लामिछानेले घरेलु हिंसाका सहन नसकेर आत्महत्या : दाहसंस्कार रोक्न बुबा रामप्रसादको आग्रह

- March 25, 2023 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

रिखिराम जिसी

पोखरा । तीन महिनाअघि अमेरिकाको टेक्सासस्थित एनआरएन अभियन्ता कृष्ण लामिछानेले एलपी भानु शर्माको एउटा फेसबुक स्टाटस शेयर गरेका थिए । जसमा भनिएको थियो–संसारलाई छाड्ने दुईवटा ढोकाहरू छन् । १ः मृत्युको ढोका २ः मोक्षको ढोका । आफ्नो ढोका आफैँ रोज्नु राम्रो ।

लामिछानेको अवस्था बुझेका उनका निकट साथीभाइहरूले उनले यो स्टाटस शेयर गर्नुको अर्थ सायद बुझेका थिए । अन्ततः लामिछानेले मृत्युको ढोका रोजे । टेक्सासस्थित नेपाली समाजका अगुवा लामिछानेले आत्महत्या गरेको समाचार आयो । २१ मार्चको दिन उनले आत्महत्या गर्नुअघि नेपालमा रहेका भाइ कपिल लामिछानेसँग कुरा गरेका थिए ।

कपिललाई उनको घरमा भइरहेको तनाव र दाइले जुनसुकै कदम उठाउन सक्ने सम्भावनाबारे जे त्रास थियो, त्यही भयो । यद्यपि यति चाँडै दाइले आत्महत्याको बाटो रोज्लान् भन्ने उनले सोचेका थिएनन् । कपिल लामिछानेले भने–त्यस दिन बिहान पनि दाइसँग कुरा भएको थियो । दाइ घर जाने कि नजाने भन्ने दोधारमा थिए ।

छोरीहरू न्युयोर्क गएकाले भाउजू एक्लै छिन् त्यसैले जान्छु भने । मेरो त्यसपछि कुरा भएन । टेक्सस राज्यको डालसमा सहरमा बस्ने कृष्ण लामिछाने नेपाली समुदायमा परिचित नाम हुन् । उनको घरायसी समस्याबारे पनि सबैजसो साथीभाइ परिचित नै थिए । तर उनलाई सो कदम चाल्नबाट रोक्न वा सो कदम चालेपछि उनलाई त्यो अवस्थामा पुग्न बाध्य पार्ने कदमबारे भने नेपाली समाज मौन छ ।

मृत फेला परेका एनआरएन अगुवा कृष्णप्रसाद लामिछानेले श्रीमती र छोरीको यातना सहन नसकेर आत्महत्या गरेको दाबी त्यहाँका नेपालीले गरेका छन् । कृष्णको परिवारले समेत श्रीमती र छोरीको यातनाले कृष्णले आत्महत्या गरेको दाबी गरेका छन् । कृष्णका बुबा रामप्रसाद लामिछानेले छोराको पार्थिव शरीर हेर्ने चाहना भएको भन्दै दाहसंस्कार सार्न निवेदन दिएका छन् ।

बुबाको पासपोर्टको प्रक्रिया चलिरहेको र आइतबार पासपोर्ट बनेपछि भिसा प्रक्रिया थाल्ने कपिलले बताए । छोराको असहज परिस्थितिमा मृत्यु भएको जानकारी आएको हुँदा आफूलाई छोरोको मुख हेर्न चाहना भएको भन्दै उनले बिहीबार दाहसंस्कार सार्न निवेदन दिएका थिए । गत मङ्गलवार नेपाली समाज टेक्सस तथा जनसम्पर्क समितिका पूर्व अध्यक्ष लामिछाने टेक्ससस्थित आफ्नै घरमा मृत अवस्थामा फेला परेका थिए ।

अमेरिकामै रहेका कृष्णका एक आफन्तले आत्महत्या घरकै मान्छेको मिलेमतो भएको दाबी गरेका छन् । ‘उनकै परिवारले यो आत्महत्या होइन, हत्या हो भनेका छन् । घरको मान्छेको मिलेमतो, सहमति नभई त सम्भव हुँदैन घटना हेर्दाखेरि, उनीहरूको संलग्नता नभएपनि उनीहरूको मिलेमतो रहेको बुझिन्छ घटना हेर्दाखेरि,’ उनले भने, ‘अमेरिका नजान पनि खोजेको हो, त्यस्ता त्यस्ता कुरा पहिलो सुनिन्थ्यो, घरपरिवारको मान्छेको संलग्नता रहेको जस्तो देखिन्छ ।’

उनी लामो समयदेखि पारिवारिक समस्याले तनाव थिए । गोर्खा घर भएका लामिछाने अमेरिकामा दुई छोरी र श्रीमतीका साथमा बस्थे । उनी प्राय नेपाल आउने बेला एक्लै नै आउने गर्थे । पछिल्लो पटक उनी एनआरएनएको निर्वाचनमा नेपाल आएका थिए । त्यतिबेला उनले आफू अमेरिका बस्न नसक्ने बरु इन्डिया जाने जस्ता कुराहरू व्यक्त गरेका थिए ।

‘एनआरएनको चुनाव भएको ताका म अमेरिका बस्नै सक्दिन, जाँदै जान्न भनेर बरु इन्डिया जान्छु भनेर इन्डिया गए । पहिलेदेखि परिवारसँग राम्रो नभएको बुझिन्थ्यो,’ कृष्णका एक आफन्तले भने । टेक्ससमा व्यवसाय गरेर बसेका उनी त्यहाँ नेपाली समुदायको सेवामा पनि सक्रिय थिए । उनी केही समय अघि भएको गैर आवासीय नेपाली संघ ९एनआरएनए० को निर्वाचनमा उनी पराजित भएका थिए ।

कृष्णको आत्महत्यापछि कृष्ण र उनी श्रीमती मालाबीच भएको झगडाको भिडिओ क्लिप बाहिरिएको छ । जसमा उनको श्रीमतीले कृष्णलाई १८ वर्षको कमाई लुकाएको भन्दै चिरेर नुन खुर्सानी हालेर झुन्डाउनु पर्ने बताएकी छन् । उक्त संवादमा कृष्णको छोरीको पनि आवाज सुनिएको देखिन्छ । उक्त आवाजमा कृष्णकी छोरीले पछाडिबाट आमाले त मार्नु पर्ने हो भनेको आवाज सुन्न सकिन्छ ।

उनलाई झुन्डाउनु पर्ने भनिएको छ । लामिछानेलाई अपराधी, पापी को रूपमा चित्रण गरिएको छ । प्रतिउत्तरमा लामिछानेले आफूलाई कुनै पनि समयमा जेसुकै पनि हुन सक्ने बताएको भिडियोमा सुन्न सकिन्छ । सो झगडाको बेला कृष्णले नेपालमा रहेका भाइ कपिलसँग मेसेन्जरमा कुराकानी गरेका थिए, जसका कारण सो रेकर्ड बाहिरिएको बताइन्छ ।

कृष्णलाई श्रीमतीले लामो समयदेखि शारीरिक र मानसिक यातना दिएको आरोप छ। पछिल्लो केही समय उनलाई घरमै थुनेर ड्राइभिङ लाइसेन्स समेत खोसेर राखिएको नेपाली समुदायले बताएका छन् । उनले यातना सहन नसकेर आत्महत्या गरेको बताइएको छ । कुटपिटका कारण उनको जिउमा चोटहरू थिए र ती उनले सार्वजनिक समेत गरेका थिए ।

कृष्ण लामिछाने चरम घरेलु हिंसाबाट पीडित थिए भने उनकी श्रीमतीले हत्या गर्ने धम्की दिँदै आएकी थिइन् । कुटपिटबाट उनी निकै गलिसकेको र जीवनबाट निराशा व्यक्त गरेको उनका साथीहरूले बताउने गरेका छ । मालाले कृष्णमाथि आफूले कमाएको सम्पत्ति सामाजिक अभियन्ता बनेर सकेको र नेपालमा अर्को केटी राखेको आरोप लगाउने गरेकी थिइन् ।

अहिले मालाको फेसबुक डियक्टिभ गरिएको छ । उनीसँग सम्पर्क गर्ने प्रयास समेत असफल भयो । कृष्ण लामिछानेको परिवारले मालाकै यातनाका कारण आत्महत्याको घटना भएको भन्दै यसको छानविन हुनुपर्ने बताएका छन् । तर अमेरिकी कानून फरक भएकाले आफूहरूले नेपालबाट केही गर्न मेलो नपाएको उनीहरूको भनाइ छ । प्रहरीले केही घण्टा लामिछानेको घर सिल गरेर अहिले श्रीमती मालालाई चाबी दिइसकेको बताइएको छ । (नेपाल प्रेसबाट)


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!