चौधरी ग्रुपकोे ठगी धन्दाको सिलसिला रोकिएन : वाइवाई र घरको करमा करोडौं छली

- January 31, 2023 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । डलर अर्बपति तथा कांग्रेस सांसद विनोद चौधरी र उनको व्यवसायिक समूह सीजी ग्रुपका बदमासी एकपछि अर्को बाहिर निस्कन थालेको छ । करछली र सम्पत्ति शुद्धिकरणका आधा दर्जनबढी मुद्दा थाती रहेका छन् । विभिन्न कारखाना तथा परियोजनाले सार्वजनिक जग्गा मिचेको, प्रक्रिया पूरा नगरेसंगै ३८ वर्ष पुरानो वाईवाई कारखाना रहेको ललितपुर सैंबुका घर र कारखानाको करसमेत अहिलेसम्म नतिरेको पाइएको छ ।

शुरुका दिनमा प्रति मीनेट १ सय २० प्याकेट चाउचाउ उत्पादन गर्ने उक्त कारखानामा अहिले २ हजार १ सय प्याकेटभन्दाबढी तयार हुने गरेको छ । सो ग्रुपको सबैतिर गरेर वार्षिक ४० हजार टनभन्दा बढी वाइवाइ उत्पादन गर्दै आएको छ । यसरी उत्पादन गरेपनि सरकारलाई बुझाउनु पर्ने कुनै पनि कर, राजश्व, आयकर र मुल्यअभिबृद्धि कर (भ्याट) अहिलेसम्म नबुझाएको र आन्तरिक राजश्व विभागका एक अधिकृतले बताएका छन् ।

सो ग्रुपले नेपालको विद्यमान कानुन विपरित भारतलगायत विश्वका विभिन्न देशमा वाइवाइ चाउचाउको उद्योग स्थापना गरि लगानी गर्दै आएका छन् । नेपालको विद्यमान ऐन अनुसार नेपाली नागरिकले विदेशमा कुनैपनि क्षेत्रमा लगानी गर्न र गराउन पाउदैन् । तर चौधरीले भने नेपाली नागरिक हुँ भन्दै विदेशमा विभिन्न क्षेत्रमा लगानी गरेका छन् ।

चौधरीको सिजी कम्पनीले सैंबुस्थित कारखानाको कर र राजश्व हालसम्म नबुझाएको महानगरको तथ्याङकबाट देखिएको छ । सैंबुस्थित वाइवाई फ्याक्ट्री रहेको जग्गाको तिरो तिरेको भेटिएपनि सो भित्र रहेका भौतिक संरचना वा कारखाना र कार्यालय भवनहरूको करचाहिँ अहिलेसम्म नबुझाएको छैन ।

ललितपुर महानगरपालिका वडा नम्बर १८ को कार्यालयले जनाएको छ । जग्गाको तिरो तिरेको रसिद देखाउँदै हालसाबिक निम्ति वडाबाट कागजपत्र प्रमाणित गराउन आउँदा उक्त तथ्य खुलेको हो । कम्पाउण्डभित्रका भवनहरूको तोकिएको कर तिर्न आफूहरूले सो ग्रुपलाई पटकपटक आग्रह गरेपनि सो आग्रहलाई लत्याउदै आएकोे वडाध्यक्ष दामोदर खड्काले पनि बताएका छन् ।

वडाध्यक्ष खड्काले भने, ‘बिग हाउस, कर्पोरेट हाउस भन्नेले अर्बौं आम्दानी गर्ने तर, सुको कर नतिर्ने हो भने महानगरभित्र टिनको झुपडीमा बस्नेले मात्र नियम मान्नुपर्छ भन्ने के छ ?’ कारखाना, कार्यालय भवन र त्यसले चर्चेको जग्गाको सबै कागजात मिलाएर आए अभिलेखीकरण गरिदिन कुनै आपत्ति नरहेको बताउँदै खड्काले अगाडी भने,‘महानगरलाई दिनुुपर्ने यसअघिका सबै रकम तिरेपछि मात्रै मालपोत बुझाउन भनिएको छ ।’

वाइवाइका मालिक चौधरीले ३८ वर्षदेखि नतिरेको रकम अहिले स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले दिएको अधिकारभित्र रहेर शुरुदेखि तिर्नुपर्नेमा ललितपुर १८ वडा कार्यालयले जनाएको छ । उसले भनेको छ ‘तत्कालीन सैंबु गाउँ पञ्चायत, सैंबु गाउँपालिका र कार्यविनायक नगरपालिकालाई कर बुझाएको निस्सा वा नबुझाएको भए सो रकम अहिले ललितपुर महानगरलाई तिर्नुपर्ने हुन्छ ।

कम्पाउण्डभित्र रहेका सबै संरचनाको तोकिएको शुल्क र हर्जाना तिर्नुपर्छ । त्यहाँ रहेका भवनहरू जस्ताको तस्तै नक्शांकन गरेर ल्याउनुपर्छ । अनि मात्रै अरु काम हुन्छ ।’ सोही क्षेत्रमा सिजी ग्रुपले सिजी हिल्स निर्माण गरेको छ । उक्त कोलोनीमा ५६ वटा घर बनाएको छ । तर, कोलोनीले चर्चेको अधिकाशं जग्गा र कोलनी छिर्ने मुख्य सडक चौधरीले सार्वजनिक जग्गा मिचेको स्थानीय बासिन्दाले बताएका छन् ।

कोलोनीमा सहज आवागमनको लागि सार्वजनिक जग्गा मिचेर कायम गरेको सडक यथावत राख्न उक्त ग्रुपले १ करोड रुपैयाँ घुस दिएर सो सार्वजनिक जग्गामा ध्यान नदिएको आरोप स्थानीय बासिन्दाको रहेको छ भन्दै जनआस्थाले समाचार प्रकाशन गरेको छ । सोही बाटोबारे उठेको विवादमा वडाध्यक्षले भने, ‘सरकारी सार्वजनिक जग्गा कसैले मिच्न पाउँदैन, निजी भनिएका जग्गाको पनि नियमानुसार तिरो र शुल्क बुझाउनै पर्छ । सार्वजनिक जग्गा मिच्ने कुराको कसैले पनि कल्पना नगरे हुन्छ । म दायाँबायाँ गरेर कलम चोप्ने मान्छे होइन ।’


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!