चर्को ब्याजदरको समस्या समधान गर्न सहजीकरण गर्ने छु : सभामुख घिमिरे

- March 19, 2023 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

ललितपुर । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले चर्को ब्याजदरका कारण निजी क्षेत्रले भोग्नु परिरहेको कठिनाई अन्त्य गर्न सहजीकरणको भूमिका निर्वाह गर्ने बताएका छन् । २०२३ साल चैत्र ४ गते स्वर्गीय बेखानाथ श्रेष्ठको नेतृत्वमा स्थापना भएको ललितपुर उद्योग वाणिज्य संघको ५६ औं स्थापना दिवसको अवसरमा उनले सो कुरा बताएका हुन ।

सभामुख घिमिरेले निजी क्षेत्रलाई परेको अप्ठ्यारो प्रति ऐक्यबद्धता व्यक्त गर्दै उद्योगी, व्यवसायीहरुको माग सरकार समक्ष पु¥याउन व्यावहारिक रुपमा सहजीकरण गरिदिने प्रतिबद्धता व्यक्त गरेका छन् । मुलुकको अर्थतन्त्र उकास्न निजी क्षेत्र र सरकार बीच सहकार्य गरेर अघि बढ्नु पर्नेमा जोड दिंदै उनले यसलाई केन्द्रबिन्दुमा राखेर कानून निर्माण गर्नुपर्ने खाँचोको बारेमा सांसदलाई औल्याउदै सो कुरा बताएका हुन ।

उनले भने,‘निजी क्षेत्रलाई उद्योगधन्दा सञ्चालनमा बाधक हुने कानून संशोधन र आवश्यक कानून बनाउन सांसद्हरुको ध्यानाकर्षण गराउने छौं ।’ नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले निजी क्षेत्रसंग जोडिएको कानून निजी क्षेत्रकै संलग्न बिना नै बन्ने गरेको बताए । सरोकारवालासंग छलफल नगरी, कर्मचारीतन्त्रले कानून बनाउने परम्परा रहेको छ ।

संसद्मा कानून बनाउने जिम्मा सांसद्को भएपनि सरोकार वालासंग भएको छलफललाई लत्याएर कर्मचारी संयन्त्रको मात्र भरपर्ने गरेको छ । कर्मचारीले बनाएको कानून अध्ययन नै नगरी सांसद्ले पास गर्ने गरेको कारण अनेक समस्या निम्तिएको उपाध्यक्ष श्रेष्ठले बताए । निजी क्षेत्रलाई आवश्यक हुने कानून अझ न बनेको र बनेका कानून पनि निजी क्षेत्रलाई दुःख दिने नियतले बनाएको उनले बताए । उदाहरणको लागि बजारको अनुगमन सम्बन्धी कानून । यसमा निजी उद्योगी, व्यवसायीलाई दण्ड जरिवाना गर्ने कुरो मात्र छ । सचेत गराउने, छलफल गर्ने विषय कहिँ पनि नभएको समेत उपाध्यक्ष श्रेष्ठले बताए ।

आर्थिक नीति बनाउँदा उद्योगी व्यवसायीसंग समन्वय, छलफल र अपनत्व स्थापित गराउनु पर्ने खाँचो औल्याउँदै उपाध्यक्ष श्रेष्ठले उद्योग, कलकारखाना सञ्चालनमा आएको असहजता अन्त्य गर्नुपर्नेमा उल्टै सरकार, नियामक निकाय, नेपाल राष्ट्र बैंक र वितीय संस्थाको गलत नीतिका कारण आम उद्योगीहरु मारमा परेको बताए ।

उपाध्यक्ष श्रेष्ठले दुई अंकको ब्याजदर उद्योगीहरुले धान्न नसकिने उल्लेख गर्दै ब्याजदर एक अंकको हदसम्म हुनु पर्ने बताए । संघका पूर्वअध्यक्ष शैलेन्द्रलाल प्रधानले संघले उद्योगी व्यवसायीहरुको हकहितको लागि नीति, नियम बनाउन, अप्ठ्यारा नीति , नियम सच्याउन के कस्तो भूमिका निर्वाह ग¥यौं भनेर समीक्षा गर्नु पर्ने खाँचो रहेको बताए ।

उनले भने,‘अर्थतन्त्रलाई चलायमान बनाउन, उद्योगी व्यवसायीहरुको हकहितको संरक्षण गर्न कहि हामी चुकिरहेका त छैनौं ? नीतिगत पैरवीमा हाम्रो ध्यान पुगिरहेको छ त ? यस्ता विषयमा आत्मसमीक्षा गर्नु पर्दछ । स्थापना दिवसले सबैलाई यस तर्फ प्रेरित गरुन् ।’ संघका अध्यक्ष मनोजबहादुर न्याछ्योंले अर्थतन्त्रमा कोरोनाको असर, बैंक तथा वित्तीय संस्थाको गलत नीति, सरकारको दोहोरो कर पूँजी परिचालनमा नियन्त्रणमुखी नीतिका कारण उद्योगी, व्यवसायीहरुको समस्या झन्झन् बढ्दै गएको बताए ।

उनले भने,‘सरकारले निजी क्षेत्रको समस्या राम्ररी सुनेको छैन । सुने पनि कार्यान्वयन भएको कुनै पनि उदाहरण छैन । उद्योगी, व्यवसायीहरु अनेक मार, निराशामा बाँच्न बाध्य भएका छन् ।’ ललितपुर क्षेत्र नं २ का सांसद् प्रेम महर्जनले ललितपुरलाई हस्तकला नगरीको अवधारणा अनुरुप काम अघि बढाउन पर्याप्त सम्भावना हुँदाहुँदै व्यवहारमा अपेक्षाकृत काम नभएको बताए ।

ललितपुर क्षेत्र नं २ (२) का सांसद् रामकृष्ण चित्रकारले चर्को ब्याजदरबाट सिर्जित समस्या बारे प्रदेश सभामा उठाउने प्रतिबद्धता व्यक्त गरे । संघका महासचिव रुपकमान महर्जनले संचालन गरेको उक्त कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष विश्वराज बज्राचार्य लगायत अन्य वक्ताहरुले उद्योगी व्यवसायीको समस्यालाई नजरअन्दाज गरे मुलुकको प्रगति नहुनेमा केन्द्रीत गर्दै आआफ्नो भनाई राखेका थिए ।

संघको ५६ औं स्थापना दिवसको अवसरमा ललितपुर जिल्लाका वरिष्ठ धातु मुर्तिकार सन्तकुमार शाक्यलाई स्रष्टा सम्मानबाट सम्मानित गर्नुका साथै संघका जेष्ठ सदस्य, संस्थागत, एशोसियट र २५ वर्ष पूरा भएका सदस्यहरुलाई सम्मान गरिएको संघका महासचिब रुपकमान महर्जनले बताएका छन् ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!