नेपाल मेडिकल कलेजको विरोध गर्नेमाथी गुण्डा परिचालन

- January 6, 2023 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौँ । गोकर्णेश्वर नगरपालिकाको आत्तरखेलमा अवस्थित नेपाल मेडिकल कलेजको अस्पतालमा बेथितिका बारेमा विरोध गर्नेमाथी अस्पतालको प्रशासनबाट गुण्डा परिचालन गरेर दबाएको आरोप लागेको छ । सो अस्पतालमा बेथिती र अनियमितता बढेको भन्दै शुक्रबार स्थानीयले प्रदर्शन गरेका छन् ।

उपचारमा लापरबाही गरेको, प्रशिक्षार्थी डाक्टरको हातबाट बिरामीको उपचार गराउँदा मृत्यु हुने गरेको, राज्य र स्थानीय सरकारले ज्येष्ठ नागरिकलाई उपचारमा दिएको छुट नदिएको आरोप लगाइएको छ । यस्तै अस्पतालले सार्वजनिक जग्गा र खोल्सा मिचेर संरचना बनाएको, अन्डरग्राउन्ड पार्किङ रहेको स्थानमा प्रयोगशाला निर्माण गरी सेवाग्राहीसँग चर्को पार्किङ शुल्क उठाएको जस्ता विषयको विरोध गर्दै स्थानीयले प्रदर्शन गरेका हुन् ।

अस्पतालको आधिकारिक ट्रेड युनियनका निवर्तमान अध्यक्ष किरण केसीले यसै विषयलाई लिएर राजीनामा दिइसकेको बताइएको छ । यसबारे गोकर्णेश्वर नगरपालिकाकाले स्थानीय बसोबास गरेका ज्येष्ठ नागरिकलाई उपचारमा ७० प्रतिशत छुट दिँदै आएकोमा सो समेत अस्पतालले नदिएको आरोप लागेको छ । यसका लागि ज्येष्ठ नागरिक परिचयपत्र वा नागरिकताको आधारमा नगरपालिकाले सिफारिस गर्ने गरेको छ ।

विरोधमा उत्रिएका स्थानीयले राज्यले ज्येष्ठ नागरिकलाई दिएको ५० प्रतिशत छुट सबैले पाउनु पर्ने माग गरेका छन् । स्थानीय वा गैह्र स्थानीयभन्दा पनि राज्यको सुविधा उपभोग गर्न पाउनु ज्येष्ठ नागरिकको अधिकार हो । तर नेपाल मेडिकल कलेज शिक्षण अस्पतालले ज्येष्ठ नागरिकको त्यो अधिकार नदिएको उनीहरूको आरोप छ । साथै त्यहाँ अस्पताल प्रशासनबाट विरोधमा उत्रिएकाहरू माथि गुन्डा परिचालन गरेको उनीहरूले आरोप लगाउँदै आएका छन् ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!