गठबन्धनमा साना दलका कारण मन्त्रिपरिषद् विस्तार भएन

- March 25, 2023 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । दश दलीय गठबन्धनमा साना दलका कारण मन्त्रिपरिषद् विस्तार हुनमा अबरोध पुगेको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले सांसद संख्याको आधारमा मन्त्रालय भागबन्डाको प्रस्ताव गरेसंगै साना दलले आफ्नो अडान नछाडेपछि मन्त्रालय बाँडफाँटमा अबरोध पुगेको बताइएको छ ।

सत्ता समीकरण फेरिएपछि चैत ६ गते दोस्रो पटक विश्वासको मत लिएसँगै प्रधानमन्त्री दाहालले सरकारलाई पूर्णता दिने प्रक्रिया अघि बढाएसंगै साना दलको अडानका कारण मन्त्रीपरिषद विस्तार गर्न नसकेको हो । प्रधानमन्त्री दाहालले आफूलाई विश्वासको मत दिने सबै दललाई समेटेर लागे प्रयास गरेपछि साना दलले धेरै मन्त्रालयको अडान नछाडेपछि भागबन्डा मिलाउन मुस्किल भएको हो ।

कांग्रेस सभापति शेरबहादुर देउवा, जसपा अध्यक्ष उपेन्द्र यादव, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललगायत शीर्ष नेताहरूसँग एक्लाएक्लै भेट गरिरहेका छन् । तर, अहिलेसम्म गठबन्धन दलमा कुनै सहमति बन्न सकेको छैन । प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले १० मन्त्रालयको दाबी गरिरहेको छ ।

तर, यसअघि एमालेले लिएको ८ मन्त्रालयमा चित्त बुझाउने सम्भावना छ । माओवादीले प्रधानमन्त्रीसहित ५ मन्त्रालय लिने प्रष्ट छ । नेकपा एस र जसपाले ३र३ मन्त्रालय दाबी गरेका छन् । नेकपा एसका अध्यक्ष नेपालले प्रधानमन्त्री दाहाललाई भेटेर गृहसहित तीन मन्त्रालय आफूले पाउनुपर्ने अडान राखेपछि मन्त्रीपरिषद विस्तार हुन सकेको छैन । उता माओवादीले यसपटक गृह नछाड्ने बताउदै आएको छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!