जनकपुरधाम : राजस्व तिरेर भारतीय गुट्खाजन्य पदार्थ भित्रिएको कुनै अभिलेख जनकपुर र जलेश्वर भन्सार कार्यालयमा छैन। तर, बजारमा व्यापक मात्रामा भारतमा निर्मित गुट्खाजन्य पदार्थको बिक्री वितरण भइरहेको भेटिन्छ।
नेपाली बजारभन्दा भारतीय बजारमा रजनीगन्धा, तुलसी, राजनीवास, राजश्रीजस्ता गुट्खाजन्य पदार्थ सस्तोमा पाइने भएकाले व्यापक मात्रामा तस्करी भई जनकपुरधाम, जलेश्वर, गौशालासहितका बजारमा भित्रिने गरेको छ।
सीमावर्ती भारतको जयनगर, सीतामढी, सुरसन्ड, कन्हवाँलगायत बजारबाट रातको समयमा तस्करले त्यस्ता महँगो गुट्खा भन्सार नाका हुँदै ग्रामीण क्षेत्रका नाकाबाट दैनिक करिब २५–३० लाख मूल्य बराबरको गुट्खाजन्य पदार्थ भित्र्याउने गरेको विभिन्न समयमा प्रहरीले बरामत गरेको तथ्यांकले देखाउँछ। सीमा सुरक्षार्थ खटिएका सशस्त्र प्रहरी र नेपाल प्रहरीका जिम्मेवार व्यक्तिलाई आफ्नो पक्षमा पारेर रातको समयमा व्यापक मात्रामा रजनीगन्धा, तुलसी, राजनिवास, राजश्रीलगायतका गुट्खा भित्र्याउने गरेको व्यापारीहरू नै बताउँछन्।
१० रुपैयाँदेखि ५० रुपैयाँसम्ममा बिक्री हुने गुट्खाको आयातमा ३० प्रतिशत भन्सार महसुल र १३ प्रतिशत मूल्य अभिवृद्धि करका साथै प्रतिकिलोमा ५ सय ५४ रुपैयाँ अन्तःशुल्क लाग्छ। तर, भारतबाट आउने यस्ता सुर्तीजन्य पदार्थको २०७१/७२ यता भन्सारमा राजस्व तिरेको कुनै अभिलेख छैन।
जलेश्वर भन्सार कार्यालयका भन्सार प्रमुख अमित पौडेलले अनुगमन गर्ने निकायको उदासीनताको कारण सरकारले बर्सेनि लाखौं रुपैयाँ राजस्व गुमाउँदै आएको बताए। भने, ‘हामीसँग ७–८ वर्षको अवधिमा भन्सारबाट भित्र्याएको कुनै तथ्यांक छैन। पक्राउ परेर मुद्दामा आएको भन्ने हो र लिलाममा गएको हो भने एउटा पसल बराबरको पनि लिलामी भएको छैन।’
अहिले नेपाली बजारमा रजनीगन्धा तुलसी प्रतिएक सेट ५० रुपैयाँसम्ममा पाइन्छ। तर, भन्सार काट्यो भने त्यसको दाम डेढगुणा हुने जनकपुरधामका एक थोक व्यापारी दाबी गर्छन्। उनले भने, ‘त्यसकारण हामीले तस्करी गर्ने कुरियरमार्फत सामान मगाउने गरेका छौं।’
यस्ता सामान बिक्री गर्ने जनकपुर आसपास क्षेत्रमा करिब हजारभन्दा बढी किराना, चिया पसल, ससाना होटलहरू छन्। वार्षिक करिब करोड माथिको अवैध व्यापार हुने यस्ता सुर्तीजन्य पदार्थ खासगरी सम्सी, जटही, जलेश्वरलगायतका नाकाको चोर बाटो तथा ग्रामीण नाकाको बाटो हुँदै प्रहरीकै सेटिंगमा आउने गरेको छ।
विशेषतः धनुषाको इनर्वा, जटही, दुहबी, मैनाथपुर र महोत्तरीको मटिहानी, रघुनाथपुर, बथनाहा, पोखरभिण्डा, सम्सीलगायतका चेकपोस्टबाट सशस्त्र र नेपाल प्रहरीको संलग्नतामा थोक व्यापारीहरूले भित्र्याउने र पोका पारेर पसल–पसलहरूमा पुर्याउने गरेको छ। जनकपुरको पेठिया बजार, भानुचोक, रामानन्द चोकलगायतका ठाउँमा कुरियरवालाले भारतको सीमावर्ती क्षेत्रबाट चोरी–पैठारी गरी ल्याई पुर्याउने गर्छ।
कुरियरवाला, गरिब मजदुरजस्ता देखिने तथा लगातार आउजाउ गर्नेहरूले भारतबाट यस्ता गुट्खा ल्याउने गरेको र यहाँबाट त्यस्ता गुट्खा सरकारी नम्बर प्लेटको गाडीमा तथा अन्य माध्यमबाट तस्करी भई काठमाडौंसम्म जाने गरेको एक व्यापारीले नाम नबताउने सर्तमा भने। तस्करी भई आउने यस्ता गुट्खा बेच्ने व्यापारी कहाँ आन्तरिक राजस्व कार्यालय, राजस्व अनुसन्धान विभाग तथा सम्बन्धित निकायले छापा नमार्दा तस्कर र व्यापारीको मनोबल बढ्न गएको छ। यस्ता हानिकारक तत्वको प्रयोगलाई निरुत्साह गर्न स्थानीयस्तरमा चेतनामूलक कार्यक्रममा सञ्चालन गर्नुपर्ने र अन्ततः बिक्री–वितरणमा समेत प्रतिबन्ध लगाउनुपर्ने जनकपुरधामका शिक्षक सञ्जीव महरा बताउँछन्।
सीमावर्ती प्रहरी चौकीका एक इन्चार्जले भने, ‘हामी दिन रात नभनी डियुटी गछौं। सामान नआओस् आएपनि भन्सार कटाएर लगोस् भन्ने चाहनामा डियुटी गर्छौं। एसपी सा‘पको मान्छे आएपछि माथिको निर्देशन भन्दै समान लैजान्छ। त्यतिबेला हामी निरिह बन्छौं।’
महोत्तरीका सशस्त्र प्रहरी उपरीक्षक लेखनाथ खनालले सीमावर्ती क्षेत्रहरूमा बीओपीमा कडाईपछि भन्सार बढेको र तस्करी कम भएको दाबी गर्छन्। तर, उनैको जिल्लामा पर्ने प्रमुख व्यापारी केन्द्र जलेश्वर, सम्सी, गौशाला, बर्दिबास, रामगोपालपुर, औरही, बर्दिबासलगायतका क्षेत्रहरूमा प्रतिबन्धित रजनीगन्धा भारतीय बजारबाट तस्करी भई नेपालमा भित्रिरहेको छ। खनालले भने, ‘रजनीगन्धाको सूचना हामी कहाँ पनि आएको छ। हामीले फलोअप पनि गरिरहेका छौं। सानो पोकामा पनि धेरै मात्रामा आउने भएकाले मूल्यवान नै भन्नुपर्यो। लुकाएर ल्याउने गरेको सूचना छ। केही पक्राउ पनि परेको छ। तर, रोक्न सकिएको छैन।’
उनले बजारमा बिक्री वितरण भएको देखेको भए पनि कहाँ, कहिले र कसरी आएको अथवा पुरानै स्टक चलिरहेको छ भन्ने कुरामा खोजिरहेको बताए। भने, ‘प्रहरीको संलग्नता छ भने थाहा छैन। प्रहरीको संलग्नता भए सबै सामान हुन्थ्यो। गुट्खा वा सुर्तीजन्य सामानमा मात्र हुन्छ भने होइन। कहीँकति नजानी भएको छ भने, त्यो भगवान जानुन्। मोटरसाइकल, साइकल वा अन्य पोकामा पनि लुकाएर ल्याउने भएको हुन सक्ने अनुमान छ। तर, ठ्याक्कै यही हो भन्न फेरि मुस्किल छ। यसमा जवाफ दिन मुस्किल छ। जवाफ दिन सकिन।’
‘बोर्डरमा त हामीले रोक्ने भयौं,’ उनले भने, ‘तर, बजारमा बिक्री वितरण स्थानीय निकायदेखि आन्तरिक राजस्व कार्यालयसम्मले हेर्ने कुरा हो। उनीहरू पनि त सचेत हुनुपर्यो नि,’ सशस्त्र प्रहरी उपरीक्षक खनालले भने।’
सशस्त्र प्रहरीका मधेस प्रदेश प्रमुख प्रहरी नायव महानिरीक्षक गणेश ठाडा मगरले रजनीगन्धा कसरी आउँछ भने कुरा ठ्याक्कै म पनि बुझौला भनेर पन्छिन् खोजे। उनले भने, ‘म रजनीगन्धा वा गुट्खाजन्य पदार्थको चोरी तस्करीमा सीमा युनिटहरूलाई विशेष ध्यान दिन निर्देशन दिन्छु।’ प्रहरी संलग्नतामा सुर्तीजन्य पदार्थहरूको चोरी पैठारी हुने गरेको व्यापारीहरूले नै भनिरहेको प्रश्नमा डीआईजी मगरले भने, ‘त्यस्तो हो भने त ठाडै कारबाही हुन्छ।’
जिल्ला प्रहरी कार्यालयकै केही कर्मचारीले जिल्लाभरिको तस्करी र सेटिङ मिलाउने गरेको स्रोतको दाबी छ। ‘माथिकै प्रहरी हाकिमका विश्वास पात्रले यहाँ सेटिङ मिलाउँछन्,’ एक प्रहरीले भने। गाँजा तस्करीमा पक्राउ परेको गाडी बा ११ च ३६०६ नम्बरको सिभिल गाडी प्रयोग गरेर प्रायः रात्रिकालीन समयमा सीमावर्ती क्षेत्रमा जाने र नामुद तस्करहरूसँग मिलेर बार्गेनिङमा खाद्यान्न, लत्ताकपडादेखि सुर्तीजन्य तथा गुट्खाजन्य पदार्थको बिक्री वितरणमा सहजता दिने गरेको सीमावर्ती प्रहरी चौकीका इन्चार्जहरूको गुनासो छ।
नाम नछाप्ने शर्तमा सीमावर्ती प्रहरी चौकीका एक इन्चार्जले भने, ‘हामी दिन रात नभनी डियुटी गछौं। सामान नआओस् आएपनि भन्सार कटाएर लगोस् भन्ने चाहनामा डियुटी गर्छौं। एसपी सा‘पको मान्छे आएपछि माथिको निर्देशन भन्दै समान लैजान्छ। त्यतिबेला हामी निरिह बन्छौं।’
सिभिलमा खटिएका घुमन्ते प्रहरीहरूले समेत प्रतिमहिना १० देखि २० हजार रुपैयाँसम्म लिने गरेको धनुषा सबैलाका एक व्यापारीले बताए। तर, यी आरोपलाई मिथ्या भएको बताउँदै धनुषाका प्रहरी नायव उपरीक्षक विश्वराज खड्काले भने, ‘प्रहरीको सेटिङ नभनौं। हामीले सकेजति समातेका छौं। प्रहरीलाई छलेर पनि लैजाने गरेको छ। मलाई विश्वास लाग्दैन कि प्रहरीको मिलोमतो छ।’ उनले थपे, ‘भारतबाट रजनीगन्धालगायतका गुट्खा आउन त आउँछन् तर कुन बाटोबाट आउँछन् थाहा हुँदैन। फेला पर्दा हामीले समातेका छौं नै।’ अन्नपुर्ण पोष्ट दैनिकमा समाचार छ ।
प्रतिक्रिया