कृष्णप्रसाद लामिछाने
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्समा गम्भीर आर्थिक हिनामिना भएको पाइएको छ । संस्थामा हैकम चलाएका केही कर्मचारीको मिलेमतोमा भएको आर्थिक हिनामिनामा इन्स्योरेन्सका सीईओ प्रविण रमण पराजुलीको समेत अघोषित समर्थन रहेको गत मंगलबार नेपाल बीमा प्राधिकरणमा गरिएको उजुरीमा दाबी गरिएको छ ।
यसअघि पनि विभिन्न अनियमितताको खबर बाहिरिए पनि ढाकछोप हुँदै आएकोमा यस पटक भने छानबिन नै गर्न बीमा कम्पनीहरूको नियमनकारी निकाय नेपाल बीमा प्राधिकरणमा उजुरी परेपछि प्राधिकरणका कर्मचारीहरू तनाबमा देखिएका थिए । नेपाल लाइफले आफूलाई नम्बर एक कम्पनी भएको दाबी गर्दै आएको छ ।
प्राधिकरणमा दर्ता भएको उजुरीमा नेपाल लाइफ इन्स्योरेन्समा इन्स्योरेन्सकै उच्च तहका कर्मचारी डीजीएम उमापति पोखरेलको समेत मिलेमतोमा भएको आर्थिक हिनामिनामा उच्च तहका कर्मचारी जोगाउनकै लागि इन्स्योरेन्सले तल्लो तहका कर्मचारीलाई निकालेर ढाकछोप गरेको दाबी गरिएको छ ।
तत्कालीन प्रदेशप्रमुख रहेका प्रेमप्रसाद अर्याल आर्थिक अनियमितता गरेकाले सेवाबाट बर्खास्त गरेकोमा उनले सो रकम अनियमितता गरी नेसनल सेल्स हेडका रूपमा काम गरिरहेका उमापति पोखरेलसँग भाग लगाएको भए पनि कम्पनीले अर्याललाई मात्र कारबाही गरेको र अनियमितता भएको रकम मिलान गर्न अर्यालले रकम दिए पनि पोखरेलले नदिएर आर्थिक भार अर्याललाई मात्र पारिएको उजुरीमा भनिएको छ ।
साथै पोखरेलले जागिर बचाइदिन्छु भनी सम्पूर्ण भार बोक्न लगाएर पछि जागिरबाट नै निकालेकोले प्रेमप्रसाद अर्याल र उमापतिबीच भएको कारोबार के–कति हो छानबिन गर्न समेत उजुरीमा माग गरिएको छ । उजुरीमा प्रेमप्रसादले प्रयोग गरेका विभिन्न अवैधानिक एजेन्सी कोड, निजले विभिन्न बीमितको नामबाट अनधिकृतरूपमा निकालेको ऋण तथा समर्पणहरू र उमापतिको व्यक्तिगत खाताबाट उनी तथा उनको परिवारजनको खातामा रकम पठाएको भनी जानकारी प्राप्त भएकोले सो समेत छानबिन गरी उनलाई समेत कानुनी दायरामा ल्याउन माग गरिएको छ ।
हालै मात्र बीमितको रकम विभिन्न कर्मचारीहरू मिलेर ऋण तथा समर्पण, अवधि भुक्तानी र परिपक्वता भुक्तनीमा व्यापक अनियमितता भई नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले विभिन्न मितिमा विभिन्न कर्मचारीहरूलाई आर्थिक अनियमिता गरेको कारण सेवाबाट बर्खास्त समेत गरेकोले बर्खास्त गर्दा के–के कसुरमा कारबाही भएको, कारबाहीको प्रक्रिया कस्तो थियो र अनियमितताको बिगो कसरी असुल भयो वा भएन सोको सम्पूर्ण विवरण माग गरी सोको अध्ययन बीमा प्राधिकरणबाट हुन उजुरीमा माग गरिएको छ भन्दै आर्थिक दैनिकले समाचार प्रकाशन गरेको ।
यस्ता अनियमिततामा ठूला कर्मचारीको समेत संलग्न हुँदा उनीहरूलाई जोगाउनकै लागि लुकाउने गर्नाले साना तथा पहुँच नभएका कर्मचारीको प्रयोग हुने र ती कर्मचारी कारबाहीमा पर्ने तथा मतियारका रूपमा रहेका सीमित व्यक्तिहरूले उन्मुक्ति पाइरहने अवस्थाका कारण समस्त बीमा क्षेत्र नै तहसनहस हुने अवस्थाको सिर्जना हुनेभएकाले यस मामलालाई गम्भीररूपमा लिई यथाशक्य चाँडो आवश्यक कदम चाल्न पनि बीमा प्राधिकरणलाई उजुरीमा अनुरोध गरिएको छ ।
यसैबीच, नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा भएको आर्थिक अनियमितताको छानबिन गर्न माग गर्दै परेको उजुरी रोक्न नियमनकारी निकाय नेपाल बीमा प्राधिकरणकै उच्च तहका अधिकारीहरू लागेका छन् ।इन्स्योरेन्स कम्पनीहरूमा भए÷गरेका आर्थिक हिनामिनाको निष्पक्ष छानबिन गर्नुपर्ने दायित्व नियमनकारी निकाय नेपाल बीमा प्राधिकरणको भए पनि बीमा प्राधिकरणकै उच्च कर्मचारी भने इन्स्योरेन्सलाई कारबाही गर्नेभन्दा पनि अनियमितताका बारेमा आवाज उठाउनेहरूविरुद्ध सक्रिय हुनेगरेका छन् ।
यसले नियमनकारी निकायको भूमिका नै शंकास्पद देखिएको हो । बीमा कम्पनीहरूलाई नियमन गर्ने संस्थाको आडमा आफ्ना आसेपासेहरूलाई जागिर लगाउने थलो बनाएका बीमा प्राधिकरणका उच्च कर्मचारीहरू नै आम जनताको गुनासोलाई दबाउन लाग्नुले नेपालमा कस्तो विकृति छ भन्ने संकेत गर्छ ।
गत मंगलबार बीमा प्राधिकरणमा नेपाल लाइफ इन्स्योरेन्सले विभिन्न मितिमा आर्थिक हिनामिना भयो भन्दै आफूखुशी कर्मचारीहरू निकालेको र त्यसमा उच्च तहका कर्मचारीको समेत संलग्नता हुँदा उनीहरूको छानबिन नभएकोले त्यसको समेत छानबिन गरी के–कति आर्थिक हिनामिना भएको हो सो समेत छानबिन गर्न भन्दै परेको उजुरीमा बीमा प्राधिकरणका निर्देशक रहेका दिनेश कुमार लाल कर्णले उजुरीकर्तालाई नै उजुरी दर्ता गरेको भोलिपल्टै फोन गरेर मिल्न आग्रह गरेका थिए ।
आफ्नी श्रीमती र भाइलाई नेपाल लाइफ इन्स्योरेन्समा नै जागिर लगाएका कर्णले इन्स्योरेन्सका कर्मचारीले गर्नुपर्ने दायित्व गरेपछि उनी बीमा प्राधिकरणका कर्मचारी हुन् वा नेपाल लाइफ इन्स्योरेन्सका कर्मचारी हुन् भन्ने छुट्याउन नसकिने भएको छ । पछिल्लो समय नेपालका बीमा कम्पनीहरूलाई नियमनकारी निकाय रहेको बीमा प्राधिकरणका कर्मचारीहरूले आफ्ना मान्छे भर्ती गर्ने केन्द्रको रूपमा विकास गर्ने र त्यसमा बीमा कम्पनीहरूलाई सहयोगस्वरूप आम जनताले गर्ने गुनासाहरू, बीमा कम्पनीहरूमा भएको आर्थिक अनियमितता लुकाउने तथा ढाकछोप गर्ने गरिएको छ ।
प्राधिकरणका निर्देशक लालकर्णको पछिल्लो प्रयास त्यसैको एउटा उदाहरणको रूपमा रहेको उजुरीकर्ताको आरोप छ । आफ्नो भाइ तथा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका मेनेजर राजेश कर्ण तथा आफ्नी श्रीमतीलाई समेत जागिर लगाएपछि त्यसविरुद्ध प्राप्त भएको छानबिनको उजुरी दबाउनकै लागि मिलेर जानुपर्ने भन्दै उजुरीकर्तालाई नै धम्की दिएका थिए । प्राधिकरणमा परेको उजुरीमा नेपाल लाइफका डीजीएम समेत रहेका नेसनल सेल्स हेड उमापति पोखरेलले प्रेमप्रसाद अर्याललाई फसाएको समेत दाबी गरिएको छ ।
इन्स्योरेन्स कम्पनीमा यसअघि पनि आर्थिक हिनामिना गरेको अनुशासनमा काम नगरेको आरोप लगाउँदै गणेश आउजी, विकेश शाह तथा धिनप्रसाद अधिकारीलाई बर्खास्त गरिएको थियो । आर्थिक हिनामिना गरेको भन्दै बर्खास्ती गरेको इन्स्योरेन्सले क–कसले कहिले कति आर्थिक हिनामिना गरे भन्ने खुलाएको छैन ।
जनताको लगानी भएको पब्लिक कम्पनीले आफ्ना कर्मचारीहरूले कति आर्थिक हिनामिना गरे भन्ने नखुलाई बर्खास्त गर्नु र त्यसलाई बीमा प्राधिकरणका निर्देशकजस्तो व्यक्ति संलग्न भई छानबिन हुन नदिनु आफैँमा आम जनताको लागि अन्याय भएको उजुरीकर्ताले बताए ।
प्रतिक्रिया