आमा याङ्ग्री र सिन्धु हेलम्बु यातायातको ठगी : सुपरको नाममा तेब्बर भाडा असुली

- January 22, 2023 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

सिन्धुपाल्चोक । यातायातको बैकल्पिक व्यवस्था नभएको र एउटामात्र यातायात समितिको सिण्डीकेटका कारण अहिले सिन्धुपाल्चोक, दोलखा, रामेछापलगायतका जिल्लामा सञ्चालन बस समितिबाट दैनिक यात्रु ठगीदै आएका छन् । सो क्षेत्रमा चल्ने अरनीको यातायातदेखि आमायाङ्ग्री यातायात प्रालि, सिन्धु हेलम्बु यातायात प्रालि र सिन्धु हेलम्बु प्रालि नामम समितिबाट यात्रुसंग तेव्वर भाडा असुली गरि ठगी गरेको गुनासो बढ्दै गएको छ ।

पछिल्लो समयमा सिन्धुपाल्चोक जिल्लाको पश्चिमी भेगमा सञ्चालन हुदै आएको आमायाङ्ग्री यातायात प्रालि सिन्धु हेलम्बु यातायात प्रालि र सिन्धु हेलम्बु प्रालि नामक बस सञ्चालक समितिले सेवाभन्दा पनि अत्याधिक भाडा असुली गरि यात्रुमाथी दुव्यवहार समेत गर्ने गरेको आरोप समेत लागेको छ ।

सो समितिको नाममा मेलम्ची, हेलम्बु, इन्द्रावती, पाँच पोखरीलगायतका क्षेत्रमा चल्ने सार्वजनिक यातायातका साधनहरूले मनलाग्दी भाडा लिदै ठगी गरिदा समेत सरकारी निकायको अझै ध्यान जान सकेको छैन । एकातर्फ अत्याधिक भाडा असुली गर्ने गरिदै आएको छ भने अर्कोतर्फ गन्तव्य स्थानमा तोकिएको समय नपु¥याउने, ‘सुपर’ को नाममा तेव्वर भाडा असुली गर्ने र भाडादरका बारेमा प्रश्न गर्ने यात्रुमाथी दुव्यवहार गर्दै विच बाटोमै झारिदिने धम्की समेत बस चालकदेखि सहचालकले दिने गरेको गुनासो पीडित यात्रुहरुले गरेका छन् ।

काठमाडौंदेखिनै लोकल यात्रु चढाउने, सिट क्षमता भन्दा बढी यात्रु बोक्ने र भाडा बढी लिदै आएकै कारण क्षमताभन्दा बढी यात्रुकै कारण पटकपटक दुर्घटना समेत हुदै आएपनि सरकारले भने छानविन समेत नगरि उन्मुक्ती दिदै आएको आरोप सर्वसाधारणको रहेको छ । सो क्षेत्रमा चल्ने गाडीमा यात्रा गर्नेहरुले आफू ठगिएको बताउदै आएपनि कारबाही नहुदाँ यात्रु ठग्ने कार्यले झन तीव्रता पाएको बताइएको छ ।

बस सञ्चालकहरुले सवै गाडी ‘सुपर’ भएको भन्दै बढी भाडा लिदै आएका छन् । कुनै पनि सवारी साधानमा सरकारले तोकेको भाडादरको सूचि नराख्ने र छोटो दुरीमा समेत बढी भाडा असुली गर्दै आएको आरोप सो समितिमाथी लागेको छ । सो क्षेत्रमा चल्ने सवारी साधानका सञ्चालकहरुले मेलम्चीदेखि तालामाराङसम्मको ६ किलोमिटरको प्रतिव्यक्ती भाडा ६० रुपैयाँभन्दा बढी भाडा असुली गर्दै आएको बताइएको छ ।

ती समितिले भने स्थानीय तह, प्रहरी कार्यालय लगायत सम्बन्धित निकायकै सहमतिमा भाडा निर्धारण गरेर असुली गरेको दाबी गर्दै आएको छ । स्मरण रहोस् गाडीभाडा निर्धारण यातायात विभागबाहे अरु कुनै पनि निकायले गर्न पाउदैन । सो विभागले निर्धारण गरेको भाडादरको अनुगमनमात्र गर्ने अधिकार रहेकोमा बस सञ्चालक समिति र स्थानीय जनप्रतिनिधि र स्थानीय प्रशासनको अबैध साँठगाँठमा भाडा दर निर्धारण गरेको समेत पाइएको छ ।

यसरी सार्वजनिक सवारी साधनहरुमा सरकारले निश्चित भाडादर तोकिदिएपनि सो भाडादरलाई लागु नगरि देशभरका अधिकाशं यातायात समितिबाट आफुखुशी भाडा निर्धारण गरेर यात्रु लुट्ने कार्यलाई तीव्रता दिदै आएका छन् । ग्रामीण भेग हुँदै राजधानी काठमाडौंसम्म सञ्चालन हुने सार्वजनिक बसहरुमा यात्रुमाथि यातायात व्यावसायीको ब्रम्हलुट चल्दै आउदाँ समेत सरकारले कारबाही गर्न भने सकेको छैन । सर्वसाधारणलाई यतिसम्म ठगिन्छ कि, उनीहरुलाई तर्साएर दोब्बर होइन, तेब्बरसम्म भाडा असुल गरिन्छ ।

यो सिन्धुपाल्चोक, नुवाकोट र रसुवा, काभ्रे, दोलखा, रामेछापमा वर्षौंदेखि सिण्डिकेट लाद्दै आएका बस व्यवसायी कम्पनीहरुले ठगी गर्दै आएका छन् । जिल्ला प्रहरी कार्यालयले यातायात व्यवसायीले यात्रुसँग मनलाग्दी भाडा असुली गरे कारबाही गरिने चेतावनी दिएपनि यात्रु ठग्नेमाथी भने अहिलेसम्म कुनै कारबाही भने गरेको रेकर्ड जिल्लामा रहेको छैन ।

यातायात व्यवसायीहरुले न्यूनतम दुई सय ५० देखि ३ सय रुपैयाँ सम्म असुली गरेको पाइएको छ । यसरी भाडा असुली गर्दा भने कसैलाई पनि टिकट दिने गरेको समेत छैन । जसका कारण यात्रुहरुमाथि भाडाका नाममा ठगिने रकम अझैं धेरै पुग्ने गर्दछ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!