बाली जोगाउनै मुस्किल : छाडा चौपायाबाट किसान हैरान

- January 14, 2023 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

कञ्चनपुरको भीमदत्त नगरपालिका–६ का सरस्वती भट्टको पाँच कट्ठा खेतमा लगाएको गहुँ बाली छाडाचौपायाले सखाप पारिदियो । खेतमा मात्रै होइन छाडा चौपाया उहाँको बारीमै पसेर तरकारी खेतीसमेत नोक्सान गरिदियो ।

    “खेतमा तारबार गरेकी छु, तर बार तोडेर गहुँ सखाप पारिदियो”, उहाँले भन्नुभयो, “छाडाचौपायाका कारण बाली जोगाउनै मुस्किल भयो ।” भट्टले छाडा चौपाया घरभित्रै पसेर नोक्सानी गर्न थालेको बताउनुभयो । पछिल्लो समय छाडा पशुचौपायाको विकराल समस्या बनेको छ । स्थानीय सरकारले लाखौँ रकम छाडा चौपाया व्यवस्थापनमा खर्च गरे पनि दिगो व्यवस्थापन नहुँदा एकातर्फ किसानको खेतमा नोक्सानी पुग्ने गरेको छ भने अर्कोतर्फ सडक दुर्घटनाको जोखिम पनि उत्तिकै छ ।

    शुक्रबार छाडा चौपायाबाट हैरानी खेपेका स्थानीयले सडकका चौपाया एकत्रीत गरेर भीमदत्त नगरपालिका परिसरमा पु¥याएका थिए । व्यवस्थापन चुनावी ऐजेन्डा बनाएका जनप्रतिनिधिले निर्वाचित भएको छ महिना बितिसक्दासमेत समस्या समाधान नगरेको भन्दै आक्रोसित भएका स्थानीयले नगरपालिकामा छाडा चौपाया ल्याएर छोडेका थिए ।

नगरपालिकाको प्रवेशद्वारभित्र छाडा चौपाया हुल्न खोजेपछि रोक्न खोज्दा आक्रोशित स्थानीय र प्रहरीबीच केहीबेर धकेलाधकेलसमेत भयो । स्थानीय कृष्णदत्त जोशीले नगरपालिकाले छाडा चौपाया व्यवस्थापन गर्न नसक्दा किसानको अन्नबाली नष्ट भएको बताउनुभयो ।

    “अहिलेसम्म नगरपालिकाले छाडा चौपायाको व्यवस्थापन गर्न सकेको छैन, बाली खाएर सखाप पारेको छ”, उहाँले भन्नुभयो, “नगरपालिकाले व्यवस्थापन नगर्दा किसान मारमा परेका छन् ।” निर्वाचनका बेला छाडा चौपाया व्यवस्थापन गर्छु भनेर मत मागेका जनप्रतिनिधिले वाचा पूरा नगरेको उहाँको आरोप छ ।

भीमदत्त नगरपालिकाका नगर प्रवक्ता महेन्द्र खड्काले छाडा चौपाया व्यवस्थापनका लागि काम अगाडि बढाएको बताउनुभयो । “छाडा चौपाया व्यवस्थापनका लागि समिति बनाएर काम गर्दैछौँ, कुन ठाउँमा राख्न सकिन्छ भनेर जग्गा खोज्ने काम भइरहेको छ”, उहाँले भन्नुभयो, “जग्गा प्राप्तीपछि छिट्टै व्यवस्थापनमा लाग्छौँ ।”

    छाडा चौपायाले जिल्लाभर किसानले लगाएको अन्नबाली नोक्सानी गर्ने गरेका छन् । यसअघि बेदकोट नगरपालिकामा पनि छाडा चौपाया व्यवस्थापन नगरेको भन्दै स्थानीयले आन्दोलन गरेका थिए ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!