व्याजदरका कारण महासंघभित्र चर्कियो विवाद : निर्वाचनमा असहयोग गर्ने सदस्यहरुको चेतावनी

- March 13, 2023 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

रोशन कार्की
काठमाडौं । बैंकर र व्यवसायी एकै व्यक्ती भएका कारण अहिले अत्याधिक रुपमा बृद्धि भएको बैंक वित्तिय क्षेत्रको व्याजदरको विरुद्धमा अधिकाशं नेपाली व्यवसायीहरु सडक आन्दोलनमा केन्द्रीत भएका छन् । देशभरका उद्योगी व्यवसायीहरुले उद्योगधन्दा चलाउने भन्दै लिएको बैंकिङ ऋणको व्याज विना जानकारी बैंक सञ्चालकहरुले एकाएक ठूलोमात्रामा बृद्धि गरेपछि सोका कारण उद्योगधन्दा बन्द हुन पुगेको भन्दै व्याजदर घटाउनु पर्ने माग राख्दै आएपछि अहिले नीजि व्यवसायीहरुको छाता संगठनको रुपमा रहेको नेपाल उद्योग वाणिज्य महासंघभित्र विवादले उग्र रुप लिएको बताइएको छ ।

महासंघकै अध्यक्ष शेखर गोल्छा, बरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल, उपाध्यक्ष रामचन्द्र संघाईलगायत अन्य बैंकर व्यवसायीका कारण महासंघभित्र विवादले उग्र रुप लिएको बताइएको छ । बैंकको व्याजदर वृद्धिमा ठूला व्यवसायीहरुको मिलोमत्तो भएको आरोप महासंघकै कार्यसमिति सदस्यहरुले लगाउदै आएको समेत छन् ।

अचाक्ली रुपमा बृद्धि भएको व्याजदरको विषयमा व्यवसायीलाई भन्दा पनि बैंकरहरुलाई फाईदा हुने गरि व्यवसायीहरुको आन्दोलानलाई दवाउने कार्यमा लागी परेको आरोप सदस्यहरुको रहेको छ । व्याजदर घटाउ आन्दोलन दवाउन ग्लोबल आइएमइ बैंककै अध्यक्ष तथा महासंघका बरिष्ठ उपाध्यक्ष चन्द्र ढकालकै खर्चमा केही व्यक्ती परिचालन गरेको समेत आरोप लगाएका छन ।

महासंघको कार्यसमितिको बैठकमा यस विषयमा गम्भिर रुपमा कुरा उठेसंगै आरोप प्रत्यारोप समेत भएको बताइएको छ । ठूला व्यवसायीले आधारदरमा नै कर्जा पाउने गरेको तर साना व्यवसायीले कर्जा लिँदा आधारदरमानै बढी प्रिमियम तिर्नु परेको भन्दै बैंक र ठूला व्यवसायीबीच विवाद उत्पन्न भएको हो ।

बैंकले व्याजदर वृद्धि गर्दा समेत सो विषयमा वाणिज्य महासंघले प्रतिवाद गर्न नसकेको भन्दै कार्यसमितिमा नेतृत्वको आलोचना गरिएको छ । महासंघका पदाधिकारीले कर्जाको व्याजदर वृद्धि हुनुमा व्यवसायीको हात नभएको दावी गरेपछि असन्तुष्टि पक्ष आक्रामक बन्दै बैंकर र व्यवसायी एकै व्यक्ती भएपछि त्यसको जिम्मा महासंघले नै लिनु पर्ने भन्दै विवाद उत्पन्न भएको बताइएको छ ।

एक सदस्यले भने,‘ठूला व्यवसायीले अहिले पनि चाहेजति ऋण पाएका छन्, साना व्यवसायीले बैंकबाट ऋण पाउन सकेका छैनन्, ठूला व्यवसायीहरुले वेस रेट वा त्यसमा एक प्रतिशत प्रिमियम जोडर कर्जा पाउँदा साना व्यवसायीले वेसरेटमा १० प्रतिशतसम्म प्रिमियम तिर्नु परेको छ, व्यवसायीमाथी परेको यो अन्यायमाथी महासंघका जिम्मेवार पदाधिकारीहरु अझै बैंककै पक्षमा बोली व्यवसायीमाथी दवाव दिने काम भैरहेको छ ।’

मुद्रास्फिति भन्दा बैंकले निक्षेपकर्तालाई दिने व्याजदर बढी भएकोले यस अवस्थामा उद्योग व्यापार फस्टाउन नसकेको र त्यसको असर देशको अर्थतन्त्रमा परेको समेत उद्योगीहरुको भनाई रहेको छ । बैंकहरुले १० प्रतिशतमा निक्षेप लिएर ८ प्रतिशत मार्जिन खाएर १८ प्रतिशतसम्ममा कर्जा लगानी गरेको पीडित व्यवसायीहरुको भनाई रहेको छ । अर्कोतर्फ राष्ट्र बैंकले समेत व्यवसायीलाई व्यवसाय नगर, पैसा लगेर बैंकमा निक्षेप राख भन्ने खालको नीति लिएको छ, यसले व्यवसायिक बतावरण नबनाउने उद्योगीहरुको भनाई रहेको छ ।

कर्जा सम्झौता विपरित व्याजदर वृद्धि गरिदा समेत महासंघका पदाधिकारीहरु मौन बसेकै कारण अहिले व्यवसायीहरु आन्दोलनमा उत्रनु परेको बताएका छन् । उनीहरुले बैंकको व्याजदर नघटेको खण्डमा आसन्न महासंघको निर्वाचनमा समेत असहयोग गर्ने सम्मका कार्यक्रम तय गरेको समेत बताइएको छ ।

महासंघका अध्यक्ष शेखर गोल्छा समेत बैंकरको पक्षमा लागेकाले आन्दोलन दवाउन लागि परेको आरोप रहेको छ । देशभरका उद्योगी–व्यवसायी नेपाल राष्ट्र बैंक र बैंकहरुका नीतिका कारण मारमा परेको भन्दै विभिन्न समयमा विभिन्न प्रकारको आन्दोदन गरि सडकमा प्रदर्शनमा उत्रिरहेका छन् ।

यस्तो प्रदर्शन जिल्ला–जिल्लामा भइरहेका छन् । सुर्खेतका व्यवसायीले ‘बैंक बहिष्कार’ लेखेको ब्यानरसहित वीरेन्द्रनगरमा ¥याली निकालेका थिए । निजी क्षेत्रले बैंक ब्याजदरसहित गत कात्तिक १ गतेबाट कार्यान्वयनमा गएको चालुपूँजी कर्जा सम्बन्धी व्यवस्था र व्याजदर वृद्धिको विरोधमा व्यवसायीले देशव्यापी रुपमा आन्दोलन थालेका हुन् ।

महासंघले बैंक तथा वित्तिय क्षेत्रकै पक्षमा उभिएका कारण व्यवसायीहरुबीच गरेको भेदभावले गर्दा स्थानीय स्तरबाटै बैंकविरुद्ध मोर्चाबन्दी सुरु भएको छ । पूर्वका जिल्ला नगर उद्योग वाणिज्य संघहरूले संयुक्त रुपमै बैंक ब्याजदर वृद्धिविरूद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेर उद्योग वाणिज्य महासंघलाई दबाब दिदै आएका छन् ।

महासंघ प्रदेश नम्बर १ ले ब्याजदर वृद्धिसम्बन्धीको आन्दोलनमा जिल्लाका हाँगाविगाले मात्रै आन्दोलन गरेर केही नहुने भन्दै महासंघ नै सडकमा आउनुपर्ने थियो तर अहिलेसम्म नआएको भन्दै आलोचना समेत गरेको थियो । अहिलेसम्म भएका आन्दोलन छिटफुट मात्रै भएको र महासंघले रोकेर राखेको समेत आन्दोलनमा उत्रेका केही व्यवसायीहरुले बताएका छन् ।

ब्याजदर स्थिरता हुनपर्ने, चालुपूँजी कर्जा मार्गदर्शन कार्यान्वयन स्थगित हुनुपर्ने, ब्याजदरको बेसरेटमा २ प्रतिशत प्रिमियम दर कायम गरिनुपर्ने र कर्जाको ब्याजदरमा प्रिमियम यथावत हुनपर्ने माग व्यवसायीहरुको रहेको छ । बैंक र व्यवसायीबीच झगडा गराएर राष्ट्र बैंक भने चोखो बन्दै आएकोे आरोप पनि व्यवसायीहरुको रहेको छ ।

व्यवसायीहरुको आन्दोलनका कारण बैंकरहरु भने रुष्ट बन्दै गएका छन् । अहिलेको समस्याको मूल कारण भने व्यवसायीको प्रवृत्ति नै भएको बैंकरहरुको आरोप लगाएका छन् । ‘हिजो बेस रेटमा यति प्रतिशत प्रिमियम तिर्न तयार छौं भनेर सम्झौता गर्ने र कर्जा लिने अनि अहिले बैंक बहिष्कार भनेर आन्दोलन गर्ने कुराको औचित्य नभएको भन्दै आन्दोलन रोक्न दवाव दिदै आएका छन् ।

सो कार्यमा महासंघका बरिष्ठ उपाध्यक्ष चन्द्र ढकालकै सहभागीतमा बैंकस संघलाई अगाडी लगाएर व्यवसायीको आन्दोलन रोक्न दववा दिदै आएका छन् । ब्याजदर वृद्धिको विषयमा व्यवसायीको विरोध र त्यसको शैलीमा राष्ट्र बैंक समेत विपक्षमा उभिएको छ । आन्दोलनका नाममा बैंकिङ सेवा नै अवरुद्ध गराउनु गलत भएको राष्ट्र बैंकको भनाई बाहिर आई सकेको छ । राष्ट्र बैंकले दिएको प्रतिकृयाका कारण बैंक र व्यवसायीबीच झन द्वन्द्ध निम्त्याएको विज्ञहरुको बुझाई रहेको छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!