उपाध्यक्षको जिम्मेवारी दिन नपाइने कानुनी व्यवस्थाको प्रतिकूल हुँदा पनि केन्द्रीय बैंक मौन बस्नु अर्को रहस्यमय छ । हालसम्म नबिलबाहेक अन्य कुनै पनि बैंकले त्यस्तो गैरकानुनी पद सिर्जना गरेका छैनन् ।
बाफियाबमोजिम नियामक निकायले कानुनी रुपमा संस्थाका अध्यक्ष,सदस्य र सिइओलाई मात्र चिन्छ । नबिलको हकमा चौधरीका छोरा निर्वाणलाई बैंक सञ्चालक समिति सदस्यको रुपमा मात्र चिन्छ । उनीहरुको शपथ ग्रहणको व्यवस्थाबमोजिम अध्यक्षले गभर्नरसमक्ष र सदस्यहरुले अध्यक्षसमक्ष लिनुपर्छ । उपाध्यक्ष भन्ने पद नै नभएको अवस्थामा चौधरीले के आधारमा शपथ ग्रहण गरे त्यो नै अचम्मलाग्दो र गैरकानुनी देखिन आएको हो । तर राष्ट्र बैंकले त्यसबारे कारबाही प्रक्रिया अघि बढाएको छैन ।
सोही बैंकको सञ्चालक समितिले नियमानुसार भन्दै चार वटा समिति गठन गरेको छ । तीमध्ये लेखापरीक्षण समितिलाई जिम्मेवारी र दायित्वको हिसाबले तटस्थ मानिन्छ । उक्त समितिमा बस्ने सञ्चालकहरुलाई अन्य समितिको जिम्मेवारीमा राख्न पाईंदैन । तर, लेखापरीक्षण समितिको जिम्मेवारीमा बसेकालाई नै अरु समितिको समेत जिम्मेवारी दिइएको छ ।
यसमा पनि केन्द्रीय बैंकले कुनै कारबाही गरेको पाइन्न । नबिलको अडिट कमिटी संयोजकमा सञ्चालक प्रवीण टिवडेवाला तोकिएका छन् । त्यसको सदस्यमा अर्का सञ्चालक मलाय मुखर्जी छन् । तर, उनै दुई जनालाई रिस्क म्यानेजमेन्ट समितिको संयोजक र सदस्य बनाइएको छ । जोखिम व्यवस्थापन समितिको संयोजकमा मुखर्जी र सदस्यमा टिवडेवालालाई राखिएको छ ।
यसैगरी जोखिम समितिका सदस्य सञ्चालक एआरएम नाजमुसलाई एएमएल सिएफटी कमिटी संयोजकको जिम्मेवारी दिइएको छ । यी सबै कार्य केन्द्रीय बैंकको निर्देशन,एकीकृत निर्देशनका व्यवस्था र बाफियाका सम्बन्धित दफा प्रतिकूल हुन् । तर नियमनकारी निकायको भूमिकामा रहेको राष्ट्र बैंक नबिलभित्र चौधरीका बदमासी र दादागिरीबारे चुप लाग्नु झन् उदेकलाग्दो हुँदैछ ।
यसैबीच नबिल बैंकको वेवसाइटमा अस्ति मंगलबार रातिसम्म सूचना अधिकारीबारे सर्वसाधारणले थाहा पाउने स्थानमा कुनै जानकारी नै राखिएको छैन । जबकि राष्ट्र बैंक र अन्य बैंक तथा वित्तीय संस्थाले आफ्नो वेवसाइटको अगाडि र सर्वसाधारणले सजिलै देख्ने स्थानमा त्यस्ता अधिकारीबारे उल्लेख गर्ने गरेका छन् ।
यसबारे बैंकमा सूचना अधिकारीको जिम्मेवारी दिइएको भनिएका सुरेशप्रसाद त्रिपाठीको प्रतिक्रियाको निम्ति गरिएको प्रयास सफल हुन सकेन । त्रिपाठीले आफू सामाजिक कार्यमा कार्यालय बाहिर रहेको जवाफ दिए । नबिलको बदमासीबारे जानकारी लिन खोज्दा राष्ट्र बैंकका प्रवक्ता तथा कार्यकारी निर्देशक गुुणाकर भट्टले पनि आफू अन्तर्राष्ट्रिय कार्यक्रममा व्यस्त रहेको जानकारी दिए ।
बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) ज्ञानेन्द्र ढुंगानाले भने ती सबै व्यवस्था राष्ट्र बैंकको स्वीकृतिमा भएको दाबी गरेका छन् । तर, नेपाल राष्ट्र बैंकले प्रचलित ऐन,नियम र निर्देशन प्रतिकूल हुने गरी कुनै स्वीकृति नदिएको नियमन विभागका एक जना उपनिर्देशकले बताए । उनले भने, ‘ढुंगानाले चौधरीको चाकडी गर्न राष्ट्र बैंकमाथि दोष थोपरेका हुन् ।’ (जनआस्थाबाट)
प्रतिक्रिया