तातोपानीबाट मल तस्करी : रमेश शेर्पा र गोयलको सेटिङ

- April 8, 2023 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । सरकारले रासायनिक मल उपलब्ध गराउन नसकेपछि कृषकहरु तस्करीको मल बढी मूल्य तिरेर खरिद गर्न बाध्य हुँदैआएका छन् । ३ बर्षदेखि सरकारले मल खरिद गर्नसकेको छैन । ३ बर्षअघि तत्कालीन कृषि मन्त्री घनश्याम भुसालले मल खरिदको टेण्डर पाएको शारदाप्रसाद अधिकारीको कम्पनी शैलुङ इन्टरप्राइजेजले ल्याउन नसकेपछि कालोसूचीमा राखेका थिए ।

उनले बंगलादेशबाट जीटुजी प्रक्रियाबाट मल ल्याउन खोज्दा पनि भारतको असहयोगका कारण सम्भव भएको थिएन ।  भुसाल मन्त्रीबाट बिदा भएपछि ४ जना कृषि मन्त्री फेरिइसकेका छन्, तर मल खरिद गर्न सकेका छैनन् । सरकारले नसके पनि चीनको तातोपानी नाका हुँदै तस्करीको माध्यमबाट अर्बौंको रासायनिक मल नेपालमा भित्रिने गरेको स्रोत बताउछ ।

तस्करीबाट भित्रिएको मल बजारमा छ्यापछ्याप्ती हुँदा पनि सरकार भने मलको ग्लोबल टेण्डर गरी आयात गर्न उदासिन छ । तस्करीको मल भित्र्याउनेहरु प्रधानमन्त्री निवास बालुवाटारकै छत्रछायाँमा भएकाले पनि सरकार मलको ग्लोबल टेण्डर गरी किसानलाई सर्वसुलभ रुपमा मल उपलब्ध गराउन गम्भीर नभएको आरोप लाग्ने गरेको छ ।

 कसरी हुन्छ तातोपानीबाट मल तस्करी ?

चीनबाट तस्करीको मल भित्र्याउनेमा सिल्क ट्रान्सपोर्टका रमेश शेर्पा र सुनिल गोयल रहेको सुरक्षा स्रोत बताउछ । नेपालमा टेण्डर प्रक्रियाबाट मल आयात हुन नदिने र तस्करीको मल भित्र्याएर कालोबजारीमा बिक्री गर्ने कार्यका ग्रान्ड डिजाइनर भने सुनिल गोयल मुख्य पात्र रहेको स्रोतको दावी छ  ।

उनका बिरुद्ध राजस्व छलीको उजुरीमा छानबिन सुरु भएपछि उनको भेट १ बर्षअघि राजस्व अनुसन्धान विभागका तत्कालीन निर्देशक दयानन्द केसीसँग भयो । गोयलले केसीसँग भेटेपछि राजस्वको छानबिन पनि ढिसमिस पारेको आरोप छ । गोयलको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की छोरी स्वकीय सचिव गंगा दाहालसँग सम्पर्क थियो ।

त्यही सम्पर्कका आधारमा गोयलले ६ महिनाअघि दाहालमार्फत् तत्कालीन अर्थमन्त्री जनार्दन शर्मालाई भनेर उपसचिव केसीलाई भन्सार विभाग हुँदै तातोपानी भन्सारको प्रमुख भन्सार प्रशासकमा सरुवा गराउन सफल भएका थिए । शेर्पा र गोयलको समूहले तस्करीको मलमात्र होइन, चीनबाट  सिल्क ट्रान्सपोर्टले सुन समेत ल्याउने गरेको आरोप छ ।

दयानन्द केसीलाई तातोपानी भन्सारको प्रमुख भन्सार प्रशासक बनाएपछि रमेश शेर्पासँग मिलेर गोयलले चीनबाट निर्बाध रुपमा नेपालमा मल तस्करी गरिरहेको स्रोत बताउँछ । स्रोतका अनुसार, त्यही तस्करीको मल कृषकहरुले कालोबजारीमा खरिद गरी अन्नबालीमा प्रयोग गर्दैआएका छन् ।

बालुवाटारकै संरक्षणमा गोयल र शेर्पाले मल तस्करी गरेको स्रोत बताउछ । मल तस्करीबाट अकुत आर्जन गरेका गोयलले बालुवाटारमा चिनियाँ बीवाईडी इलेक्ट्रिक गाडी ३ वटा उपहार नै दिएको भन्दै गफ दिंदै हिड्छन् । जुन गाडीको मूल्य बजारमा ६५ लाख रुपैयाँ पर्छ भन्छन् । तस्करीको मल भन्सारकै मिलेमतोमा तातोपानीबाट नेपालमा भित्रिरहेकोबारेमा भन्सार प्रशासक दयानन्द केसीले भने–‘एक डेढ बर्षअघि नै तस्करीबाट मल आएको हो ।

त्यही पनि मलमा त भन्सार छुट नै छ नि, कसरी तस्करी हुन्छ र ?’ उनको भनाइ छ–‘नेपाल सरकारले स्वीकृति दिनुपर्छ, आयात गर्न पाइहाल्छ ।’ नेपाल सरकारले स्वीकृति दिएर भित्रिएको छ त भन्ने जिज्ञासामा उनले भने, ‘म ६ महिनाअघि भन्सारमा आएको हुँ । म तातोपानी भन्सारको प्रमुख भएर आएपछि मल तस्करी भएको छैन ।’

को हुन् रमेश शेर्पा ?

कोरोना महामारी फैलिन नदिन तत्कालीन केपी ओली नेतृत्वको सरकारले २०७६ चैत ११ देखि देशमा लकडाउन घोषणा गरेको समयमा तातोपानी नाकाबाट लसुन लगायतका अत्यावश्यक सामान ल्याएको भनी राति राति सयौं ट्रकहरू सशस्त्र र नेपाल प्रहरीले स्कटिङ गरी काठमाडौं ल्याइएका थिए ।

ती ट्रक रमेश शेर्पाकै सिल्क ट्रान्सपोर्टको रहेको सुरक्षा स्रोत बताउछ । नेपाल प्रहरी र सशस्त्र प्रहरीको गाडी अघि पछि लगाएर कन्टेनर नेपालतर्फ ल्याउने र त्यसमा सुन नै ल्याएको समाचार त्यतिबेला सार्वजनिक समेत भएको थियो । अति आवश्यक सामानमात्र ल्याउनुपर्नेमा सुन तस्करी भएको भनी भोटेकोशी गाउँपालिकाका ४ जना वडाध्यक्ष दीपेन्द्रकुमार श्रेष्ठले तातोपानी भन्सार कार्यालयका तत्कालीन प्रमुख लालबहादुर खत्रीलाई ज्ञापनपत्र बुझाएका थिए ।

कोरोना महामारीमा २०७७ बैशाख सुरुमा उनीहरूले स्वास्थ्य सामग्री मात्र ल्याउन माग गरेका थिए । जबर्जस्ती सामान ल्याएमा र संक्रमण नहुने ग्यारेन्टी नगरेमा आयातित स्याउ र लसुन नष्ट गर्ने चेतावानी वडाध्यक्षहरुले दिएका थिए । तर पनि सिल्क ट्रान्सपोर्टका संचालक रमेश शेर्पाले दैनिक ट्रकका ट्रक सामान भित्र्याएका थिए । ती ट्रक किन राति राति प्रहरी स्कटिङमा ल्हासाबाट तातोपानी ल्याइयो भनी श्रेष्ठले प्रश्न उठाका थिए ।

ती ट्रकमा के ल्याइएको थियो, प्रहरीले चेक किन गरेन ? भन्दै सुन त ल्याइएको थिएन भनेर वडाध्यक्ष श्रेष्ठले भिडियो नै सामाजिक संजाल फेसबुकमा पोष्ट गरेका थिए ।  तातोपानी नाका रहेको भोटेकोशी गाउँपालिका ५ का वडाध्यक्ष श्रेष्ठले तातोपानी भन्सारका तत्कालीन प्रमुख खत्री, सिन्धुपाल्चोकका तत्कालीन सीडीओ उमेश ढकाल र एसपी प्रज्वल महर्जनको अनदेखामा रमेश शेर्पाले सुन धडाधड ल्याउने काम गरेको आरोप पनि लगाएका थिए ।

५ बर्षअघिसम्म सामान्य झोलेपोके काम गर्ने साविक गाती गाविसका रमेश बाह्रविसे नगरका पूर्व मेयर निमफुन्जो शेर्पाका भान्जा हुन् । उनका बाबु सामान्य ह्यान्डीक्राफ्टको काम गर्थे । बैध, अवैध धन्दाकै कारण दिन दुई गुणा रात चौगुणाका दरले बृद्धि भएर रमेश अहिले अर्बपति भइसकेका छन् ।

कुनै समय हुण्डीको कारोबारमा ७० लाख नगदसहित समातिएका शेर्पाले बाह्रबिसेका एक सामान्य व्यक्तिलाई उक्त कारोबार स्वीकार्न लगाई जेल पठाएका थिए । जेलबाट छुटेलगत्तै उनी हाल बेलायत पुगेका थिए । बालकुमारीको जग्गा भने राष्ट्र बैंकमा कार्यरत मोहन श्रेष्ठबाट खरिद गरेका थिए ।  चीनबाट भारत सुन तस्करी गर्ने आरोप खेप्दै आएका रमेशको सामान तीन पटक भारतमा समेत पक्राउ परेको स्रोत बताउँछ ।

नेपालका बिभिन्न स्थानमा पक्राउ परेको सुनमा पनि रमेशकै नाम जोडिने गरेको थियो । तर, उनी पहुँचका भरमा नसमातिने र भरियामात्र पक्राउ पर्ने गरेको सुरक्षा स्रोत बताउँछ । पटक पटक भारत सुन सप्लाई गर्दै आएका शेर्पाका भिनाजु बिजय शेर्पा १६ किलो सुनसहित भारतमा पक्राउ परेका थिए । उता नेपालमा भिनाजुका दाइ पर्ने साइँला भनेर चिनिने व्यक्ति समेत ६ किलो सुनसहित समातिएका थिए । (साँघु साप्ताहिक)

र यो पनि…

तातोपानी भन्सार नाकामा ‘सिल्क ग्रुप’ संगै ‘चीनियाँ मुसा’ को आतंक

सिल्क ट्रान्सपोर्टका शेर्पालाई जोगाउन दलिय दवाव : सिआईबीमा उजुरी, अनुसन्धानको घेरामा तातोपानी भन्सार प्रमुख खत्री

शिल्क ग्रुपको अबैधधन्दामा सरकार मौन : मल आयातको नाममा सुन तस्करी…


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!