ब्याजदर घटाउने पहल सरकारले गरि रहेको छ : अर्थमन्त्री पौडेल

- January 23, 2023 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले हाल कायम रहेको बैंकको व्याजदरलाई घटाउने पहल सरकारले गरि रहेको बताएका छन् । उपप्रधानमन्त्री समेत रहेका पौडेलले मुद्रास्फीतिलाई वाञ्छित सीमाभित्र राखी ब्याजदर नियन्त्रण गर्न लागेको बताएका हुन । उनले सोमबार नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको ‘साना तथा मझौला उद्यम सम्मेलन’ मा सो कुरा बताएका हुन ।

अर्थमन्त्री पौडेलले ब्याजदर कुनै न कुनै रूपमा मुद्रास्फीतिसँग जोडिएको भन्दै कर्जाको ब्याजदर बढ्न नदिन पनि सरकारले पहल गरि रहेको बताए । उनले राष्ट्र बैंक स्वायत्त निकाय भएकाले अर्थ मन्त्रालयले हस्तक्षेप नगर्ने, तर अहिले देखिएका समस्या समाधानका लागि आवश्यक छलफल गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

उनले करका विषयमा समस्या देखिएको गुनासो आएको भन्दै सरकारी सेवा प्रवाहमा कतै समस्या देखिए भए निजी क्षेत्रले त्यसको जानकारी दिन आग्रह गरे । अर्थमन्त्री पौडेलले स्टार्टअप कार्यविधि र परियोजना कर्जासम्बन्धी व्यवस्था छिट्टै कार्यान्वयनमा आउने गरि कार्यविधि तयार पार्न पहल गरेको बताए ।

लघु, घरेलु, साना तथा मझौला उद्योगका समस्या पहिचान गरी समाधानका लागि सरकारले पहल उनको भनाइ छ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले साना उद्योगहरुको पहुँच विस्तार गर्नुको विकल्प समेत नभएको बताए । उनले देशभित्रैका साना उद्योगलाई ठूला उद्योगसँग जोड्न नसकेको भन्दै साना उद्योगहरुको पहुँच विस्तार गरी तिनै तहका उद्योगहरुले लघु, साना र घरेलु उद्योगबाट उत्पादित वस्तु र सेवा खरिद गर्ने नीतिगत व्यवस्था गर्नुपर्ने बताए ।

अध्यक्ष गोल्छाले गत आर्थिक वर्षमा ३ सय ९ ठूला उद्योगहरु दर्ता भएकोमा ६५ हजार ६९ एसएमई उद्योगहरु दर्ता भएकाले यो संख्या अझै बढ्ने बताए । उनले साना, ठूला सबै उद्योगको क्षमता अहिले ६० प्रतिशतले घटेको जिकिर गरे । उनले बैंकहरुको महँगो ब्याजले लगानी विस्तार गर्न र उद्यम टिकाउनसमेत चुनौती भइरहेको बताए । उनले साना उद्यमीलाई परियोजनामा आधारित कर्जा उपलब्ध गराउनुपर्ने बताए ।

उनले अर्थमन्त्री पौडेललाई ब्याजदरको स्थायित्व र सहज वित्तीय पहुँचमा थप पहल गर्न आग्रह गरे । उनले ५० प्रतिशत उद्योगहरु दर्ता नभएकाले त्यसको वास्तविक पहिचान गर्न सरकारसँग आग्रह गरे । उनले कतिपय उद्योगहरु झमेलामा पर्ने डरका कारण पनि दर्ता नभएको भन्दै कर बुझाउन जाँदा उल्टै दुःख पाउने परिपाटी रहेको बताए ।

अध्यक्ष गोल्छाले आधुनिक प्रविधि प्रयोग गरेर बजारको माग अनुसार गुणस्तरीय उत्पादन गर्नसके नेपाललाई एसएमई उद्योगबाट ठूलो आर्थिक उन्नती गर्ने सम्भावना प्रशस्त रहेको पनि बताए । साना उद्यमीलाई कर्जा पाउन कठिन भएको भन्दै उनले यसलाई सहज बनाउन आग्रह समेत गरे ।

अध्यक्ष गोल्छाले भने,‘साना, ठूला सबै उद्योगको क्षमता अहिले करिब ६० प्रतिशतले घटेको छ । महँगा ब्याजले लगानी विस्तार त परको कुरा भयो, उद्यम टिकाउनसमेत चुनौती भएको छ । यस्ता उद्यमीलाई परियोजनामा आधारित कर्जा उपलब्ध गराउनुपर्छ भन्ने हाम्रो माग हो ।’

महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले साना, घरेलु तथा मझौला उद्योगलाई विकास गर्न आवश्यक रहेको भन्दै सरकारले आवश्यक सहजीकरण गर्ने विश्वास व्यक्त गरे । सबैभन्दा बढी रोजगारी सिर्जना गर्ने क्षेत्रको विकासका लागि बैङ्कहरूसँग सहकार्य गरिरहेको उनको दाबी रहेको छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

प्रतिक्रिया

 

 

तीव्र अपडेट