नागरिक लगानी कोषको लगानीमा बृद्धि

- March 18, 2023 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं। नागरिक लगानी कोषले चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा लगानी बृद्धि गरेको जनाएको छ । कोषको ३३ वर्ष पुगेको अवसरमा आयोजीत वार्षिकोत्सव कार्यक्रममा सो कुरा बताइएको हो । जसमा कोषको लगानी २ खर्ब ५ अर्ब ६९ करोड रुपैयाँ पुगेको बताइएको ।

सोही अवधिमा कोषको खुद कोष मौज्दात रकम २ खर्ब ६ अर्ब १९ करोड रुपैयाँ पुगेको छ। सो अवधिमा कोषले मुद्दती निक्षेपमा १ खर्च ०६ अर्ब २६ करोड रुपैयाँ, संगठित संस्थाको सेयररधितोपत्रमा २८ अर्ब २६ करोड १३ लाख रुपैयाँ सहभागी सापटी तथा आवास कर्जामा ४५ अर्ब ९२ करोड १५ लाख र समयकालीन कर्जामा २२ अर्ब ६९ करोड ८० रुपैयाँ लगानी गरेको  कोषका कार्यकारी निर्देशक रमण नेपालले बताएका छन् ।

नागरिक लगानी कोष ऐन, २०४७ अनुसार स्थापित कोषले २०४८ माघ १ देखि कारोबार सुरु गरेको हो। मुलुकको आर्थिक विकासका लागि सर्वसाधारणलाई समेत बचत गर्न प्रोत्साहित गरी लगानीका अवसर बढाउन, अवकाश कोष तथा सामाजिक सुरक्षणका कार्यक्रम सञ्चालन गर्न र पुँजी बजार कारोबार गर्ने प्रमुख उद्देश्यले कोषको स्थापना भएको हो।

उद्देश्य प्राप्तिका लागि कोषले सर्वसाधारण, विभिन्न संगठित संघसंस्थामा कार्यरत कर्मचारीर कामदार तथा संगठित संघसंस्थाबाट समेत विभिन्न कार्यक्रमअन्तर्गत बचत संकलन गरी उक्त रकमलाई लगानी प्रबन्ध गर्दै आएको छ । हाल कोषको केन्द्रीय कार्यालय काठमाडौंमा रहेको छ भने ५ वटा शाखा पोखरा, विराटनगर, बुटवल अत्तरिया, सुर्खेतमा कार्यालयहरू रहेका छन्।

कोषले दोस्रो बजारतर्फ सेयर तथा डिबेन्चरको खरिदबिक्री लगायतका पुँजी बजारको काम पनि गर्दै आएको छ। विदेशमा रहेका नेपालीबाट पनि बचत कार्यक्रममार्फत बचत संकलन गर्न सक्ने कोषको ऐनमा भएको प्रावधान अनुरूप सेवा विस्तार गरिसकेको जनाइएको छ।

कोषको कर्मचारी बचत वृद्धि अवकाश कोष बीमा कोष, उपदान तथा पेन्सन कोष लगानीकर्ता हिसाब योजना, नागरिक एकांक योजना, नागरिक पेन्सन योजना, लगानी व्यवस्थापन, ब्रिज ग्याप लोन, सहभागी कर्जा परियोजना कर्जा, धितोपत्रमा लगानी जस्ता कार्यक्रम छन्।

सो वार्षिकोत्सव समारोहमा अर्थमन्त्रालयका राजस्व सचिव डा. रामप्रसाद घिमिरेले कोषमा देखिएका समस्यालाई छलफल गरेर समधान गर्नु पर्नेमा जोड दिए । उनले कोषलाई थप उचाइमा पुर्याउन प्रतिज्ञा गर्नुपर्ने बताए । कोषले बचत गर्ने र लगानी गर्ने आवसरका रुपमा लिएर अगाडि बढ्नुपर्ने उनले बताएका थिए ।

अनलाइन प्रणालीमा गएपछि सेवामा तिव्रता आएको तर सबै राम्रो भएको भन्न भने नमिल्ने उनको भनाइ थियो । ‘अनलाईन प्रणालीमा जोखिम भएकाले सुरक्षित बनाउन जरुरी छ, बचतकर्ताको गोपनियता राख्न सक्नुपर्छ, प्रतिस्पर्धात्मक भएर गुणस्तर कामय गर्नुपर्छ’, उनले भने ।

नेपालको अर्थतन्त्र संकटमा नभएको, राजस्व संकलन घटेपनि अर्थतन्त्रमा सुधारका संकेत देखिएको सचिव घिमिरेले बताएका थिए । नागरिक लगानी कोषका अध्यक्ष प्राडा सुर्यबहादुर थापाले कोषले चालु आर्थिक वर्षको फागुन मसान्तसम्म विभिन्न योजनाहरुबाट २ खर्ब ९ अर्ब ९४ करोड पुँजी संकलन गरेको र सो अवधिमा २ खर्ब ७ अर्ब २८ करोड लगानी गरेको बताएका थिए । समारोहमा कोषमा २० वर्ष भन्दा धेरै समय सेवा गरेका र सेवा निवृत्तलाई सम्मान गरिएको थियो ।

कोषको पुँजी

अधिकृत पुँजी ८ अर्ब
जारी पुँजी ८ अर्ब
चुक्ता पुँजी ४ अर्ब २५ करोड १० लाख

कोषमा पुँजीगत सेयर स्वामित्व

नेपाल सरकार : २३ दशमलव ३४ प्रतिशत
राष्ट्रिय बीमा संस्थान : ३१ दशमलव ५५ प्रतिशत
नेपाल स्टक एक्सचेन्ज : १० प्रतिशत
अन्य बैंक तथा वित्तीय संस्था : १५ दशमलव ११ प्रतिशत
सर्वसाधारण : २० प्रतिशत


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!