विनागाइड पदयात्रामा जान विदेशी पर्यटकलाई प्रतिबन्ध

- March 3, 2023 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । विदेशी पर्यटकले विनागाइड पदयात्रामा जान प्रतिबन्ध गरिएको छ । नेपाल पर्यटन बोर्डले २०२३ अप्रिल १ तारिकदेखि लागु हुने गरी सो निर्णय गरेको जनाइएको छ ।

पर्यटकले नेपाल पर्यटन बोर्ड तथा पर्यटक सूचना व्यवस्थापन प्रणाली (टिम्स) कार्ड बिक्रीको अनुमति पाएका निकायबाट टिम्स कार्ड लिएर एक्लै भ्रमणमा जाने गरेकामा अब सो कार्य नगर्न र नगराउन समेत सम्बन्धित पक्षलाई सुझाब दिएको छ । यस्ता पर्यटक पदयात्राका दौरान बढी असुरक्षित हुने र समस्या पर्दा उद्दारमा पनि समस्या हुने अवस्था दोहोरिएपछि गन्तब्यलाई अझ बढी सुरक्षित बनाउन यस्तो निर्णय लिनु परेको बोर्डले जनाएको छ ।

अब एफआईटीका लागि जारी हुने टिम्स कार्ड जारी नहुने ुसमेत जनाइएको छ । पर्यटकले ट्रेकिङ कम्पनीमार्फत नेपाल आएर गाइड लिएर मात्र पदयात्रामा निस्कनु पर्ने भएको छ ।बोर्डले एफआईटीका लागि जारी हुने टिम्स कार्ड बन्द गरेसँगै अब सबै पर्यटकलाई एकै प्रकारको टिम्स कार्ड वितरण गर्ने समेत जनाएको छ ।

यसअघि समूहमा भ्रमणमा जानेले प्रतिव्यक्ति १ हजार रुपैयाँ र एकल भ्रमणमा जानेले प्रतिव्यक्ति २ हजार रुपैयाँ तिरेर टिम्स कार्ड पाउँथे । अब भने सबै पर्यटकका लागि टिम्स कार्डको मूल्य प्रतिव्यक्ति २ हजार रुपैयाँ पुर्‍याइएको छ । अर्थ मन्त्रालयबाट शुल्क बढाउने स्वीकृति लिएर पर्यटन मन्त्रालयको सहमतिमा टिम्स कार्डको मूल्य बढाउने निर्णय भएको जनाइएको छ ।

नेपालका साहसिक गन्तब्यमा जोखिमपूर्ण यात्रामा निस्कने पर्यटकको सुरक्षाको ग्यारेन्टी गर्दै गुणस्तरीयता कायम राख्न एक्लै भ्रमणमा जान रोक लगाउँदै टिम्स कार्डको मूल्य समान गराइएको उनले बताए । सार्क मुलुकका नागरिकले यसअघि ३ सय रुपैयाँ तिर्दै आएको टिम्स कार्डलाई अब १ हजार तिर्नुपर्ने भएको छ ।

अहिलेसम्म टिम्स कार्ड लिन नेपाल पर्यटन बोर्ड वा ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टाने) को कार्यालयमा भौतिक रुपमा उपस्थित हुनुपर्ने अवस्था रहेकोमा अब बोर्डले यो प्रावधानलाई सहजीकरण गर्दै अनलाइनबाटै टिम्स कार्ड दिन सकिने व्यवस्था गर्ने निर्णय समेत गरेको छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!