यि क्याम्पसमा निर्विरोध छानियो नेतृत्व (सूची सहित)
- March 16, 2023 गते तीव्रखबरमा प्रकाशित
तीव्रखबर (छिटो खबरको एउटै विकल्प)
काठमाडौं । त्रिभुवन विश्वविद्यालयका आंगिक तथा सम्बन्धनप्राप्त केही क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनअघि नै स्ववियु गठन भएको छ । फरक संगठनको सहमतिमा सभापतिदेखि सदस्यसम्मका पदमा भागबन्डा गरी निर्विरोध नेतृत्व चयन गरिएको हो ।
पछिल्लो प्राप्त विवरणअनुसार निर्विरोध सभापतिमा विजय हुनेमा एमालेनिकट अनेरास्ववियु र माओवादीनिकट अखिल क्रान्तिकारीको संख्या उस्तै छ । नेविसंघ भने तेस्रो स्थानमा छ । अनेरास्ववियुका महासचिव नरेश रोकायले २९ वटा क्याम्पसमा अनेरास्ववियुका सभापति निर्विरोध निर्वाचित भएको जानकारी दिए ।
अखिल क्रान्तिकारीका महासचिव दीपेश पुनले ३२ वटा क्याम्पसमा सर्वसम्मत नेतृत्व पाएको बताए । नेविसंघका मुख्यसचिव विजय खड्काले १९ वटा क्याम्पसमा नेविसंघका सभापति सर्वसम्मत चयन भएको जानकारी दिए । त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका प्रमुख प्रा.डा. पशुपति अधिकारीले यसपटक त्रिविका दुईवटा आंगिकसहित सम्बन्धनप्राप्त क्याम्पसमा ठूलो संख्यामा स्ववियु निर्विरोध नेतृत्व चयन भएको बताए ।
‘फरक संगठनबाट सर्वसम्मत रूपमा धेरै क्याम्पसमा नेतृत्व चयन भएको छ, यो धेरै सकारात्मक पक्ष हो,’ उनले भने । त्रिविको आंगिक धनकुटा बहुमुखी क्याम्पसमा एमालेनिकट अनेरास्ववियुका सन्तोष बुढाथोकीको नेतृत्वमा सर्वसम्मत स्ववियु चयन भएको छ । गोरखा क्याम्पसमा अखिल क्रान्तिकारीका विष्णु पाण्डे सभापतिमा निर्विरोध निर्वाचित भएका हुन् ।
५ चैतमा मतदान हुँदै
त्रिविको कार्यतालिकाअनुसार निर्विरोध निर्वाचित नभएका क्याम्पसमा आगामी ५ चैतमा मतदान हुँदै छ । उपत्यका र बाहिरका केही आंगिक क्याम्पसमा विवादका कारण चुनावी प्रक्रिया अघि बढ्न सकेको छैन । १९ फागुनबाट चुनावी प्रक्रिया सुरु भएको थियो । उम्मेदवारले २ चैत राति १२ बजेसम्म प्रचारप्रसार गर्न पाउनेछन् ।
त्यसपछि मौन अवधि सुरु हुनेछ । २८ वर्ष नकटेका विद्यार्थीले मात्र स्ववियुमा भाग लिन पाउनेछन् । स्ववियु कार्यसमितिको पदावधि दुई वर्षको हुनेछ, तर कुनै कारणवश निर्धारित मितिमा निर्वाचन हुन नसकेमा ६–६ महिनामा त्रिवि कार्यकारी परिषद्ले समय थप गर्न सक्नेछ । कार्यसमितिको संख्या विद्यार्थीको संख्याअनुसार फरक छ ।
दुई सयजनासम्म विद्यार्थी हुने क्याम्पसमा ११ सदस्यीय, दुई सय एकदेखि हजारसम्म १५ सदस्यीय, एक हजार एकदेखि तीन हजारसम्म १९ सदस्यीय र तीन हजारभन्दा माथि विद्यार्थी भएको क्याम्पसमा २१ सदस्यीय स्ववियु कार्यसमिति रहने व्यवस्था छ । करिब १४ वर्षपछि सबै क्याम्पसमा स्ववियु निर्वाचन हुन लागेको हो ।
०७३ मा केही क्याम्पसमा चुनाव भए पनि ती क्याम्पसमा तेस्रोपटक चुनाव हुनुपर्ने समय गुज्रिसक्दासमेत स्ववियु चुनावबारे अन्योल छ । विद्यार्थीको आधिकारिक संगठन स्ववियुको प्रतिनिधित्व नहुँदा दलनिकटका संगठन र त्यसभित्रका विभिन्न पक्षका विद्यार्थी नेतालाई मनाउनुपर्ने भएपछि क्याम्पस प्रशासनलाई समेत कठिनाइ भएको छ ।
पछिल्लोपटक ०६५ मा प्रायः सबै आंगिक र सम्बन्धनप्राप्त क्याम्पसमा समेत स्ववियु चुनाव भएको थियो । चुनावको घोषणा धेरैपटक भए पनि ०७३ मा केही क्याम्पसमा मात्र चुनाव भएको थियो । ठूला क्याम्पसमा स्ववियु चुनाव भएन । त्रिभुवन विश्वविद्यालय विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका अनुसार ०७३ मा उपत्यकाभित्रका नौवटा आंगिक क्याम्पसमा मात्र स्ववियु चुनाव सम्पन्न भएको थियो । त्यतिवेला उपत्यकाका १३ र उपत्यकाबाहिरका २३ आंगिक क्याम्पसमा स्ववियु चुनाव हुन सकेन ।
प्रतिक्रिया