कृषि बैकमा कर्मचारी युनियनद्वारा सक्षम नेतृत्वको खोजी

- April 19, 2023 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । कृषि विकास बैंक, वित्तीय संस्था कर्मचारी युनियनका पदाधिकारी तथा प्रतिनिधि आफ्नो नेतृत्व चयनका लागि भक्तपुरको बोडेमा जम्मा भई सक्षम नेतृत्वको खोजी गरेका छन् । बैंकभित्र सौदाबाजीको महत्वपूर्ण भूमिका निर्वाह गर्ने यो युनियन कृषि विकास बैंकमा क्रियाशील युनियन मध्येकै ठुलो युनियनका रुपमा रहेको छ ।

यो युनियनको नेतृत्वले बैंकको व्यवसायिकताको सवालमा निकै दख्खल दिने गरेको बताइएको छ । दशौँ महाधिवेशनको सबै तयारी पूरा भएको हालको अवस्थामा नेतृत्वका लागि दुई प्यानल भएर अगाडि बढेका छन् । बैंकभित्रको नेतृत्वका लागि समेत काङ्ग्रेसको केन्द्रिय नेतृत्वले उत्तिकै चासो राखेको छ ।

सरकारी तीन बैंकमध्ये ठुलो युनियन कृषि विकास बैंकमा रहेको छ । यो युनियनका पदाधिकारी तथा प्रतिनिधिहरूले ट्रेड युनियनलगायत नेपाली काङ्ग्रेससमर्थित पेशागत संगठनहरूमा समेत राम्रो प्रभाव पार्ने देखिन्छ । यो संगठनको चुनावमा पुण्यप्रसाद दाहालको प्यानलमा सिद्धीलाल मगिया र रमेश कटुवालले उम्मेदवारी घोषणा गरेका छन् भने रामबहादुर रावल, ठाकुर ओझा र वसन्त थापासमेत क्रमशः अध्यक्ष, वरिष्ठ उपाध्यक्ष र महासचिवका आकाङ्क्षी रहेका छन् ।

संगठनात्मक क्षमतामा कौशल, उर्जावान, समयसापेक्ष र बैंकमा कार्यरत श्रमजीवी कर्मचारीको मर्म बुझ्ने लामो समयदेखि युनियनमा आफनो कृयाशील समय अनुशासनपूर्वक बिताउनुभएका अध्यक्ष पदका दावेदार पुण्यप्रसाद दाहाल नेतृत्वको टिम अग्रज, अनुभवी र युवापुस्ताको संयोजनसहित सशक्त देखिएको सम्बद्ध क्षेत्रमा चर्चा छ ।

व्यवस्थापनसँग सौदाबाजी गर्न बलियो तर्क प्रस्तुत गर्ने, बैंकमा व्यवसायिकता कायम गर्न गराउन लागिपर्ने र युनियनको आन्तरिक व्यवस्थापनमा सामुहिक निर्णय गर्ने कौशल दाहालको समुहमा रहेको स्वतन्त्र विश्लेषक बताउँछन् । महाधिवेशन प्रतिनिधिहरू स्वतन्त्ररूपमा नेतृत्व छनौट गर्न सक्षम रहेको र मातृसंस्थाको हस्तक्षेप अस्वीकार गर्ने पक्षमा सबै प्रतिनिधिको एकमत रहको छ ।

नेपाल वित्तीय संस्था कर्मचारी संघ, कृषि विकास बैंकको २०८० बैशाख ५ र ६ गते भक्तपुरको बोडेमा सम्पन्न भइरहेको दशौँ केन्द्रीय महाधिवेशनको मंगलबार नेपाली काङ्ग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेपश्चात केन्द्रीय नेतृत्वको चुनाव हुने जानकारी प्राप्त भएको छ । उक्त महाधिवेशनमा देशभरीबाट तीन सय प्रतिनिधि रहेका छन् ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!