‘हेलम्बु र अरनीको’ यातायातको एकाधिकार : रोकिएन मनोमानी बसभाडा असुली

- April 26, 2023 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । नेपालको अधिकांश सार्वजनिक सवारीसाधनमा रहेको अघोषित सेन्डिकेटका कारण लामो समयदेखि यात्रुले महँगो बसभाडा तिर्न बाध्य भएका छन् । सरकारी निकायबाट अनुगमन नहुँदा र भएपनि बस समितिकै योजना अनुसारको प्रतिबेदन तयार गर्ने गरेका कारण भाडादरमा समेत एकरूपता नभएकाले राजधानीबाट पूर्व जाने सबै सार्वजनिक सवारीधनीले आफूखुशी भाडा असुली धन्दालाई झन तीव्रता दिएका छन् ।

राजधानीबाट लामो र छोटो रुटमा बस सञ्चालन गर्ने व्यवसायीले मनोमानी भाडा असुली गरेको बारे सम्बन्धित निकायमा पटक–पटक जानकारी गराउँदासमेत कुनै चासो नदिएको यात्रुहरुको गुनासो समेत बढ्दै गएको छ यातायात व्यवसायीले महँगो भाडा असुली गरेको सम्बन्धमा पटकपटक यातायात व्यवस्था विभाग र स्थानीय प्रशासनमा जानकारी गराउँदासमेत कुनै चासो नदिएको यात्रुले बताएका छन् । राजधानीबाट पूर्वतर्फ जाने बसमा हेलम्बु र अरनीको यातायातको एकाधिकार रहेको छ ।

सो समितिबाट चाडपर्वको समयमा ५० किलोमिटर यात्राका लागि २ सय र सो भन्दा लामो दूरीका लागि ३ सय ५० देखि ८ सय रुपैयाँ असुदै आएको छ । राजधानी पूर्वका चार जिल्ला काभ्रे, सिन्धुपाल्चोक, दोलखा र रामेछापको पहाडी क्षेत्रमा गुढ्ने यात्रुवाहक सवारीसाधनमा एकाधिकार कायम गरेको हेलम्बु र अरनिको यातायातले बसपार्कबाटै बिनाटिकट यात्रु राखेर आफूखुशी भाडा असुली गर्दै आएका छन् ।

यातायात ऐन–२०४९ को दफा १०२ विपरीत व्यवसायीले सवारीसाधनका कर्मचारी बस्ने चालकसँगैको क्याबिन, इन्जिनमाथिको बोनटमा यात्रु राख्दै मंहगो भाडा असुली गर्दै आएका छन् । ऐनको दफा १२३ ले सिटबाहेक अन्यत्र यात्रु राख्न रोक लगाएको छ । विभागको तथ्यांक अनुसार सार्वजनिक बसले बढी भाडा लिएको पुष्टि गरे पनि कारबाही भने भएको छैन ।

विभागका कर्मचारी र सुरक्षाकर्मीका साथै ट्राफिक प्रहरीको मिलेमतोमा लामो समयदेखि बढी भाडा असुली गर्नेमा हेलम्बु यातायात र अरनीको यातायात रहेको छ । यी दुई समितिबाट सञ्चालनमा रहेका बसबाहेक अन्यलाई हेलम्बु र अरनीको राजमार्गमा सञ्चालन गर्न नदिएका कारण यात्रुसँग बढी भाडा असुली गर्दै आएका हुन् ।

हेलम्बु यातायातले ‘सुपर एक्सप्रेस’ को नाममा यात्रुसँग बढी भाडा असुली गर्दै आएकोे छ । हेलम्बुबाट बिहान छुटेको सो बसले ८० किलोमिटर यात्राका लागि प्रतियात्रु ५ सय रुपैयाँ समेत असुली गरेको बताइएको छ । र बीचबाटो बाट यात्रु चढेमा टिकट समेत नदिने गरेको छ ।

यातायात व्यवस्था विभागका अनुसार टिकटबिना यात्रु ओसार्ने सवारीसाधनलाई सिधै कारबाही गर्न सक्ने व्यवस्था भए पनि विभागका अधिकारीको मिलेमतोका कारण सो कारबाही भने भएको छैन । हेलम्बु यातायात सेवा समिति र अरनीको यातायात सेवा समितिमा फोन सम्र्पक गर्दा सम्बद्ध पदाधिकारीहरू सम्पर्कमा आउन चाहेनन् ।

सिन्धुपाल्चोक जिल्लाको उत्तर पश्चिमी भेगमा सञ्चालित सिन्धु हेलम्बु यातायातले भाडादर असुलीमा अनियमितता गरेको जनगुनासो अत्याधिक बढेपछि जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले चासो दिएको भएपनि कारबाही भने हुन सकेको छैन । प्रशासनले यातायात प्रालिका पदाधिकारी, उपभोक्ता, स्थानीय सरकारको प्रतिनिधि र सरोकारवालाहरूको संयुक्त भेला गराई मापदण्डविपरीत भाडा असुली गरेको पाइएमा कारबाही गर्ने चेतावनी दिएपनि सो चेतावती प्रशासनको पर्खाल बाहिर लागु हुन सकेको छैन ।

प्रशासनले दिएको चेताबनीलाई बस व्यवसायीहरुले लत्याउदै आएको प्राप्त भाडा सूचीबाट प्रमाणित भएको छ । प्रशासनले कारबाही गर्ने भनेपनि हेलम्बु यातायातले प्रति व्यक्ती भाडादरभन्दा बढी असुली गरेर ठगी गर्दै आएको छ । जीरोकिलोदेखि मेलम्चीसम्म बास्तविक भाडा ८३ रुपैयाँ तोकिएको छ तर प्रतिव्यक्ती १३० रुपैयाँ अर्थात ४७ रुपैयाँ बढी भाडा असुली हुदै आएको बताइएको छ ।

जीरोकिलोदेखि चनौटेसम्म १३१ रुपैयाँ तोकिएको भाडामा २१० अर्थात प्रतियात्रु ७९ रुपैयाँ बढी असुली गरिदै आएको छ । मेलम्चीदेखि ग्याल्थुमसम्म ३९ रुपैयाँ भाडादर भएपनि प्रतियात्रु २१ रुपैयाँ बढी लिदै ६० रुपैयाँ असुली गरिदै आएको छ । त्यसैगरी, मेलम्ची सेरासम्म ४५ रुपैयाँ भाडादर भएपछि प्रति यात्रु ७० रुपैयाँ अर्थात २५ रुपैयाँ असुली गरीदै आएको छ ।

मेलम्चीदेखि चनौटेसम्म ४८ रुपैयाँ भाडादर कायम भएपनि ८० रुपैयाँ अर्थात प्रतियात्रु ३२ रुपैयाँ बढी भाडा असुली हुने गरेको पाइएको छ । मेलम्चीदेखि क्यूलसम्म ६१ रुपैयाँ भाडादर कायम भएपनि १ सय रुपैयाँ अर्थात ३९ रुपैयाँ बडी भाडा असुली गरिदै आएको छ । यसरी दैनिक सयौैं रुपैयाँ ऐन कानुन विपरित गाडी व्यवसायीबाट यात्रुबाट असुली गरिदै आएपनि सरकारी निकायले भने कारबाही गर्ने चेतावनीमात्र दिदै उन्मुक्ति दिएको छ ।

बस समितिबाट यात्रु ठगीएको विषयमा सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी निराजन श्रेष्ठको संयोजकत्वमा सर्वपक्षीय भेला भएपनि सो भेलाबाट पारित भएको कुरालाई भने हेलम्बु यातायात प्रालिले लत्याएको छ । अधिकारी श्रेष्ठका अनुसार सुपर एक्सप्रेस मापदण्डका आधारमा सञ्चालन गर्न र मापदण्ड विपरीत बढी भाडा असुल गरेको पाइएमा कारबाही गरिने बताएपनि त्यसको अनुगमन सरकारी निकायबाट भएको छैन ।

जसका कारण ठगी गर्ने बस व्यवसायीहरुबाट यात्रु दैनिक रुपमा ठगीन बाध्य हुनु परेको छ । सो क्षेत्रमा बैकल्पिक यातायातको साधान समेत सञ्चालन गर्न हेलम्बु र अरनीको यातायात समितिले अबरोध गर्दै आएको छ । जसको मार यात्रुमाथी परेको छ । यात्रुहरुले बाध्य भएर ती नै दुई समितिको बसबाट मात्र यात्र गर्न परेको छ ।

र यो पनि…

सिन्धु हेलम्बु यातायातद्वारा यात्रु ठगी गरेको ठहर : प्रशासनबाट कारबाही नगरि दिइयो उन्मुक्ती

आमा याङ्ग्री र सिन्धु हेलम्बु यातायातको ठगी : सुपरको नाममा तेब्बर भाडा असुली

हेलम्बु यातायातको सुपर एक्सप्रेसको नाममा यात्रु ठगी


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!