्ला वर्षहरुलाई हेर्ने हो भने युवाहरु विदेश पलायनका कारण पनि कृषि उत्पादन कमी भएको हो । कृषकहरुलाई तालिम, मौसम अनुसारको खेतीपाती र विषादीलाई कसरी प्रयोग गर्ने भन्ने कुरामा जानकारी दिएर राज्य अगाडी बढ्नु पर्ने हो । यद्यपी कृषिमा संलग्न भएकाहरु पनि शहरमुखि हुन थालेका छन् । यसका कारण ग्रामिण भेगमा उर्वर जमीनहरु बाँझो खेतमा परिणत हुँदै गईरहेको पनि छ ।
ग्रामिण भेगमा सञ्चालनमा आएका र कृषकहरुद्धारा प्रवद्र्धन गरिएका कृषि सहकारीले पनि कृषि क्षेत्रको उत्पादकत्व बृद्धि गर्नका लागि वेग्लै किमिसले आफ्नो भूमिका निर्वाह गरेका छन् । युवा कृषक समूह होस् वा महिला कृषि सहकारीहरु नै किन नहुन् त्यसका माध्यमबाट मुुलुकमा कृषि उत्पादकत्व बृद्धि गर्नका लागि महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको तथ्य एकातिर छ । तथापि, कृषि उत्पादनलाई प्रभावकारी बनाउन राज्यबाट उल्लेखनिय भूमिका निर्वाह हुन सकेको छैन् ।
तर, पनि राज्य तहबाट कृषिका लागि ल्याईको विभिन्न कार्यक्रम कृषकमूखि हुन सकेको देखिँदैन । कृषि विकास मन्त्रालयले विगतमा वर्षहरुमा केही प्रयास गरेको जस्तो देखिएपनि ती कार्यक्रम ठूला एवं व्यवसायिक रुपमा गरेको देखिन्छ । कृषि उत्पादनमा प्रत्यक्ष संलग्न कृषकहरुलाई भन्दा पनि मध्यस्थकर्ता वा सिधा भन्ने हो भने विचौलियाहरुका लागि योजना तथा कार्यक्रमहरु तय भएका देखिन्छन् ।
कतिपय अनुदान हासिल गर्नका लागि कृषकहरुको नाम मात्र देखाएर कागजी प्रक्रिया मिलाउने काम मात्र गरेको पनि देखिन्छ । कृषि विकास मन्त्रालयद्धारा सञ्चालनमा आएका व्यवसायिक कृषि तथा व्यापार आयोजना, किसानका लागि उन्नत वीउ विजन कार्यक्रम, कृषि तथा खाद्य सुरक्षा आयोजना, उच्चमूल्य कृषि बस्तु विकास आयोजना, साना तथा मझौला कृषक जीविकोपार्जन आयोजना जस्ता धेरै आयोजनाहरु कृषकको लागि ल्याइएको भएतापनि कृषकमुखि भएको देखिंदैन ।
नेपाल सरकारले व्यवसायिक कृषिका नाममा कागजी प्रक्रियालाई मात्र प्राथमिकता दिएका कारण पनि वार्षिक रुपमा कृषि विकास मन्त्रालयले दिने गरेको करोडौंको अनुदान बालुवामा पानी बराबर नै देखिएको छ । सरकारले दिएको युवा लक्षित कार्यक्रम होस् वा साना साना कृषि फार्महरु नै किन नहुन दीर्घकालिन रुपमा नै सञ्चालन भईरहेकाहरु लक्षित कार्यक्रम ल्याउन सकिरहेको छैन् ।
तर पनि नेपालको कृषि क्षेत्रमा कृषकहरुको योगदानका जुन अनुमपातमा वृद्धि हनुपर्ने हो सो अनुपातमा बृद्धि हुन सकेको छैन् । त्यसकारण सरकारले कृषि उत्पादकत्व बृद्धि गर्ने योजनाहरु बनाउने हो भने त्यस्ता योजनाहरुमा कसरी कृषकहरुलाई बढी भन्दा बढी संलग्न गराउने भन्ने विषयमा गम्भिर भएर लाग्नु पर्ने अवस्थाको सृजना भएको छ ।
कृषि उपजहरुको उत्पादकत्व बृद्धि र व्यवस्थित बजारीकरणको अभियानमा अहिलेसम्म न त सरकार नत गैरसरकारी संस्था कोही पनि लाग्न सकेको देखिंदैन । उत्पादन बृद्धिको मात्र योजनामा सरकार छ । तर, बजारीकरणलाई व्यवस्थीत गर्ने र सिधै व्यपारी र कृषकबीच खरिद विक्रि हुँदा कृषि उपजले उचित मूल्य पाउने थिए, यस अहिलेसम्म पनि विचौलीयाको भरमा बजार चलिरहँदा कृषिकले उचित मुल्या पाउन नसक्दा पनि कृषकहरु यो पेसाबाट विस्तापित हुनु परेको कटु सत्यलाई पनि राज्यले ध्यान दिनु जरुरी भैसकेको छ । यसर्थ, नेपालको हावापानी, माटो, बनस्पती र मौसम अनुकुलको कृषि उत्पादनलाई बृद्धि गर्न र परनिर्भरताबाट आत्मनिभरतर्फ केन्द्रित गर्नका निम्ति अब राज्य गम्भिर हुन आवश्यक छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!