भारतको अमूल भित्र्याउन नेपालमा दूधमा मूल्यवृद्धि

- March 5, 2023 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

लेखनाथ पोखरेल

काठमाडौं । दूधमा भएको मूल्यवृद्धिको चौतर्फी विरोध भएको छ । सरकार आफैँले तय गरेको मूल्यवृद्धि प्रणालीको समेत बेवास्ता गर्दै शुक्रबार दूधको मूल्य बढाउने निर्णय गरेपछि चौतर्फी विरोध सुरु भएको हो ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले दूधको न्यूनतम मूल्य साढे नौ रुपैयाँ बढाएर ६५ रुपैयाँ कायम गर्ने निर्णय गरेको छ । यसअघि प्रतिलिटर ५६ रुपैयाँ चार पैसा रहेकोमा अब ६५ रुपैयाँ पुगेको छ । विगतमा विभागीय मन्त्रिस्तरीय निर्णयबाटै दूधको मूल्य तय हुँदै आएको थियो ।

सरकारले किसानले दूधको उचित मूल्य पाउन नसकेको गुनासोपछि राष्ट्रिय दुग्ध विकास बोर्डले तयार पारेको अध्ययन प्रतिवेदनअनुसार कृषि तथा पशुपन्छी विकास मन्त्रालयको प्रस्तावमा दूधको मूल्य बढाइएको जनाएको छ ।

तर, दुर्ई वर्षको अन्तरालमा मूल्य समायोजन प्रणालीविपरीत सरकारले एक वर्षमै मूल्य बढाएर आफैँले बनाएको मापदण्ड पालना नगरेको भन्दै उपभोक्ता अधिकारकर्मीले विरोध जनाएका छन् । सरकारले किसानका नाममा मूल्यवृद्धि गरेको बताए पनि बढेको मूल्य किसानले नभई बिचौलियाले पाउने उनीहरूको दाबी छ । ‘मूल्यवृद्धिले बिचौलियालाई मात्रै फाइदा हुन्छ ।

उद्योगी र किसानबीचको मूल्य अन्तर अझै पनि २० रुपैयाँभन्दा बढी छ, त्यो २० रुपैयाँ बिचौलियाले पाउने गरेका छन् ।’ सरकारले आफैँले बनाएको मूल्यवृद्धिको नियम पालन नगरेको राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले बताए ।

उनले भने, ‘सरकारले दुई(दुई वर्षमा दूधको मूल्य समायोजन गर्ने भनेर नियम बनाएको छ तर एक वर्षमै मूल्य बढाउने निर्णय गरेको छ । सरकार आफैंले बनाएको नियम पालना गर्दैन ।’ अध्यक्ष महर्जनका अनुसार सरकारले मूल्य बढाए पनि बढेको मूल्य किसानले पाउँदैनन् ।

कतिपय किसानले प्रतिलिटर ५० रुपैयाँ पनि नपाएको उनको दाबी छ । किसानले ५० रुपैयाँ पनि नपाउने, डेरी उद्योगले ७० रुपैयाँमा खरिद गर्नुपर्ने, उपभोक्ताले लिटरकै सय रुपैयाँभन्दा बढी तिर्नुपर्ने अवस्था रहेको उनले बताए ।

अध्यक्ष महर्जनले भने, ‘सरकारले बढाएको मूल्यले किसान र उद्योगलाई कति फाइदा पुग्छ, त्यो उनीहरू जानून् तर किसानको दूधबाट फ्याट र भ्याट खाने बिचौलिया मज्जासँग मोटाउने भयो, सरकारको निर्णयले न किसानलाई फाइदा हुन्छ, न त उद्योगीलाई । बिचौलियालाई मात्रै फाइदा हुन्छ ।’

उद्योगी र किसानबीचको मूल्य अन्तर अझै पनि २० रुपैयाँभन्दा बढी रहेको भन्दै २० रुपैयाँ बिचौलियाले लिने गरेको उनले बताए । उपभोक्ता हित संरक्षण मञ्चले त किसानका नाममा सरकारले उद्योगी र भारतलाई पोस्न दूधको मूल्य बढाएको आरोप लगाएको छ ।

दूधमा आत्मनिर्भरोन्मुख अवस्थामा पुगेको नेपाललाई सरकारले वर्षैैपिच्छे दूधको मूल्य बढाएर पुनः परनिर्भरतर्फ धकेलिरहेको मञ्चका महासचिव विष्णुप्रसाद तिमल्सिनाले बताए । उनले भने,‘नेपालमा दूध उत्पादन नै कम छ भन्दै डेरी उद्योगीले अवैधरूपमा भारतबाट पाउडर दूध ल्याएर घोलेर बेचिरहेका छन् ।

उनीहरूले उपभोक्तालाई बेच्ने दूधमा फ्याटको मात्रा हुँदैन तर प्याकेटमा फ्याटको मात्रा लेखिएको हुन्छ । किसानलाई पनि मूल्य नै दिँदैनन्, त्यही भएर किसानले उत्पादन गर्ने सबै दूध डेरीमा आउन नसकेको हो । जसरी पनि नेपालमा भारतको अमूल डेरी भित्र्याउने रणनीतिसाथ मूल्यवृद्धिको शृंखला सुरु भएको छ । जुन देशका लागि घातक छ ।’

राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक राजेन्द्रप्रसाद यादवले भने विभिन्न कारणले दूध उत्पादन लागत मूल्य बढेकाले किसानको हितलाई ध्यानमा राखेर मूल्य बढाउन प्रस्ताव गरिएको दाबी गरे । २०७४ सालदेखि हरेक दुई-दुई वर्षमा दूधको मूल्य बढाउने प्रणाली बनाइएको भए पनि यसपटक किसानको लागत धेरै बढेको पाइएकाले एक वर्षमै बढाउन प्रस्ताव गरिएको उनको जिकिर छ ।

उपभोक्ता हित संरक्षण मञ्चका महासचिव तिमल्सिना भने दुग्ध विकास बोर्ड उपभोक्ता र किसानको हित नभई उद्योगीको हितमा काम गर्ने निकाय भएकाले बोर्डको दाबीको कुनै औचित्य नरहेको बताउछन् । उनले भने, ‘दुग्ध विकास बोर्डले अहिलेसम्म उपभोक्ता र किसानको हितमा काम गरेको छैन, बोर्ड भनेको डेरी उद्योगीले सञ्चालन गर्ने निकाय हो ।’

बोर्डका अनुसार यसपटक किसानका लागि कम्तीमा सात रुपैयाँ र बढीमा १० रुपैयाँ बढाउन प्रस्ताव गरिएकोमा सरकारले नौ रुपैयाँ बढाएको छ । किसानको दूध उत्पादन लागत प्रतिलिटर ६५ रुपैयाँ ५० पैसा रहेकाले सोहीअनुसार सिफारिस गरिएको बोर्डको दाबी छ ।

बोर्डका अनुसार कोरोना महामारीका कारण दूध उत्पादन लागत ११।५३ प्रतिशतले बढेको छ । हाल देशभर वार्षिक करिब २५ लाख टन दूध उत्पादन भइरहेको छ । गत वर्ष २४ लाख ८० हजार टन दूध उत्पादन भएको थियो ।

उत्पादितमध्ये १७ प्रतिशत औपचारिक र ३३ प्रतिशत अनौपचारिक क्षेत्रबाट कारोबार हुने गरेको छ भने बाँकी ५० प्रतिशत घरेलु प्रयोजन हुने गरेको छ । सरकारले २०६७/०६८ देखि २०७९ फागुनसम्म ११ वर्षमा आठपटक दूधको मूल्य बढाएको छ ।

२०६७/०६८ मा किसानले प्रतिलिटर दूधको मूल्य ३४ रुपैयाँ ६८ पैसा र उद्योगीले ४८ रुपैयाँ पाउने गरी बढाइएको थियो भने पछिल्लो मूल्य बढ्दा उपभोक्ता मूल्य ९६ रुपैयाँ पुगेको छ । (हिमालय टाइम्सबाट)


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!