सुनको मुल्य हालसम्मकै उच्च : तोलाको १ लाख १० हजार

- March 19, 2023 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं। सुनको मुल्य हालसम्मको उच्च पुगेको छ । लगातार उकालो लागेको सुनको भाउ एका सातामा तोलामै ६ हजार ५ सय रुपैयाँ बढेर साताको पहिलो दिन प्रतितोला १ लाख १० हजार रुपैयाँमा कारोबार भएको छ। नेपाली बजारमा यो सम्भवतः हालसम्मकै उच्च मूल्य हो। दुई दिनमै सुन तोलामा २ हजार ९ सय रुपैयाँ बढेको छ। शुक्रबार तोलाको १ लाख ७ हजार १ सय थियो।

यसअघि लगातार बढ्दा पनि नेपाली बजारमा आइतबार कायम मूल्यमा सुन पुगेको थिएन। गत आइतबार तोलाको १ लाख ३ हजार ५ सय थियो भने शुक्रबार १ लाख ७ हजार १ सय थियो। गत मंगलबार र बुधबार तोलाको १ लाख ५ हजार ७ सयमा स्थिर रहेर कारोबार भएको थियो। बिहीबार १ हजार बढेर १ लाख ६ हजार ७ सय पुगेको थियो भने शुक्रबार ४ सयको बढोत्तरी थियो। चाँदी पनि बढेको छ।

गत शुक्रबारका तुलनामा ३० रुपैयाँको बढोत्तरीपछि आइतबारको कारोबार मूल्य प्रतितोला १३ सय ४५ भएको छ। विश्वबजारमा देखिएको मन्दीसँगै लगानीकर्ता स्टक छाडेर सुनचाँदीमा लगानीमा आकर्षित भएको देखिएको छ। अमेरिकी बजारमा आर्थिक मन्दीको असर स्टक मार्केटमा परेको छ। त्यसैले लगानीकर्ता आफ्नो लगानी सुरक्षित गर्न सुनचाँदीमा आकर्षित भएको अनुमान छ।

अन्तर्राष्ट्रिय बजारमा गत शुक्रबार प्रतिऔंस १९३० दशमलव ६१ डलर रहेको सुन आइतबार १९८८ दशमलव ११ डलर पुगेको छ। एक सातामै सुनको कारोबार मूल्यमा ठूलो बढोत्तरी छ। गत आइतबार सुन प्रतिऔंस १८६७ दशमलव ३ डलरमा कारोबार भएको थियो। चाँदी पनि बढेर प्रतिऔंस २२ दशमलव ६ डलर पुगेको छ। गत शुक्रबार २१ दशमलव ९८ डलर थियो भने गत साताको सुरुमा प्रतिऔंस २० दशमलव ५३ डलरले कारोबार भएको थियो।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!