सामाजिक सुरक्षा योजना शुभारम्भ:श्रम स्वीकृति लिनेहरुले अनिवार्य रुपमा कोषमा आबद्ध हुनुपर्ने

- March 23, 2023 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । सरकारले वैदेशिक रोजगारीमा रहेका तथा विदेशमा स्वरोजगारमा रहेका नेपालीलाई पनि सामाजिक सुरक्षा योजनामा सहभागी गराउदै जाने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले वैदेशिक रोजगारीको सिलसिलामा इजरायलमा रहेकी मञ्जु थपलियालाई सामाजिक सुरक्षा कोषको कार्ड हस्तान्तरण गरेसंगै सो सुरक्षा योजना शुभारम्भ गरिएको हो ।

सँगसँगै श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको ५ वर्षे रणनीतिक योजना पनि सार्वजनिक गरे । त्यसमा मन्त्रालयले कसरी काम गर्ने र कसरी परिणाम निकाल्ने भन्ने मार्गचित्र छ । सामाजिक सुरक्षा कोषका निर्देशक डा. रोशन कोजुले श्रम स्वीकृति लिने, श्रम स्वीकृति नवीकरण गर्ने बेला र नवीकरण गर्ने बेला नभएकाहरु पनि वैदेशिक रोजगार विभाग र सामाजिक सुरक्षा कोषमा सहभागी हुन सक्ने बताए ।

यो योजनामा सहभागी हुनका लागि तीन वटा प्रक्रिया छन् । पहिले सामाजिक सुरक्षा कोषमा सूचीकरण हुने, सूचीकरण भइसकेपछि रकम जम्मा गर्ने र त्यसमा पनि नियमित सम्पर्कमा रहने बताइएको छ । वैदेशिक रोजगारीका लागि पहिलो पटक श्रम स्वीकृति लिने व्यक्ति, श्रम स्वीकृति लिएर विदेशमा श्रम गरिरहेका व्यक्ति र विदेशमा श्रम गरिरहेका तर श्रम स्वीकृति नवीकरण गर्ने बेला नभएका व्यक्ति यस योजनामा आबद्ध हुने प्रक्रिया कोषले निर्धारण गरेको छ ।

वैदेशिक रोजगार विभागको सफ्टवेयर फरेन इम्प्लोयमेन्ट म्यानेजमेन्ट इन्फरमेसन सिस्टम र सामाजिक सुरक्षा कोषको सोसल सेक्युरिटी म्यानेजमेन्ट इन्फरमेसन सिस्टमको बीचमा सहकार्य छ । वैदेशिक रोजगारीमा रहेकाहरुले विभागको सफ्टवेयर मार्फत व्यक्तिगत रुपमा वा म्यानपावर एजेन्ट मार्फत कोषमा सूचीकरणका लागि निवेदन सक्छन् । अब त श्रम स्वीकृति लिनेहरुले अनिवार्य रुपमा सामाजिक सुरक्षा कोषमा आबद्ध हुनुपर्नेछ ।

सरकारले वैदेशिक रोजगारीमा रहेकाहरुलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउन एउटा कार्यविधि नै बनाएको छ । वैदेशिक रोजगारमा रहेका श्रमिक र विदेशमा स्वरोजगारमा रहेका व्यक्तिका लागि योगदानमा आधारित सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि २०७९ अनुसार श्रम स्वीकृति लिनुअघि श्रमिकहरुले विवरण भर्दा नै सामाजिक सुरक्षा कोषको पनि फारम भरेर आबद्ध हुनुपर्नेछ ।

कार्यविधिमा भनिएको छ, ‘योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा सहभागी हुन चाहने वैदेशिक रोजगारमा रहेको श्रमिकले यो कार्यविधि प्रारम्भ भएपछि र विदेशमा स्वरोजगारमा रहेका व्यक्तिले नियमावलीको नियम ४ बमोजिम मन्त्रालयले तोकेको मितिदेखि कोषमा सूचीकृत हुनुपर्नेछ ।’

श्रम स्वीकृति लिनु भन्दा अगाडि श्रमिकहरुले विवरण इन्ट्री गर्दा फारमको दाहिनेपट्टि उल्लिखित ५ वटा नो–नो बटम रहेको ठाउँमा अहिले एउटा सामाजिक सुरक्षा कोषको पनि योगदानमा आबद्ध भएको जनाउनुपर्नेछ । यी विषय एप्रुभ भएपछि मात्रै बल्ल श्रम स्वीकृति पाउन सकिन्छ ।

विदेशमा भएका श्रमिकहरुले पनि नवीकरण गर्ने बेलामा यी सबै डेटा भरेपछि मात्रै बल्ल श्रम स्वीकृति पत्र पाउँछन् । श्रम स्वीकृति पत्र पाउन वा नवीकरण गर्न हरेक महिना न्यूनतम २ हजार २ रुपैयाँ कोषमा जम्मा गर्नुपर्ने हुन्छ । यो रकम अग्रिम रुपमा पनि जम्मा गर्न सकिन्छ ।

यसरी जम्मा गर्दा एकैपटक सात महिना वा सोभन्दा बढीको रकम जम्मा गरे १० प्रतिशतसम्म छुट पाइन्छ । अहिले विदेशमा भएका र श्रम स्वीकृति नवीकरण गर्ने बेला नभएको अवस्थामा भने सामाजिक सुरक्षा कोषको वेबसाइटमा गई फारम भरेर आबद्ध हुन सक्नेछन् । यदि विदेशजानुअघि नै श्रम स्वीकृति नम्बर लिने बेलामा फारम भरे सामाजिक सुरक्षा नम्बर पनि पाइनेछ ।

त्यसरी सूचीकृत हुने बेलामा श्रमिकहरुको इमेलमा सामाजिक सुरक्षा कोषको आइडी कार्ड र पासवर्ड रिसेट गर्नका लागि लिंक पनि उपलब्ध हुन्छ । यसको अतिरिक्त विदेशमा भएका तर नवीकरण गर्ने बेला भएको छैन भने त्यस्ता श्रमिकले सामाजिक सुरक्षा कोषको वेबसाइटमा वैदेशिक रोजगार सूचीकरण भन्ने मेनुभित्र नयाँ दर्ता बटममा गएर आवश्यक विवरण भरेपछि त्यहाँबाट पनि सूचीकरण गर्न सकिन्छ ।

योगदानमा आधारित रकम जम्मा गर्न नेपाल भित्र रहँदा वा नेपाल बाहिर रहँदा केही अनलाइन भुक्तानी च्यानलहरु प्रयोगमा ल्याउन सकिन्छ । नेपालमा पनि चल्ने र विदेशमा पनि चल्ने कनेक्ट आईपीएस, खल्ती एप, इसेवा, फोन पे लगायतको माध्यमबाट रकम जम्मा गर्न सकिन्छ ।

विदेशमा सक्रिय रहेका र नेपालमा पनि शाखा रहेका रेमिट कम्पनीहरुको माध्यमबाट पनि योगदानमा आधारित रकम सिधै कोषको खातामा जम्मा गर्न सकिने व्यवस्था छ । उक्त रकम जम्मा गर्ने बेलामा श्रमिकहरुले हरेक महिना सब्मिसन नम्बर र भौचर नम्बर पाउँछन् । त्यो भौचर नम्बर र सामाजिक सुरक्षा नम्बर खल्ती, फोन पे, कनेक्ट आईपीएस लगायतका भुक्तानीका माध्यमहरुमा उल्लेख गरेपछि हरेक महिना श्रमिकले तिनुपर्ने रकम देखाउँछ । त्यसैको आधारमा अनलाइनमार्फत योगदानमा आधारित रकम जम्मा गर्न सकिन्छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!