लक्ष्यअनुसार राजस्व उठाउन सरकार असफल : सरकारी खर्च धान्न महाभारत

- March 17, 2023 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

-अनुसा थापा

बुढापाकाले भन्थे,‘हुलमुलमा ज्यान जोगाउनु, अनिकालमा ज्यान जोगाउनु ।’ यसको अर्थ जति नै भोकमरी लागेपनि बीऊ माँसेर खान नहुने र हुलमुलमा जान नहुने हो । अहिले नेपालको अवस्था ठ्याक्कै त्यस्तै बनेको छ । राजस्व उठ्न छोडिसकेको छ । लक्ष्यअनुसार राजस्व उठाउन सरकार असफल भइसकेको छ । जसले गर्दा सरकारी खर्च धान्न महाभारत परेको छ । विदेशीसंग ऋण लिएर कतिञ्जेल सरकारी खर्च धान्ने ? सरकारले अझैपनि नजरअन्दाज गर्ने हो भने देश धितो राख्नुपर्ने वा अर्कोलाई सुम्पिनुपर्ने अवस्थाको सिर्जना हुन्छ ।
सरकारी कर्मचारीको तलबभत्ता आधा कटाउन ढिला भइसकेको छ । पेन्सन, ज्येष्ठ नागरिक भत्ता, एकल महिला भत्ता पनि हालका लागि कटौती गर्नुपर्यो । सरकारी कर्मचारीले देश र जनताको लागि जागिर खाएको भन्छन् । तर, उनीहरुले मुलुक र जनताका लागि केही काम गरेको छन् त ? सरकारी कर्मचारी हाम्रो तलब कटौती गरिदिनु भन्दैनन् । आधा तलबमा काम गर्न उनीहरु तयार छैनन् । तिनलाई सम्पुर्ण सेवासुविधा चाहिएको छ । यता, देशको प्रधानमन्त्री पुष्पकमल दाहालसमेत अहिलेसम्म चुइक्क बोलेका छैनन् । प्रधानमन्त्रीलाई तलबको के खाँचो छ ?
ह्ुँदाखेरि सबैले तलबभत्ता र सेवासुविधा लिनु स्वाभाविकै हो । तर, अर्थतन्त्र श्रीलंकाको बाटोमा हिँडिरहँदा पनि राष्ट्रपति, प्रधानमन्त्री, उपराष्ट्रपति, मन्त्री, सांसद्, जनप्रतिनिधि, भूपू राष्ट्रसेवकलगायत कसैले पनि तलब चाँहिदैन् भनेर घोषणा गरेका छैनन् । देश ठूलो कि तलब ? जनताको लागि पुष्पकमल दाहाल प्रधानमन्त्री बनेको कि तलबभत्ताका लागि ? प्रधानमन्त्रीबाट तलब नलिने अभियानको शुरुवात हुनुपर्ने होइन् ? तलबभत्ता कै लागि त जागिर खाएकै भए नि भइहाल्थ्यो ? हिजो जनयुद्धको बेला तपाईंलाई जनताले सफल बनाएका हुन् ।
आफू भोको बसेर भएपनि उनीहरुले प्रचण्डलाई खान दिए । देशमा केही परिवर्तन आउँला, देश बचाउँला भनेर जनताले त्यत्रो योगदान गरेका होइनन् ? अन्य राजनीतिक दलले आफ्नो फाइदा हेरे भनेर जनताले माओवादीलाई साथ दिएका होइनन् ? तर, जनताले अहिले के पाए त ? प्रचण्डले लडाईं लड्नुको कारण आफ्नो धोक्रो भर्नु मात्र भएको त स्पष्ट भइसकेको छ । प्रधानमन्त्री नि तलब लिने, माओवादीबाट आएका सम्पूर्ण मन्त्री, सांसद्, जनप्रतिनिधि सबै तलबभत्ता लिने । अनि माओवादी र अरुमा के फरक रह्यो ? जनयुद्धको औचित्य के रह्यो ?
प्रचण्डलाई जनताको प्रश्न,‘तलबभत्ता खानका लागि हिजो हतियार उठाएको हो ? १७ हजार नेपालीको छोराछोरी आफ्नो भुँडी भर्न मारेको हो ? माओवादीका नेताहरुलाई जनता र देशभन्दा ठूलो तलबभत्ता हो ?’ हिजो जनयुद्धको बेलामा भोकभोकै बस्नुको कारण माओवादीले बिर्सियो । माओवादी त देशमा विदेशी हस्तक्षेप गर्न दिँदैनौं भनेर दाबा गर्ने पार्टी हो । तर, आज नेपाललाई विदेशी ऋण कति छ त ? माओवादीलाई थाहा छ । नेपालीको थाप्लोमा विदेशी ऋण बढेको बढ्यै छ । परिवर्तनका लागि लडेका माओवादी पनि व्यक्तिगत सम्पत्ति जोड्नमा लुप्त हुँदा यो अवस्था बन्यो ।
कसैले जनताका लागि सोचेनन् । देशको माया कुनै पनि पार्टीलाई छैन् । आफ्नो भुँडी भर्नका लागि यिनीहरु देश नै बेचिदिन्छन् । यस्ता पनि नेता ? नेता हुनलाई त्यागी बन्नुपर्छ । तर, हाम्रा देशका नेताहरु व्यक्तिगत सम्पत्ति जोड्न र आफ्नो छोराछोरी माथि पुर्याउनतिर दौडिए । जनयुद्धको बेलामा कति शहिद छ । कति आमाको कोख रित्तो बन्यो । राजाले जनताले तिरेको करमा मोजमस्ती गर्यो, जनतालाई केही दिएन् भनेर प्रचण्डले हतियार उठाए । नेपालमा भारतको हस्तक्षेप बढेको भन्दै जनयुद्ध शुरु गरियो । देशका लागि भनेर नेपाल आमाका छोराछोरी मर्न तयार भए ।
विडम्बना, प्रचण्ड आज आफैं राजा बनेर हिँडेका छन् । जनताले तिरेको करमा उनले पनि मोजमस्ती गरे । मर्नेलाई शहिद घोषणा गरियो तर तिनको परिवारको अवस्था प्रचण्डले देखेका छन् । प्रचण्डले ती आमाको आँशु लाग्छ । उनले गर्न नहुने काम गरेका छन् । राजा हटाए, जनतालाई स्वतन्त्रता दिलाए यो राम्रो कुरा हो । यद्यपि, आफ्नो उद्धेश्य के थियो ? आफू कुन मार्गदिशामा हिँड्नुपथ्र्यो ? उनले बिर्सिए । आज पनि कतिको जनयुद्धमा लागेको घाउ निको हुन सकेको छैन् । कतिपयले उपचार पाएका छैनन् । प्रचण्डजस्ता अन्यले आफ्नो सात पुस्तालाई पुग्ने सम्पत्ति जोडे, अरु हेरेको हेर्यै ।
नेपालीहरु बिहानबेलुकाको छाक टार्नकै लागि लडाइँ लडिरहेका छन् । मँहगीका कारण पानी तताएर खानुपर्ने अवस्थाको सिर्जना भएको छ । मँहगीले आकाश छोएको छ । बेरोजगारी दिनदिनै बढिरहेको छ । विदेशिने युवाको संख्या झन् बढिरहेको छ । अर्थतन्त्र टाँट पल्टिसकेको छ । बजारमा पूरै मन्दी छाइसकेको छ । बैंक तथा वित्तिय संस्थामा तरलता बढ्दो छ । सहकारीहरु दिनहुँ भागिरहेका छन् । यस्तोमा अवस्थामा पनि सरकार हात बाँधेर बस्दा देशको अवस्था के होला ? जनताका लागि यो गर्छौं, त्यो गर्छौं भनेर ठोकुवा गर्ने माओवादी नै सत्तामा छ । खोइ के गर्यो त ?
सदनमा २७५ मध्ये २७२ जना सांसद् छन् । तर, तीमध्ये कसैले पनि विदेशी ऋण लिन पाँइदैन्, देश बेच्न पाँइदैन् र हामीलाई तलबभत्ता चाँहिदैन् भनेर बोलेका छैनन् । राष्ट्रिय जनमोर्चाका अध्यक्षका चित्रबहादुर केसी पनि अरुजस्तै देखिए । अरुमाथि व्यङ्ग्य गर्ने अनि तलबभत्ता त्याग गर्न नसक्ने । ट्याम्पो चढेको फोटो खिच्ने, जनतालाई भ्रममा पार्ने अनि के के न गरेजस्तो गर्ने ? उनको पनि ‘ चपाउने र देखाउने दाँत’ बेग्लाबेग्लै छ । उनी सरकारी गाडी चढ्दैनन्, जुन राम्रो कुरा हो । तर, उनले पनि तलबभत्ता चाँहिदैन् भनेर घोषणा गरेका छैनन् ।
युवा नेता भनिने गगन थापाले पनि के–के गर्छुझैं गरेका थिए । तर, एउटा तलबभत्ता त्याग्न नसक्नेले देशको लागि के गर्छ ? यस्ता पनि नेता ? हिजो गुण्डा हुँदा हप्ता उठाउनेदेखि जनताले के अपेक्षा गर्ने ? क्षणिकका लागि जनतालाई मिठो गफगाफमा भुलाउने अनि राज्यको ढुकुटीमा मोजमस्ती गरिरहने । जति पनि नेता छन्, तिनीहरुको उद्धेश्य सरकारको ढुकुटी रित्ताउनु हो । देशलाई अर्काको जिम्मा लगाउनु हो । भूपू राजा, भूपू राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री सबैले जनताले तिरेको करबाट खाइरहेका छन् । सत्ता छोडेर के गर्नु, तलबभत्ता छोड्दैनन् ।
सरकार विदेशी ऋण तिर्न नसक्ने अवस्थामा पुगिसकेको छ । जनताले राजस्व तिरेको भए पो ऋण तिर्नु । एउटा नेपालीको टाउकोमा ८५ हजार विदेशी ऋण छ । तीन करोड जनताको टाउकोमा कति छ ? सरकारले यत्रो रकम कहाँबाट तिर्ने ? कि त विदेशीले ऋण मिनाहा गरिदिनुपर्यो । कि नेपाल सरकारले ऋण लिन छोड्नुपर्यो । नेपाल सम्पूर्ण नेपाली जनताको देश हो । नेपालमा नेता र सरकारी कर्मचारीको मात्र हक लाग्दैन् । यिनीहरुले देश बेचेर तलबभत्ता र सेवासुविधा लिन पाँउदैनन् । जनता कतिसम्म शक्तिशाली हुन्छन् भन्ने कुरा अझैपनि हाम्रा देशका नेताले बुझेका छैनन् ।
श्रीलंकामा आर्थिक संकट हुनेबित्तिकै सबै जनता सडकमा उर्लिए । उनीहरुले राष्ट्रपति निवास घेरे । राष्ट्रपति रातारात देश छोडेर भाग्नुपर्यो । यहाँ पनि त्यस्तै अवस्था आउन बेर छैन् । सांसद्हरु लोगो खोलेर भाग्नुपर्छ । राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीलाई जनताले लखेट्छन् । त्यस्तो अवस्था आउनुअगावै सोचविचार गरौं । ८० वर्षका बुढाबुढीहरु हामीलाई भत्ता चाँहिदैन्, देश बेच्न पाँइदैन् भन्छन् । तर, सरकारी कर्मचारीको मुखबाट यो शब्द खस्दैन् । सरकारका कर्मचारी सबै घुसखोरी, तलबखोरी, भत्ताखोरी र सुविधाखोरी बने । अहिले सबै व्यापार व्यवसायमा मन्दी आइसकेको छ ।
मन्त्रिपरिषद्ले बेलैमा निर्णय नगर्ने हो भने देशमा ठूलो आर्थिक संकट निम्तिन्छ । देश रणभूमि बन्न बेर लाग्दैन् । सरकार र जनताबीच ठूलो भिडन्त हुन्छ । खर्च बेलैमा कटौती गरौं, देश जोगाऔं ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!