नेपाल र इटालीबीचको व्यापारलाई थप व्यवस्थित गरिने

- March 24, 2023 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । नेपाल र इटालीबीच बढ्दो व्यापार व्यवसायलाई थप व्यवस्थित गर्दै लगानी तथा पर्यटन क्षेत्रलाई फराकिलो बनाउने उदेश्यका साथ नेपाल इटाली उद्योग वाणिज्य संघको आगामी कार्यक्रम तय गरेको बताइएको छ । सो संघको नवौँ वार्षिक साधारण सभामा सो कुराको घोषणा गरिएको हो । सो कार्यक्रममा संघका कार्यवाहक अध्यक्ष धु्रवकुमार श्रेष्ठले नेपालको सांस्कृतिक, वस्तु सम्पदा र ऐतिहासिक सम्पदाको पुनर्निर्माणको क्षेत्रमा इटालीको योगदान उच्च रहेको बताए ।

उनले नेपाल र इटालीबीच कुटनीतिक सम्बन्ध स्थापना भएको साँढे ६ दशकमा दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना भएको दाबी गरे । यो अवधिमा दुई मुलुकबीचको सम्बन्ध सुमधुर रहेको र व्यापार व्यवसाय पनि उल्लेख्य नै रहेको परिदृश्यमा दुई मुलुकबीचको आर्थिक सम्बन्धलाई थप बलियो र सशक्त बनाउन नेपाल इटाली चेम्बर अफ कमर्स स्थापना भएको बताए ।

नेपाल इटाली उद्योग वाणिज्य क्षेत्रमा योगदान पु¥याएका व्यक्ति तथा संस्थाहरुलाई सम्मान गरिएको थियो । जसमा विशेष सम्मान नेपाल इटाली चेम्बर अफ कमर्सका विशिष्ठ मानार्थ सदस्य राजेशकाजी श्रेष्ठलाई प्रदान गरिएको थियो । नेपाल र इटालीबीच व्यापार क्षेत्रमा उत्कृष्ट आयातकर्ताका रुपमा विनोद सगतानीलाई प्रदान गरियो ।

इटालीतर्फ नेपाली वस्तु निर्यातको लागि उत्कृष्ठ निर्यातकर्ताको रुपमा सम्मान राजु श्रेष्ठलाई प्रदान गरिएको थियो । नेपाल इटली चेम्बर अफ कमर्सका तर्फबाट नेपालमा इटालीका पर्यटक सबैभन्दा बढी भित्राउन सफल भई पर्यटन क्षेत्रमा पुर्याएको योगदानका लागि पिस इन्टरनेशनल टुर एन्ड ट्राभल्सका प्रवन्ध निर्देशक सर्वोत्तम लाल श्रेष्ठलाई सम्मान प्रदान गरिएको थियो । फायर एण्ड आईस पिज्जेरियालाई उत्कृष्ट लगानीकर्ताको रुपमा सम्मान प्रदान गरियो ।

इटालीले नेपाललाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा विकास सहयोग प्रदान गर्दै आएको छ । विशेषगरी सन् १९९० मा प्रजातन्त्र आएपछि इटालियन सरकार र जनताले नेपालमा सहयोगको मात्रा बढाउँदै लगेका छन् । यस्तै, सन् २०१५ को विनाशकारी भूकम्पपछि पीडितलाई उल्लेख्य मात्रामा इटालियन सहयोग प्राप्त भएको छ ।

नेपाल इटली चेम्बरमार्फत द्विपक्षीय व्यापार अभिवृद्धिसँगै नेपालमा इटालीबाट लगानी भित्र्याउने तथा नेपालमा इटलीका पर्यटकको संख्या बढाउन अभिप्राय रहि आएको छ । नेपाल र इटालीबीचको सम्बन्ध मित्रता, आपसी हित र सौहार्दतामा आधारित रहेको बताएको छ ।

नेपाल इटाली चेम्बरको अध्यक्षमा सञ्जय चयन

नेपाल इटाली उद्योग वाणिज्य संघको अध्यक्षमा सञ्जय अग्रवाल चयन भएका छन् । संघको ९ औं वार्षिक साधारणसभाबाट अग्रवाल अध्यक्षमा चयन गरिएको हो । उनी रमेश कर्पका कार्यकारी निर्देशक हुन् । संघको वरिष्ठ उपाध्यक्षमा अरनिको राजभण्डारी चयन भएका छन् । उनी एनडिज डेरीका प्रबन्ध निर्देशक हुन् ।

संघको उपाध्यक्षमा मनोज ज्ञवाली चयन भएका छन् । उनी नबिल बैंकका डेपुटी सीइओ हुन् । संघको महासचिवमा तीर्थबहादुर रोक्का, कोषाध्यक्षमा पवनकुमार अग्रवाल, सचिवद्वयमा रोम घिमिरे र मनोज श्रेष्ठ चयन भएका छन् ।

संघको सदस्यहरुमा अन्ना मारिया, अरुण केसी, विना प्याकु¥याल श्रेष्ठ, भुवन फैँजु, वीरेन्द्र शाही, किशन सुनुवार, किशोर भट्टराई, निरज श्रेष्ठ, सञ्जय अग्रवाल(श्रर्फ), सरिक बोगटी, साम्बा लामा, शम्भु लामा, सुवास विक्रम शाह, सुमित धानुका, सुशील जैन, विनोद सागतानी र युगेश बादे चयन भएका छन् ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!