काठमाडौं । बैंक तथा फाइनान्स कम्पनीहरुको कुल चुक्ता पुँजी पछिल्लो अवधिमा बढेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको यही माघ मसान्तसम्ममा सञ्चालनमा रहेका २२ वटा वाणिज्य बैंक, क्षेत्रीय तथा राष्ट्रियस्तरका समेत गरी १७ वटा विकास बैंक र १७ वटा फाइनान्स कम्पनीसहितका ५६ वटा बैंक तथा वित्तीय संस्थाहरुले कुल चार खर्ब २४ अर्ब ८२ करोड २९ लाख रुपैयाँ चुक्ता पुँजी कायम गरेका छन् ।
गत आवको सोही अवधिमा भने सञ्चालनमा रहेका २७ वटा वाणिज्य बैंक, क्षेत्रीय तथा राष्ट्रियस्तरका समेत गरी १७ वटा विकास बैंक र १७ वटा फाइनान्स कम्पनीसहितका ६१ वटा संस्थाहरुले कायम गरेको कुल चुक्ता पुँजी भने चार खर्ब आठ अर्ब २६ करोड ४० लाख रुपैयाँ रहेको राष्ट्र बैंकको भनाइ छ ।
चालू आवको पछिल्लो सात महिनामा वाणिज्य बैंकहरुले मात्र कायम गरेको कुल चुक्ता पुँजी भने तीन खर्ब ७० अर्ब ४७ करोड ३० लाख रुपैयाँ रहेको छ ।
नेपाल राष्ट्र बैंकको पछिल्लो निर्देशनअनुसार वाणिज्य बैंकहरुको न्यूनतम चुक्ता पुँजी आठ अर्ब रुपैयाँ हुनुपर्ने र सो अनुसार धेरैजसो वाणिज्य बैंकहरुले मर्जर, प्राप्ति, बोनस तथा हकप्रद सेयर जारी गरेर हालकै अवस्थामा पनि राष्ट्र बैंकले तोकेको न्यूनतम चुक्ता पुँजीभन्दा निकै बढी चुक्ता पुँजी बनाएका कारण पनि बैंकहरुले चुक्ता पुँजी बढेको हो ।
अहिले अहिले सञ्चालनमा रहेका २२ वटा वाणिज्य बैंकहरुमा स्ट्यान्टर्ड चार्टर्ड बैंक, लक्ष्मी बैंक, माछापुच्छ्रे बैंक, नेपाल एसबीआई बैंक, सिद्धार्थ बैंक आदिको चुक्ता पुँजी राष्ट्र बैंकले तोकेको न्यूनतम सीमाभन्दा माथि छ ।
यीबाहेकका नबिल, नेपाल इन्भेष्टमेन्ट, ग्लोबल आईएमई आदि बैंकको चुक्ता पुँजी भने २० देखि ३४ अर्ब रुपैयाँसम्म छ ।
यसले गर्दा पनि वाणिज्य बैंकहरुको चुक्ता पुँजी पछिल्लो समय निकै बढेको हो । गत आवको सोही अवधिमा वाणिज्य बैंकहरुको यस्तो चुक्ता पुँजी तीन खर्ब ५९ अर्ब ८० करोड रुपैयाँ थियो ।
राष्ट्र बैंकका अनुसार चालू आवको पछिल्लो अवधिमा विकास बैंकहरुले कायम गरेको कुल चुक्ता पुँजी भने ३९ अर्ब ४९ करोड ८० लाख रुपैयाँ छ ।
राष्ट्र बैंकले राष्ट्रियस्तरका विकास बैंकहरुको लागि न्यूनतम चुक्ता पुँजी दुई अर्ब रुपैयाँभन्दा माथि हुनुपर्ने व्यवस्था कार्यान्वयनमा ल्याएपछि विकास बैंकहरुको चुक्ता पुँजी पनि बढेको हो । गत आवको सोही अवधिमा भने विकास बैंकहरुको यस्तो चुक्ता पुँजी १४ अर्ब ८५ करोड ८० लाख रुपैयाँ थियो ।
चालू आर्थिक वर्षको पछिल्लो अवधिमा फाइनान्स कम्पनीहरुको चुक्ता पुँजी पनि बढेको छ । नेपाल राष्ट्र बैंकले राष्ट्रियस्तरका फाइनान्स कम्पनीहरुको हकमा न्यूनतम ८० करोड रुपैयाँ चुक्ता पुँजी हुनुपर्ने व्यवस्था प्रभावकारीरुपमा कार्यान्वयनमा ल्याएसँगै फाइनान्स कम्पनीहरुको चुक्ता पुँजी बढेको हो ।
सो अनुसार चालू आवको पछिल्लो सात महिनाको अवधिमा फाइनान्स कम्पनीहरुले १४ अर्ब ८५ करोड ८० लाख रुपैयाँ न्यूनतम चुक्ता पुँजी कायम गरेका छन् ।
गत आवको सोही अवधिमा भने फाइनान्स कम्पनीहरुले कायम गरेको यस्तो चुक्ता पुँजी १३ अर्ब ७१ करोड ३० लाख रुपैयाँ रहेको राष्ट्र बैंकले जानकारी दिएको छ । (आर्थिक दैनिकबाट)
प्रतिक्रिया