नीति तथा कार्यक्रम सार्वजनिक (पूर्ण पाठ)

- May 20, 2023 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । शुक्रबार प्रतिनिधिसभाको बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आवको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । सरकारले अर्थतन्त्र सुधारलाई केन्द्रमा राखेर वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति पौडेलले अर्थतन्त्र सुधार गर्दै जाने लक्ष्य सरकारको रहेको बताए ।

उक्त नीति तथा कार्यक्रममा सरकारले ५० युनिटसम्म विद्युत खपत गर्ने उपभोक्तालाई निशुल्क विद्युत उपलब्ध गराउने भएको छ । यसका साथै आगामी दुई वर्ष भित्र सबैको घरमा विद्युत पुर्याउने समेत सरकारको घोषणा छ । वर्षायाममा मासिक ५० युनिट र हिउँदमा याममा मासिक ३० युनिटसम्म विद्युत खपत गर्ने उपभोक्तालाई निशुल्क विद्युत उपलब्ध गराइने बताए । खाना पकाउने ग्यासलाई विद्युतबाट चल्ने बनाइने समेत सरकारको घोषणा छ ।

सरकारले पूर्वतयारी भएका आयोजनालाई मात्र बजेट छुट्याउने भएको छ । राष्ट्रपति पौडेलले भने, ‘आगामी आर्थिक वर्षमा तयारीका सम्पूर्ण चरण पूरा भएका आयोजनामा मात्र बजेट विनियोजन गरिनेछ । राष्ट्रिय गौरव र रूपान्तरणकारी आयोजनाको कार्यान्वयनमा प्राथमिकता दिइनेछ । आयोजना वर्गीकरण निर्देशिक बमोजिम तीन तहमा सञ्चालन हुने आयोजनाको वर्गीकरण गरी बजेट व्यवस्था गरिने छ ।’

विकास आयोजनाहरूको अनुगमन तथा मूल्यांकनलाई नतिजामूलक बनाइने समेत नीति तथा कार्यक्रममा समावेश गरिएको छ । त्यस्तै, गरिबी परिचय पत्र वितरण दुई वर्षभित्र सम्पन्न गरिने समेत नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

आर्थिक प्रशासनलाई पारदर्शी, नतिजामुखी र सूचना प्रविधिमा आधारित बनाइने पनि नीति तथा कार्यक्रममा जनाइएको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयमार्फत सरकारी खरिद अनुगमन प्रक्रिया थप पारदर्शी र व्यवस्थित गरिने तथा सार्वजनिक खरिद अनुगमनसम्बन्धी कानुनी व्यवस्थामा संशोधन र परिमार्जन गर्ने पनि सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ । विद्युतीय खरिद प्रणालीलाई क्रमशः अनिवार्य बनाउँदै लग्ने सरकारको योजना छ ।

पछिल्लो समय बैंक तथा वित्तीय संस्थामा देखिएको समस्यालाई पनि नीति तथा कार्यक्रमले समेटेको छ । बैंक, वित्तीय संस्था, सहकारी तथा पुँजीबजारलाई व्यवस्थित गर्नका लागि सरकारले विभिन्न योजनासहित वार्षिक नीति तथा कार्यक्रम ल्याएको हो ।

राष्ट्रिय सहकारी नीतिमा परिमार्जन गरिने जनाईको छ । सहकारी सङ्घसंस्थाको अनुगमन र नियमन, संस्थागत सुशासन, प्राप्ति तथा एकीकरण र बचत तथा लगानीको सुरक्षा गर्न आवश्यक व्यवस्था मिलाइने नीति तथा कार्यक्रममा उल्लेख छ । सहकारी क्षेत्रको पुनःसंरचनासहित बचत तथा ऋण सहकारीलाई उत्पादन तथा श्रम क्षेत्रमा केन्द्रित हुने व्यवस्था गरिने नीति तथा कार्यक्रममा जनाइएको छ ।

नीति तथा कार्यक्रमको पुर्णपाठ हेर्न यहाँ  niti  क्लिक गर्नुहोस


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!