नेपालको जनसंख्या २७ हजारले घट्यो : २ करोड ९१ लाख ६४ हजार ५७८ जना

- March 24, 2023 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । प्रारम्भिक गणनाभन्दा २७ हजार ९०२ जनाले नेपालको जनसंख्या घटेको छ । राष्ट्रिय तथ्यांक कार्यालयले १२ औं राष्ट्रिय जनगणना २०७८ को पूर्ण विवरण सार्वजनिक गरेसंगै जनसंख्या घटेको उल्लेख छ । शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनगणनाको पूर्ण विवरण सार्वजनिक गरेका हुन् ।

सार्वजनिक भएको पूर्णविवरण अनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ रहेको तथ्याङक सार्वजनिक गरिएको छ । २०६८ मा नेपालको जनसंख्या दुई करोड ६४ लाख ९४ हजार थियो । यसअघि २०७८ माघ १२ गते सार्वजनिक गरिएको प्रारम्भिक नतिजामा नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० रहेको थियो ।

पूर्ण विवरण सार्वजनिक हुँदा प्रारम्भिक विवरणको जनसङ्ख्याभन्दा करिब २७ हजारले जनसंख्या घटेको राष्ट्रिय तथ्यांक कार्यलयका उपप्रमुख डा.हेमराज रेग्मीले बताए । राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा २०७८ माघ महिनामा सार्वजनिक गरिएको थियो । २०७८ साल कात्तिक २५ गतेदेखि मंसिर ९ गतेसम्म राष्ट्रिय जनगणना सञ्चालन गरिएको थियो ।

राष्ट्रिय जनगणना २०७८ को नतिजा मोबाइल एपबाट पनि हेर्न सकिने छ । साथै मातृ मृत्यु प्रतिवेदन पनि सार्वजनिक गरिएको छ । राष्ट्रिय जनगणना २०७८ अनुसार (जनगणना सन्दर्भ दिन २०७८ साल मंसिर ९ गते) नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ रहेको छ ।

जसमध्ये पुरुषको संख्या १ करोड ४२ लाख ५३ हजार ५५१ (४८ दशमलव ९८ प्रतिशत) र महिलाको संख्या १ करोड ४९ लाख ११ हजार २७ (५१ दशमलव ०२ प्रतिशत) छ । जस अनुसार लैङ्गिक अनुपात अर्थात् प्रति १०० जना महिलामा पुरुषको संख्या ९५ दशमलव ५९ जना रहेको उल्लेख छ ।

गत २०६८ सालको जनगणना अनुसार कुल जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५०४ र लैङ्गिक अनुपात ९४ दशमलव १६ थियो । राष्ट्रिय योजना आयोगले केन्द्रीय तथ्यांक विभाग मार्फत २५ कात्तिकदेखि ९ मंसिर २०७८ सालको जनगणना संकलन गरेको थियो । त्यसको प्रारम्भिक नतिजा गत वर्ष माघमै सार्वजनिक गरिएको थियो ।

प्रारम्भिक रिपोर्टमा नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० छ । नेपालमा हरेक १०–१० वर्षमा राष्ट्रिय जनगणना हुँदै आएको छ । राष्ट्रिय जनगणना २०७८ को नतिजा अनुसार कुल जनसंख्यामध्ये अन्य लिङ्गी (लैङ्गिक तथा यौनिक अल्पसंख्यक) को जनसंख्या २ हजार ९२८ देखिएको छ जुन कुल जनसंख्याको ० दशमलव ०१ प्रतिशत हो ।

जनगणना अवधिमा वार्षिक औसत जनसंख्या वृद्धिदर प्रतिवर्ष ० दशमलव ९२ प्रतिशत रहेको छ । जिल्लागत रुपमा हेर्दा सबैभन्दा बढी वार्षिक औसत जनसंख्या वृद्धिदर भएको जिल्ला भक्तपुर ३ दशमलव ३५ प्रतिशत र सबैभन्दा कम वार्षिक औसत जनसंख्या वृद्धिदर भएको जिल्ला रामेछाप १ दशमलव ६७ प्रतिशत रहेका छन् ।

जनगणनाको नतिजाअनुसार जनघनत्व (प्रतिवर्ग किलोमिटर क्षेत्रफलमा रहेको जनसंख्या) १९८ जनाप्रतिवर्ग किलोमिटर रहेको छ, जुन २०६८ सालमा १८० वर्ग किमि मात्र थियो । भौगोलिक क्षेत्रअनुसार हेर्दा सबैभन्दा धेरै जनघनत्व तराई क्षेत्रमा ४६० जना प्रतिवर्ग किलोमिटर र सबैभन्दा कम हिमाली क्षेत्रमा ३४ जना प्रतिवर्ग किलोमिटर रहेको छ ।

सबैभन्दा धेरै जनघनत्व काठमाडौं जिल्लामा ५१६९ जना प्रतिवर्ग किलोमिटर र सबै भन्दा कम मनाङ जिल्लामा ३ जना प्रतिवर्ग किलोमिटर रहेको छ । २०७८ अनुसार देशमा बसोबास गर्ने कुल परिवार ६६ लाख ६६ हजार ९३७ छन् । जसमध्ये व्यक्तिगत परिवार ६६ लाख ६० हजार ८४१ र संस्थागत परिवार ६ हजार ९६ रहेका छन् ।

प्रतिपरिवार अक्सर बसोबास गर्ने सदस्य औसतमा ४ दशमलव ३७ जना रहेको छ, जुन २०६८ सालमा ४ दशमलव ८८ जना रहेको थियो । भौगोलिक क्षेत्रअनुसार हेर्दा २०७८ मा प्रतिपरिवार हिमाली क्षेत्रमा ४ दशमलव ३३ जना, पहाडमा ३ दशमलव ९९ जना र तराई क्षेत्रमा ४ दशमलव ७३ जना सदस्य रहेका छन् ।

परिवारको आकार रौतहट जिल्लामा सबैभन्दा बढी ५ दशमलव ९४ र गोरखा र दोलखा जिल्लामा सबैभन्दा कम ३ दशमलव ४९ रहेको छ । २०६८ सालको जनगणनामा कुल परिवार संख्या ५४ लाख २७ हजार ३०२ रहेको थियो । २०७८ को जनगणना अनुसार नगरपालिकाहरुमा बस्ने जनसंख्या ६६ दशमलव १७ प्रतिशत रहेको छ भने गाउँपालिकाहरुमा बस्ने जनसंख्या ३३ दशमलव ८३ प्रतिशत रहेको छ ।

२०६८ अनुसार नगरपालिकाहरुमा बस्ने जनसंख्या ६३ दशमलव १९ प्रतिशत रहेको थियो भने गाउँपालिकाहरुमा बस्ने जनसंख्या ३६ दशमलव ८१ प्रतिशत रहेको थियो । भौगोलिक क्षेत्रअनुसार तराईमा कुल जनसंख्याको ५३ दशमलव ६१ प्रतिशत १ करोड ५६ लाख ३४ हजार ६ जना, पहाडमा ४० दशमलव ३१ प्रतिशत १ करोड १७ लाख ५७ हजार ६२४ जना र हिमाली क्षेत्रमा ६ दशमलव ८ प्रतिशत १७ लाख ७२ हजार ९४८ जना जनसंख्या रहेको छ ।

प्रदेशगत रुपमा जनसंख्याको वितरण हेर्दा सबैभन्दा धेरै जनसंख्या बागमती प्रदेशमा २० दशमलव ९७ प्रतिशत र सबैभन्दा कम कर्णाली प्रदेशमा ५ दशमलव ७९ प्रतिशत रहेको छ । जिल्लागत रुपमा सबैभन्दा बढी जनसंख्या भएको जिल्ला काठमाडौं २० लाख ४१ हजार ५८७ जना र सबैभन्दा कम जनसंख्या भएको जिल्ला मनाङ ५ हजार ६५८ जना रहेको उल्लेख छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!