रविमाथी अध्यागमन र प्रहरीमा हदैसम्मको कारबाहीको माग राख्दै उजुरी

- February 1, 2023 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले झुटो विवरण पेस गरि राहादानी र रद्ध भएको नेपाली नागरिकताबाटै सरकारी सेवा सुविधा उपभोग गरेको भन्दै सोको छानविन गरि हदैसम्मको कारबाहीको माग गर्दै सरकारी निकायमा उजुरी हालिएको छ । लामिछाने बिरुद्ध मंगलबार दुई वटा जाहेरी भिन्नाभिन्नै सरकारी कार्यालयमा दर्ता भएका छन ।

सुरुमा महानगरीय प्रहरी प्रभाग काठमाडौंमा दर्ता गर्न गर्दा भने सो निबेदन लिन अस्वीकार गरेको थियो । पछि अध्यागमन विभागमा युवराज पौडेल (सफल) ले जाहेरी दरखास्त बुझाएसंगै प्रहरी प्रभाग काठमाडौंमा पनि सो उजुरी दर्ता भएको बताएका छन् । महानगरीय प्रहरी प्रभागमा पौडेलले पेश गरेको उजुरीमा लामिछानेले राहदानी सम्बन्धी कसुर गरेको आरोप लगाएका छन् ।

अध्यागमन विभागमा पेश गरेको जाहेरीमा लामिछानेले अमेरिकी नागरिक रहेकै बेला झुक्काएर नेपाली राहदानी लिएको विषयमा अनुसन्धान गरी कारबाही गर्न माग गरिएको छ ।

मिति २०७० फाल्गुन ९ गते तदनुसार सन् २०१४ फेब्रुअरी २१ तरिखमा संयुक्त राज्य अमेरिकाको नागरिकता प्राप्त गरेका अमेरिकी पासपोर्ट वाहक उल्लेखित रवि लामिछानेले संयुक्त राज्य अमेरिकाको नागरिक रहेकै अवस्थामा आफन्त भेट्ने गरी पारिवारिक भिसामा नेपाल आएको बखत नीजको अमेरिकी नागरिकता र पासपोर्ट रहेको वास्तविक विवरण लुकाई छिपाई अमेरिकी नागरिकता प्राप्त गरेपछि निजको स्वतः कायम नरहेको अवस्थाको जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट विगतमा मिति २०५० फाल्गुन १० गते जारी १८२२२ नम्बरको पुरानो नागरिकता प्रमाणपत्रकै प्रतिलिपि राहदानी विभागसमक्ष पेश गरी सोही कायम नरहेको नेपाली नागरिकताको विवरण राखी अमेरिकी नागरिक रहेका निज लामिछानेले राहदानी निकालेको उल्लेख छ ।

निबेदनमा ऐनको प्रचलित व्यवस्था विपरीत जानी जानी झुटो विवरण दिई मिति २०७२ जेठ १३ गते तदनुसार २७ मे २०१५ मा गैरकानुनीढंगले सन् २०२५ मे २६ तारिखसम्मको म्याद रहेको ०८८३४८३८ नम्बरको नेपाली राहदानी लिएका रहेछन् ।’ भन्ने प्रहरीमा दर्ता गरेको उजुरीमा उल्लेख गरिएको छ ।

कारबाहीको माग गर्दै जाहेरीमा अगाडी लेखिएको छ, अमेरिकी नागरिक र राहदानीवाहक रहेको अवस्थामा यसरी निज रवि लामिछानेले नेपाली राहदानी कानुनको बर्खिलाप हुने गरी नेपाली राहदानी समेत लिई दोहोरो राहदानी राख्ने एवं दोहोरो राहदानी प्रचलन गर्ने समेतको कसुरजन्य कामकारबाही गरी पाऔं भनी उजुरी दर्ता गराइएको छ ।

निजले वारदात घटना हुँदाको मितिमा तत्काल प्रचलित राहदानी ऐन, २०२४ को दफा ५ को खण्ड (ख) तथा हाल प्रचलित राहदानी ऐन, २०७६ को दफा २१ को खण्ड (क) ले निषेधित राहदानी सम्बन्धी कसुर गरेको हुनाले कसुरदार निज लामिछानेलाई तत्कालै नियन्त्रणमा लिई उक्त राहदानी सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान गरी कानुन बमोजिम मुद्दा चलाई कानुनी कारबाही गरी हदैसम्म सजाय होस् भनी यो जाहेरी दरखास्त पेश गरेको छु ।

रविलाई अर्को पासपोर्ट समेत नदिने गरी कारबाहीको माग गर्दै त्यसमा थप यस्तो दलिल गरिएको छ – निज रवि लामिछानेले गरेको कसुर तत्काल प्रचलित राहदानी ऐन, २०२४ को दफा ५ को खण्ड (ख) र हाल प्रचलित राहदानी ऐन, २०७६ को दफा २१ को खण्ड (क) ले निषेधित गरेको जानी जानी झुटो विवरण दिई राहदानी लिने प्रकृतिको कसुर भएको हुनाले वारदात भएको मितिमा तत्काल प्रचलित रहेको राहदानी ऐन, २०२४ को दफा ५ को खण्ड (ख) को व्यवस्था अनुसार निज कसुरदार रवि लामिछानेलाई पाँच वर्षसम्म कैद र हदैसम्म जरिवाना समेत गर्ने गरी कानुन बमोजिम मुद्दा चलाई कारबाही गरी पाऊँ ।

गैर नेपाली नागरिक रही प्राप्त गरेको सो ०८८३४८३८ नम्बरको निज कसुरदारको नामको राहदानी राहदानी ऐन बमोजिम रद्द गर्न तथा राहदानी सम्बन्धी कसुरको अनुसन्धान भई रहेको सिलसिलामा निज कसुरदारको नाममा नयाँ राहदानी समेत जारी नगर्ने गरी कसुरको अनुसन्धान तथा कानुन बमोजिम मुद्दाको कारबाही चलाई पाऊँ भन्ने व्यहोराको निबेदन दर्ता गराएका छन् ।

अध्यागमन विभागमा पेश गरिएको उजुरीमा पौडेलले लेखेका छन् – अध्यागमन ऐन, २०४९ को दफा ८ बमोजिम अप्रत्यक्ष वा प्रत्यक्ष रुपमा महानिर्देशकलाई जानकारी हुन आएमा महानिर्देशकले तोकेको अध्यागमन अधिकृतले ऐन वा नियम विपरीत कुनै अपराध भए वा हुन् लागेको छ भने तहकिकात र कार्यवाही गर्नु पर्दछ भन्ने व्यवस्था भएकोमा नेपाल नागरिकता ऐन, २०६३ को दफा १० (१) अन्तर्गत कायम नरहेको नागरिकता प्रयोग गरेर आफू अमेरिकी नागरिक भएको समयमा नेपाली राहदानी लिई अध्यागमन ऐन, २०४९ को दफा ५ विपरीतको दण्डनीय कार्य गर्ने रवि लामिछानेलाई अध्यागमन ऐन, २०४९ को दफा १० बमोजिम हदै सम्मको सजाय गरी पाउँ ।

कानुन सबैकालागि समान रुपमा लागु हुन्छ । कानुनको नजरमा कोही पनि ठुलो वा सानो हुँदैन । कानुनले शक्तिशाली वा कमजोर भनेर छुटाउँदैन । दण्डनीय कार्य गर्ने प्रत्येक व्यक्तिलाई कानुनको दायरामा ल्याउनु पर्दछ । अध्यागमन ऐन अन्तर्गत भएको कसुरमा ठुलो सानो नभई दोषी उपर छानबिन र कार्यवाही गर्ने दायित्व र जिम्मेवारी महानिर्देशकज्यूलाई अध्यागमन ऐनको दफा ८ ले प्रदान गरेको हुँदा विदेशी नागरिक भएको समयमा आफू नेपाली नागरिक भएको भनी निज रवि लामिछानेले नेपाली पासपोर्ट प्राप्त गरेको व्यापक रुपमा सार्वजनिक भएको सम्बन्धमा अवगत नै हुनुहुन्छ भन्ने आशा गर्दछु भन्दै अध्ययागमनका महानिर्देशकलाई सम्बोधन गरेर उजुरी दर्ता गरिएको छ ।

निज रवि लामिछानेले आफू अमेरिकी नागरिक भएको बखतमा केवल नेपाली नागरिकले मात्रै प्राप्त गर्न सक्ने नेपाली राहदानी प्राप्त गर्ने जुन कार्य गरेका छन् सो कानुनद्वारा वर्जित र दण्डनीय छ । अध्यागमन ऐनको दफा ५ विपरीत भई दफा १० अन्तर्गत दण्डनीय भएको हुँदा सो ऐनको दफा ८ बमोजिम तत्कालै र शक्तिशाली व्यक्ति हुन् भनी कुनै पनि मोलाहिजा नगरी छानबिन र कार्यवाहीको प्रक्रिया अघि बधाई निज रवि लामिछानेलाई कानुनको दायरा भित्र ल्याउनु पर्ने माग गरिएको छ ।

रविले मिति २०५० फाल्गुन १० गते जारी १८२२२ नम्बरको पुरानो नागरिकता प्रमाणपत्रकै प्रतिलिपि राहदानी विभागसमक्ष पेश गरी सोही कायम नरहेको नेपाली नागरिकताको विवरण राखी अमेरिकी नागरिक रहेका रवि लामिछानेले सर्वोच्च अदालतको माघ १३ को आदेश पश्चात् काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट नेपाली नागरिकता प्राप्त गरेको हुन्। नेपाली नागरिक नहुँदा नहुँदै पनि चितवन क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार भई निर्वाचन जिती प्रतिनिधि सभा सदस्य बनी उपप्रधान मन्त्री र गृह मन्त्री समेत बनी उक्त सबै पद खारेज भएका व्यक्तिका रुपमा परिचय खुलाइएको छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

प्रतिक्रिया